सिटिजन्स बैंकमा प्रखर बैंकर राजनसिंह भण्डारीको ‘रि-इन्ट्री’, अब सीइओ होइन अध्यक्ष



काठमाडौं । प्रखर बैंकर राजनसिंह भण्डारी सिटिजन्स बैंकमा फर्किएका छन् । स्थापना कालदेखि नै प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत भण्डारीले ७ महिनाअघि बैंकको व्यवस्थापन छाडेका थिए । सीइओ छाडेका उनी सल्लाहकारको भूमिकामा थिए ।

शुक्रबार बैंकको वार्षिक साधारणसभा हुँदैछ । साधारणसभाले नयाँ सञ्चालकको निर्वाचन गर्दैछ । निवर्तमान सीइओ भण्डारी साधारणसभाबाट सञ्चालकको रुपमा बैंकमा पुनः प्रवेश अर्थात् रि-इन्ट्री गर्दैछन् ।

भण्डारीकै पहलमा सिटिजन्स बैंक स्थापना भएको थियो । र, उनले एक दशकसम्म सीइओ भएर बैंक चलाएका थिए ।

सञ्चालक समिति सदस्यको रुपमा प्रवेश गरेर भण्डारी बैंकको अध्यक्ष हुनेछन् ।

वर्तमान अध्यक्ष डा. शंकर शर्मा बैंकबाट बाहिरिँदैछन्। शर्माको ठाउँमा भण्डारी अध्यक्ष हुनेछन् ।

४० वर्षको बैंकिङ करियर भएका भण्डारी लामो समय राष्ट्र बैंकमा काम गरेका थिए । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजिनामा दिएर भण्डारीले सिटिजन्स बैंक खोलेका थिए । राष्ट्र बैंकको शक्तिशाली विभाग मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागको प्रमुख  थिए भण्डारी ।

प्रखर र प्रष्ट वक्ता रहेका भण्डारी खरो प्रस्तुति दिन्छन् । सीधा कुरा प्रष्ट बिचार भण्डारीको शैली हो ।

२०६४ साल बैशाख ७ गते ७७ जना संस्थापकको लगानीबाट सिटिजन्स बैंक सुरु भएको हो । ५६ करोड चुक्ता पुँजीबाट सुरु भएको सिटिजन्स बैंकको अहिले चुक्ता पुँजी सवा ८ अर्ब छ भने सम्पत्ति ८१ अर्ब रुपैयाँभन्दा बढी छ ।


क्लिकमान्डु