दशैंको मुखैमा वाणिज्य विभागको छापा
काठमाडौं । सरकारले विगतका वर्षको जस्तै यस वर्षको दशैंको मुखैमा बजार अनुगमनलाई तिब्रता दिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार दरबार र ललितपुर क्षेत्रका विभिन्न स्थानका २३ वटा फेन्सी तथा खाद्यन्न पसलमा बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा व्यवसाय स्थलमा नै २ लाख ६५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
अनुगमनको क्रममा विभागले ७ वटा पसललाई आर्थिक जरिवाना गरेको छ । अनुगमनको क्रममा फेमस ब्राण्ड शाखा कार्यालयलाई ५ हजार, दरबारमार्गमा रहेको स्पोर्टस प्लाजालाई ७५ हजार, दरबारमार्गको वेन्टेन द लेदरलाई २० हजार, मेगा मार्ट खाद्यन्न पसललाई ५० हजार आर्थिक जरिवाना गरेको छ ।
यस्तै ललितपुरको काष्टण्डव वाइन ग्लालरी नामक रक्सी पसललाई ५० हजार, सोहि स्थानको प्रोटिन हाउसलाई ५० हजार, एकान्तकुनाको लाखे सुपर स्टोरलाई १५ हजार सहित २ लाख ६५ हजार जरिवना गरेको विभागले जनाएको छ ।
अनुगमनको क्रममा सामान्य कैफियत भेटिएका पसललाई तत्कालै सुधार गर्न निर्देशन दिएको छ भने ५ वटालाई आवश्यक कागजात पेश गरी बयानको लागि विभागले बोलाएको छ ।
चाडवाडको समयमा मात्रै विभाग अनुगमनमा निस्कदाँ अन्य समयमा उपभोक्ता ठगिनेक्रम बढेको गुनासो समेत रहेको छ । सरकारले चावडावको समयमा अनुगमनलाई बढाएपनि अन्य समयमा भने मौन नै रहेको पाइएको छ ।