वायू सेवा कम्पनीले भने- जेष्ठ नागरिकलाई हवाई भाडामा छुट दिन सक्दैनौं



काठमाडौं । पर्यटनमन्त्री योगेशकुमार भट्टराईले जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने योजनामा वायू सेवा सञ्चालक संघ नेपालले असहमति जनाएको छ ।

बुधबार विज्ञप्ती जारी गर्दै संघले छुट दिने विषयमा ५ बुँदे असहमति उल्लेख गरेका छन् ।

संघले हवाई सेवा आर्थिक रुपबाट अति जोखिमपूर्ण व्यवसाय भएकाले हरेक २ वर्षमा हवाई भाडा पुनरावलोकन गर्न सरकारसँग माग समेत गरेका छन् ।

‘हवाई भाडा पुनरावलोकन पनि तोकिएको समयमा हुने गरेको छैन । ७० वर्ष माथिका जेष्ठ नागरिकका लागि हवाई भाडामा ५० प्रतिशत छुट दिने कार्ययोजना प्रति वायुसेवा कम्पनीहरुको पूर्ण असहमति छ ।’

संघले भन्यो, ‘हामी लागू गर्न सक्दैनौं ।’

विज्ञप्तीमा उल्लेख छ, ‘वायुसेवा कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा नहोस् र सेवा सञ्चालन गर्न सक्षम बनाउन हवाई भाडा नियम सम्बन्धि निर्देशिका, २०७३ को नियम ३ अनुसार सरकारले हवाई भाडाको न्यूनतम र अधिकतम सीमा निर्धारण गर्छ ।’

नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ तथा नागरिक उड्डयन नियमावली, २०५८ मा कतै पनि कुनै वर्ग, समूह, उमेर, शारीरिक अवस्था वा अन्य त्यस्तै कुनै कारणवाट हवाई भाडामा सहुलियत वा छुट दिनुपर्ने बाध्यात्मक अवस्था समेत आफूहरुलाई नरहेको संघको भनाइ छ ।

जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा ९ मा जेष्ठ नागरिकहरुलाई सार्वजनिक सवारी साधनहरुमा कम्तीमा २ वटा सिट सुरक्षीत राख्नुपर्ने र यात्रु भाडा दरमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने उल्लेख छ ।

जेष्ठ नागरिक सम्वन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ मा उक्त दफा ९ मा कुनै संशोधन गर्न खोजिएको छैन र हवाई सेवामा कुनै छुट दिनुपर्ने नयाँ प्रावधान पनि राख्न खोजिएको छैन । र, सार्वजनिक सवारी साधन भित्र हवाई सेवा नपर्ने संघको भनाइ छ ।

संघले संविधानमा समेत धारा ४१ मा जेष्ठ नागरिकलाई राज्यवाट विशेष संरक्षण र सुविधा दिनुपर्दछ । सरकारले छुट सुविधा दिनुपर्दछ ।

सरकारलाई छुट सुविधा दिनुपर्ने महसुस भएमा आफैले यात्रु सेवा शुल्क, ईन्धन शुल्क, नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवाबाट निःशुल्क छुट दिन वा यात्रा गराउन सक्छ ।

संघले भनेको छ, ‘जेष्ठ नागरिकलाई संवैधानिक व्यवस्थाअनुसार राज्यले सुविधा दिने हो व्यक्ति वा कम्पनीले होइन् ।’


क्लिकमान्डु