मिनेन्द्र रिजालले भने- सरकारको आलोचना गर्दिन, पीडितलाई राहत दिन एकजुट होऔं
काठमाडौं । अविरल वर्षाका कारण देशव्यापी रुपमा जनधनको ठूलो क्षति भएको विषय संघीय संसदमा प्रवेश पाएको छ ।
राहत तथा उद्दारका विषयमा गृहमन्त्री रामबहादुर थापाले जवाफ दिने कि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्ताव माथि छलफल गराउने भन्ने विषयमा सहमति हुन नसकेपछि लामो समयदेखि अवरुद्ध भएको प्रतिनिधिसभाको बुधबारको बैठकमा भने सो विषयले प्रवेश पाएको हो ।
सार्वजनिक महत्वको प्रस्तावलाई सत्तापक्ष र प्रतिपक्षले सामूहिक रुपमा प्रस्तुत गर्ने सहमति भएपछि बैठक सञ्चालन भएको हो ।
बैठकको सुरु मै बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले यो प्रतिपक्षको मात्रै प्रस्ताव नभइ आम नेपालीको प्रस्ताव भएको बताए । उनले भने, ‘म सरकारको आलोचना गर्न चाहन्न किनकि दुःखमा परेका नेपाली जनतालाई कसरी राहत दिने भन्नेमा हामी सबै एकैठाउँमा आइपुगेका छौ ।’
राष्ट्रियसभाले बाढी पहिरो पीडितका लागि राहत दिने सम्बन्धि प्रस्तावलाई एकाकार भइ पारित गरेको सन्दर्भमा प्रतिनिधिसभामा देखिएको जुँगाको लडाँई अन्त्य भएसँगै उक्त प्रस्ताव माथि छलफल भएको हो ।
डा. रिजालले बाढी पीडितलाई राहत उद्दारलगायतका काममा सरकारलाई सहयोग पुर्याउने आफूहरुको लक्ष्य रहेको बताए ।