भारी बर्षाका कारण देशका विभिन्न स्थानमा बाढीको खतरा, उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौं । बुटवल आसपासका क्षेत्रहरुमा भारी वर्षाका कारण स्थानीय तिनाउ नदिमा जलसतह खतराको तह पार गरेको छ । बाढी पूर्वानुमान शाखाका अनुसार सो क्षेत्रमा आज रातिदेखि भिषण वर्षा हुँदा खतरा देखिएको हो ।

शाखाका अनुसार जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले बुटवल र बुटवलभन्दा तल्लो तटीय क्षेत्रमा डुबान हुने देखिएको छ ।

आज बेलुकासम्म यो अवस्था कायम रहने भएकाले उच्च सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ । जल सतह बढी भएकाले सुरक्षित स्थानमा रहन शाखाले आग्रह गरेको छ ।

शाखाको उक्त आग्रह लगत्तै स्थानीय प्रशासनले बुटवल र तल्लो तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाएको र डुबान हुने क्षेत्रका स्थानीयबासीलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

यस्तै, झापाको कन्काई मैनाचुली र आसपासका क्षेत्रमा समेत भिषण वर्षा भएको छ । कन्काई मैनाचुली बाढी मापन केन्द्रमा जल सतह बढ्दो क्रममा रहेको शाखाले जानकारी दिएको छ ।

झापा जिल्लाको कन्काई नदी तटीइ क्षेत्रमा सतर्कता तह देखिएको र आसपासका क्षेत्रमा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ ।

शाखाले बारा र पर्सा जिल्लाका धेरै स्थानमा भारी वर्षा भएका कारणले जल सतह बढ्ने खतरा देखिएको जानकारी दिएको छ । बाढीको वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेकाले बारा र पर्साका साना नदी तटीय क्षेत्रमा खतरा तह पार गर्न सक्ने देखिएको छ । ती जिल्लाको साना नदी क्षेत्रमा आज साँझसम्म सतर्क रहन बाढी पूर्वमानुमान शाखाले आग्रह गरेको छ ।


क्लिकमान्डु