कर नीतिको विरोध गर्दै विराटनगरमा प्रदर्शन



विराटनगर । साउन १ गतेदेखि लागू हुने गरी ल्याइएको सरकारको कर नीति कार्यान्वयनमा असहमति जनाउँदै विराटनगरमा विरोध प्रदर्शन गरिएको छ ।

कर नीतिको विरोधमा विराटनगरका विभिन्न व्यापारिक संघहरुले मंगलबार प्रदर्शन गरेका हुन ।

विराट व्यापार संघको आयोजनामा गरिएको विरोध ¥यालीमा विराटनगर ट्रक व्यवसायी संघ, मोरङ चेम्बर अफ कमर्स, घरेलु तथा साना उद्योग महासंघ, विराटनगर हार्डवयेर संघलगायत १३ वटा संघहरुको उपस्थिती रहेको थियो ।

र्यालीमा सहभागीहरुले ढुवानीमा लगाइएको भ्याट खारेज गर, बैंकको ब्याजदर ७ देखि ९ प्रतिशत कायम गर, अव्यहारिक ‘भिसिटिएस’ खारेज गर लगायतका नारा लेखिएका प्ले कार्डहरु बोकेका थिए ।

साउन १ गतेदेखि सञ्चालनमा आउने ‘वेवमा आधारित ढुवानी प्रणाली’ अव्यवहारिक रहेको व्यवसायीहरुको ठहर छ ।

साथै बैंकको ब्याजदर ७ देखि ९ प्रतिशत कायम गर्नुपर्ने, ढुवानीकर्तालाई लगाइएको १३ प्रतिशत कर खारेज गर्नुपर्र्ने, ज्यालादारी कामदारमाथि लगाइएको प्यान नम्बरको अनिवार्यता खारेज गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

त्यस्तै, बैंक खातामार्फत पारिश्रमिक भुक्तानी गर्ने प्रावधान खारेज गर्नुपर्ने, जनतासँग प्रत्यक्ष सरोकार राख्ने खाद्यान्नमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गर्नुपर्ने, सामाजिक सुरक्षा कोषको प्रावधान परिमार्जन गर्नुपर्ने उनीहरुको माग छ ।


क्लिकमान्डु