विषादी परीक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश




काठमाडौं । भारतबाट आयात हुने तरकारी विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णयविरुद्ध परेको रिटमा निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश जारी गरेको हो । साथै, असार ३० गते दुबै पक्षलाई अदालते छलफलका लागि बोलाएको छ ।

सरकारको निर्णय विरुद्ध सर्वोच्चमा ३ वटा रिट दर्ता भएका थिए । ती सबै रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट स्वागत नेपाल र नारायणपं्रसाद दुवाडीले रिट हालेका थिए । त्यस्तै बुधबार नै उपभोक्त हित संरक्षण मञ्चका तर्फबाट विष्णु तिमिल्सिनाले पनि सरकारको निर्णय विरुद्ध रिट हालेका थिए ।

रिटमा भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण गरेर मात्रै नेपाल ल्याउन माग गरिएको थियो । त्यस्तै, नेपालको तरकारी पनि विषादी परीक्षण गरेर मात्रै खरीद बिक्री गर्नका लागि माग गरिएको थियो ।

सरकारको उक्त निर्णय संविधानले दिएको उपभोक्ताको हक, स्वास्थ्यको हक, र सुरक्षित मातृशिशुको हकलगायतका हक हनन भएको उल्लेख गरिएको थियो ।


क्लिकमान्डु