सरकारी कर्मचारीलाई घुम्नका लागि २ नम्बर प्रदेशले थप १ महिनाको तलब दिने (पूर्णपाठ)



काठमाडौं । प्रदेश नम्बर २ ले कर्मचारीलाई प्रोत्साहनस्वरुप थप एक महिनाको तलब दिने भएको छ । २ नम्बर प्रदेशका अर्थमन्त्री विजयकुमार यादवले आइतबार प्रदेश सभामा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट पेश गर्दै आफ्ना कर्मचारीलाई घुम्नका लागि १ महिनाको थप तलब उपलब्ध गराउने घोषणा गरे ।

कर्मचारी आकर्षित गर्न ३ नम्बर प्रदेशको शूत्रः एक महिनाको थप तलब दिने घोषणा

‘प्रदेशमा कार्यरत राष्ट्र सेवक कर्मचारीको मनोवल उच्च राखी कार्य उत्प्रेरणा बढाउन तथा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न थप १ महिनाको तलब अतिरिक्त पारिश्रमिकको रुपमा प्रदान गर्ने व्यवस्था मिलाएको छु,’ बजेट बक्तव्यको १२२ नम्बर बुँदामा अर्थमन्त्री यादबले उल्लेख गरेका छन् ।

त्यसैगरी, अर्थमन्त्रीले कर्मचारीहरुलाई सेवाप्रति जिम्मेवार र जवाफदेही बनाई अपेक्षित नतिजा दिने र सेवामूलक संस्कृतिको विकास गरिने बजेटमा उल्लेख छ ।

आज ७ वटै प्रदेशले बजेट ल्याए पनि ३ नम्बर र २ नम्बर प्रदेशले मात्रै कर्मचारीलाई थप एक महिनाको तलब सुविधा दिने घोषणा गरेका हुन् ।


पुष्प दुलाल