सुन्दरबजार नगरपालिकाले नगरबस चलाउने, यस्तो छ तयारी



काठमाडौं । पछिल्लो दिनमा शहरी तथा ग्रामीण क्षेत्रका नगरपालिकाले पनि सहज रुपमा यातायात सेवा दिने लक्ष्यका साथ नगर बस सञ्चालन गर्न लागिपरेका छन् ।

स्थानीय सरकारको पहलमा नै सुरु गर्न लागिएका त्यस्ता नगर बसले यात्रुलाई सुविधा मात्रै दिने छैन, स्थानीय तहको आम्दानीको समेत बाटो बनाउने छ ।

काठमाडौं महानगरपालिकाले साझा यातायातसग सहकार्य गरेर काठमाडौंमा साझा यातायात चलाइरहेको छ । सो कार्यमा ललितपुर महानगरपालिका पनि जोडिएको छ । सहरमा ठूला सवारी साधनको सेवा सानाको भन्दा सहज र सरल हुन जान्छ ।

सोही क्रममा देशभर नै सहज यातायाताका लागि सार्वजनिक सवारी साधन चलाउने अभियान नै सुरु भएको छ ।

प्रदेश नं ३ सरकारले पनि साझा यातायातको सहकार्यमा विद्युतीय सवारी साधन चलाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षदेखि सो कार्यले पूर्णता पाउनेछ ।

पोखरा महानगरपालिकाले समेत सार्वजनिक सवारी साधन चलाउने निर्णय गरेको छ । यसै क्रममा लमजुङको सुन्दरबजार नगरपालिकाले पनि नगरबस सञ्चालन गर्ने भएको छ ।

यात्रुलाई सहज एवम् सरल सुविधाका लागि नगरबस सञ्चालन गर्न लागेको जानकारी दिँदै सो नगरपालिकाले आज एक सूचना प्रकाशित गरेको छ । सूचनामा उल्लेख भए अनुसार ३२ सिटे नगरबस सञ्चालन गर्न लागिएको हो । नगरपालिकाले ३० दिन भित्र बोलपत्र खरीदमा सहभागी हुन आग्रह गरेको छ ।

नगरपालिकाले सरल र सहज सेवाका लागि नगरबस सञ्चालन गर्न लागेको र योग्यता पुगेका कम्पनी वा फर्मलाई बोलपत्र खरीद प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । नगरबस अत्यावश्यक भएकाले तत्काल सञ्चालन गर्न लागिएको सूचनामा उल्लेख छ ।

यात्रुलाई सेवा दिने र सुलभ यातायातको लागि मार्ग प्रशस्त गर्ने योजना अगाडि सारिएको बताइएको छ । बोलपत्र पेश गर्दा आवश्यक सम्पूर्ण कागजात उपलब्ध गराउन समेत सूचनामा उल्लेख गरिएको छ ।


पुष्प दुलाल