एक साताभित्रै रेल खरिद सम्झौता



काठमाडौं । सरकारले रेल खरिद प्रक्रिया टुंग्याउने भएको छ । सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग रेल खरिदका लागि स्वीकृति प्रदान गरेको ढेड महिनापछि खरिद सम्झौता अघि बढाउने भएको छ ।

गत चैतमा मन्त्रिपरिषद्ले कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल खरिदका लागि रेल विभागलाई सैधान्तिक सहमति प्रदान गरेको थियो । विभागका प्रवक्ता अमन चित्रकारका अनुसार एक साता भित्रमा कोकन रेल्वे कर्पोरेसनसँग रेल खरिद सम्झौता हुने जानकारी दिए ।

मन्त्रिपरिषद्ले बजेट सहित रेल खरिद प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गरेसँग विभागले चैतको दोस्रो साताबाट नै खरिद प्रक्रिया अघि बढाएको थियो ।

बैशाखको दोस्रो साता भौतिकपूर्वाधार तथा यातायात मन्त्रालय र कोकन रेल्वे कर्पोरेसनबिच रेल खरिद सम्बन्धी छलफल भएको थियो । बैशाखको अन्तिम साता रेल खरिद सम्बन्धी सम्झौता गर्ने विषयमा सहमति भएको चित्रकारले बताए ।

‘दुई वटा रेल खरिदका लागि आवश्यक प्रक्रिया पुरा भइसकेको छ । एउटै कम्पनीबाट दुई वटा रेल खरिद गरिनेछ,’ चित्रकारले भने, ‘बिक्रेता कम्पनीसँग खरिद सम्झौता हुन बाँकी छ ।’

अर्को साता हुने सम्झौताले रेल भित्रिने मिती तय हुने उनी बताउँछन् ।

कोकन रेल्ले कर्पोरेसनले निर्माण गर्ने रेल नेपाल भित्रिने छ । दुई रेल एक पटक उपलब्ध गराउन व्यवहारिक कठिनाइ हुने भएकाले एक महिनाको अन्तरालमा रेल भित्र्याइने छ । सम्भवत असारको पहिलो साता नेपालमा रेल भित्रिने उनी बताउँछन् । पहिलो रेल भित्रिएको एक महिना अन्तरालमा अर्को रेल आउने उनको दाबी छ ।

नयाँ रेल बर्दिबास–जनकपुर–जयनगर–कुर्था–विजयपुरसम्म सञ्चालन गर्ने लक्ष्य छ । यो खण्डको लम्बाइ ६९ किलोमिटर छ । त्यसमध्ये जनकपुर–जयनजगर ३५ किलोमिटर रेलमार्ग निर्माण भइसकेको छ । बाँकी खण्ड निर्माणाधीन छ । यो रेलमार्ग भारत सरकारको सहयोगमा निर्माण गरिएको हो । नयाँ रेलमा पाँचवटा डिब्बा हुनेछन् ।

अगाडि र पछाडि दुवैतर्फ इन्जिन जोडिएको हुनेछ । यसलाई दुवैतर्फ चलाउन मिल्नेछ । यो रेल डिजेल इलेक्टिफाइड मल्टिपल युनिट (डेमु) विद्युत् तथा डिजेल दुवैबाट सञ्चालन गर्न सकिन्छ । रेलको दुवैतर्फ इन्जिन भएकाले फर्काउनुपर्ने समस्या नहुने र छोटो दूरीका निम्ति उपयुक्त विभागको दाबी छ ।


पुष्प दुलाल