कुलमानको हाई भोल्टेज ट्रंक लाइनले फुटेका व्यवसायी जुटे, महासंघ पुगेर परिसंघ गर्जने



काठमाडौं । निजी क्षेत्रका दुईवटा संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच धेरैवटा विषयमा विवाद हुने गरेको छ ।

उदाहरणको लागि बैंकको ब्याजदर तोक्ने विषय होस् या पछिल्लो समयमा विदेशी लगानीको न्यूनतम सिमा । विगतदेखि एउटा विषय नेपालीलाई विदेशीमा लगानी खुल्ला गर्नेमा महासंघ र परिसंघबीच फरक फरक विचार छ ।

नेपाल विद्युत् प्राधिकरणले केही उद्योगमा ट्रंकलाइन र डेडिकेटेट फिडर लिएको भन्दै बिल पठाएपछि महासंघ र परिसंघ एकठाउँमा आउने भएका हुन् ।

महासंघ र परिसंघको नेतृत्वमा रहेका व्यक्तिहरुले संचालन गरेको उद्योग प्रतिष्ठानले ट्रकलाइन र डेडिकेटेट फिडर लिएको भन्दै प्राधिकरणले बिल पठाएको थियो । त्यसको विरोधमा केही उद्योगी व्यवसायीहरु अदालत गएर स्टे अर्डर समेत ल्याएका थिए ।

मंगलबार उद्योग वाणिज्य महासंघको सचिवालयमा नेपाल उद्योग परिसंघ समेत सहभागी भएर सयुक्त पत्रकार सम्मेलन गर्ने छन् । लिँदै नलिएको डेडिकेटेड फिडरको बिल पठाएर अन्यायमा परेको भनाई उद्योगी व्यवसायीको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ स्रोतका अनुसार पहिलो पटक महासंघको मुख्यालयमा परिसंघ सहभागी भएर पत्रकार सम्मेलन हुन लागेको हो ।

विगतमा आर्थिक स्वतन्त्रताको विषयमा महासंघ परिसंघबीच सहकार्य भने भएको छ ।

उद्योग परिसंघका अध्यक्ष शतिष मोरले सयुक्त रुपमा लिदै नलिएको डेडिकेटेड फिडरको विषयमा पत्रकार सम्मेलन गर्न लागेको बताए ।

‘ठाउँ र समय अहिलेसम्म निर्धारण भएको छैन, कुन ठाउँमा गर्नेभन्दा पनि कुन इस्यु उठाउने महत्वपूर्ण कुरा हो,’ मोरले भने ।

उनले प्राधिकरणले लिदै नलिएको विजुली लाइनको बिल पठाएर आफुहरु अन्यायमा परेको बताए । यसले व्यवसायिक वातावरण बिगार्ने भनाई उनको छ ।

महासंघ र परिसंघबीच विभिन्न विषयमा विवाद भएपनि निजी क्षेत्रका हकहितका विषयमा भने एउटै धारणा राख्दै आएका छन् । तर, महासंघको कार्यालय गएर परिसंघले संयुक्त पत्रकार सम्मेलन गर्न लागेको भने पहिलोपटक हो ।


पुष्प दुलाल