अब बैंकहरुले निक्षेपकर्तालाई उपहार दिन नपाउने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अब निक्षेपकर्तालाई नगद तथा जिन्सी लगायतका उपहार प्रदान गर्न नपाउने भएका छन् ।

बैंकर्स संघले ब्याजदरमा भद्र सहमति गरेपछि निक्षेप आकर्षित गर्न बैंकहरुले निक्षेपकर्तालाई नगद तथा जिन्सी उपहार दिने तीब्र प्रतिस्पर्धा गर्दै आएका थिए ।

उपहार दिएर निक्षेप आकर्षित गर्ने प्रतिस्पर्धाले वित्तीय प्रणालीलाई राम्रो नगर्ने भएकाले राष्ट्र बैंकले निक्षेपकर्तालाई उपहार दिन नपाउने व्यवस्था गर्न लागेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।

‘नगद तथा जिन्सी उपहार दिएर निक्षेप तानातान गर्नु राम्रो होइन, त्यसैले हामीले यस्तो प्रवृत्तिलाई रोक्न लागेका हौं,’ डेपुटी गभर्नर शिवाकोटीले क्लिकमाण्डूसँग भने ।

राष्ट्र बैंकलले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरेर उपहार दिएर निक्षेप तान्ने होडबाजी रोक्ने भएको हो ।

‘हामी निर्देशन तयार गर्दैछौं,’ उनले भने, ‘केही दिनमै फाइनल गरेर निर्देशन दिन्छौं ।’

राष्ट्र बैंकले यसअघि गरेको ब्यवस्थाअनुसार पनि वित्तीय कारोबार गरेबापत नगद तथा जिन्सी उपहार दिन पाइँदैन ।

तर, केही बैंक तथा वित्तीय संस्थाले आफ्नो बैंकमा निक्षेप राख्ने निक्षेपकर्तालाई गरगहना उपहार दिने योजना सार्वजानिक गरिरहेका थिए ।

‘अब हामी प्रष्टरुपमै कुनै पनि उपहार दिन नपाउने भनेर भन्छौं,’ उनले भने ।

त्यसैगरी, राष्ट्र बैंकले ३ महिनाभन्दा छोटो अवधिको मुद्दति निक्षेप राख्न पाइने छैन ।

अहिले केही बैंकले ३ दिनको मुद्दति निक्षेप योजना समेत सञ्चालानमा ल्याएका छन् ।


पुष्प दुलाल