उपमहानगरले नदीजन्य पदार्थको निकासीमा रोक लगाएपछि गौतमवुद्ध विमानस्थल प्रभावित



भैरहवा । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थको निकासी रोक लगाएपछि राष्ट्रिय गौरवको आयोजना रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित भएको छ ।

उपमहानगरपालिले ०७५ जेठ ८ गते विमानस्थल आयोजनाका लागि नदीजन्य पदार्थ निकाल्नका लागि विमानस्थलमा नदीजन्य पदार्थ आपूर्ती गर्ने स्वसाम कन्सट्रक्सन कम्पनीलाई स्विकृती दिएको थियो ।

तर, उपमहानगरपालिकामा प्रमुख कार्यकारी अधिकृतको रुपमा चक्रपाणी शर्मा आएपछि नदीजन्य पादार्थ निकासीमा एकाएक रोक लगाइएको छ । जसकारण विमानस्थलमा नदीजन्य पदार्थको आपूर्ति गर्न नसकिएको स्वसाम कन्सट्रक्सन कम्पनीले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाले विमानस्थल आयोजनाको लागि पनी नदीजन्य पदार्थ निकासीमा रोक लगाएपछि विमानस्थलको निर्माण कार्य प्रभावित भएको निर्माणधिन गौतम बुद्ध विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।

विमानस्थलको मुख्य संरचना निर्माण हँदैछ उनले भने अहिले हामीलाई नदीजन्य पदार्थ निकै आवश्यक छ तर बुटवल उपमहानगरपालिकाले आयोजनाको लागि पनि नदीजन्य पदार्थ निकासीमा रोक लगाउँदा आयोजना समस्यामा परेको छ ।

प्यारिमिटर सडक, इन्ट्री, एक्जिट प्वाइन्टलगायत धेरै संरचना बनाउनु पर्ने भएकोले विमानस्थलमा नदीजन्य पदार्थ आवश्यक छ । उनले आयोजनाले आवश्यक समन्वय (सहज आपूर्ती) को लागि बुटवल उपमहानगरपालिकालाई पत्राचार गरेर आग्रह समेत गरेको बताए ।

तर विमानस्थलको आयोजनाको आग्रहलाई पनि उपमहानगरपालिकाले वेवास्ता गर्दै आएको छ ।

आवश्यक नदीजन्य पदार्थका लागि स्वसाम कम्पनीले बुटवल उपमहानगरपालिकाले आवश्यक राजश्व दस्तुर समेत बुझाइएको छ । तर पनि उपमहानगरपालिकाले नदीजन्य पदार्थ निकाल्न दिएको छैन । जसमा प्रमुख कार्यकारी अधिकृत शर्माको ‘स्वार्थी भुमिका’ रहेको स्रोतको दावी छ । स्रोतका अनुसार शर्माको कारण नै विमानस्थलमा नदीजन्य पदार्थ पुग्न सकेको छैन ।

सुरुमा राजश्व दस्तुर बुझेर विमानस्थलको लागि आवश्यक नदीजन्य पदार्थ निकासीको अनुमति दिने उपमहानगरपलिकामा अहिले निकासीमा रोक लगाउँदा विमानस्थल आयोजना प्रत्यक्ष मारमा परेको छ ।

‘स्वसाम कम्पनीले उपमहानगरपालिकालाई नदीजन्य पदार्थको राजश्व तिरेको बैंक भौउचर समेत देखाउन्छ, तर नदीजन्य पदार्थ साइटमा नआउँदा समस्या परेको हो,’ प्रमुख अधिकारीले भने ।

आयोजना विमानस्थल संचालनको लागि डेटलाइन नजिकै पुगेको अवस्थामा नदीजन्य पदार्थ निकासीमा रोक लगाउँदा आयोजना धेरै असर पर्ने उनको भनाई छ ।

‘अहिले हामी विमानस्थल संचालनको लागि डेटलाइन नजिक पुगेका छौँ, यो अवस्थामा हाम्रो लागि एक दिन पनि निकै महत्वपूर्ण हो,’ उनले भने ‘अब यस्तो अवस्थामा नदीजन्य पदार्थ निकासीमा स्थानीय तहले रोक लगाउनु भनेको योजनामा असर पार्नु हो ।’

यता बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले विमानस्थल आयोजनाका लागि नदीजन्य पदार्थको निकासी सम्बन्धमा छलफल भइरहेको र छलफल पश्चात निर्णय अनुसार काम हुने बताए ।


पुष्प दुलाल