लगानी सम्मेलनः अर्थमन्त्रीको फितलो प्रस्तुतीदेखि उद्योगमन्त्रीको घुर्कीसम्म



काठमाडौं । सरकारले लगानी भित्र्याउनका लागि भन्दै आयोजना गरेको लगानी सम्मेलन सोचेजति भव्य र प्रभावकारी बन्न सकेन ।

सरकारले तामझामका साथ ७७ आयोजना शोकेश गरेपनि जम्मा १५ वटा आयोजनामा मात्रै लगानी सम्झौता भएको छ । लगानी सम्झौतामा हस्ताक्षर भएकामध्ये आधा आयोजनाहरु पूरानै हुन् ।

सम्ेमलनका क्रममा गरिएको व्यवस्थापन नै सबैभन्दा कमजोर पाटोको रुपमा रहेको पाइएको छ । छलफल सत्रमा गरिएको छलफलमा वक्ताले एकोहोरो बोल्ने र सहभागी लगानीकर्तालाई कुनै पनि धारणा राख्न दिइएको थिएन । सम्मेलन एउटा कर्मकाण्डमा सिमित भएको भन्दै धेरैले गुनासो गरेका छन् ।

निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघलगायतका अध्यक्ष एवं प्रतिनिधि सक्रिय रुपमा सहभागी भएपनि नेपाल चेम्बर अफ कमर्सका कुनै पनि पदाधिकारीलाई सम्मेलनको छलफल सत्रमा समेत उल्लेख्य रुपमा सहभागी गराइएको थिएन ।

कुर्सी नपाएपछि रिसले चुर भएका उद्योगमन्त्री यादबले मायाको चिनो पनि लिएनन् !

निजी क्षेत्रका छाता संगठन नै एकले अर्कोको कुरा सुन्नै नचाहने प्रवृति पनि सम्मेलनको क्रममा देखिएको थियो । सम्मेलनका ऊर्जा तथा जलस्रोत क्षेत्रको विषयमा महत्वपूर्ण छलफल भए ।

तर छलफल सत्रमा तथा विदेशी लगानीकर्तालाई आर्कषित गर्न सहयोगी सिद्द हुने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)का प्रतिनिधि समेत सहभागी थिएनन् । इपानका कुनै पनि पदाधिकारी सम्मेलनको क्रममा देखिएनन् । केही सिमित व्यक्ति मात्रै इपान नभनीकन नै सम्मेलनमा सहभागी भएका थिए ।

सम्मेलनको संयोजन गरिरहेको लगानी बोर्डले पनि आवश्यक व्यवस्थापन गर्न धेरै ठाँउमा चुकेको थियो । सन्दर्भ सामग्रीको वितरणदेखि सहभागीको व्यवस्थापनमा समेत बार्डको भूमिका जुन रुपमा हुनुपर्ने थियो, त्यस्तो हुन सकेको थिएन ।

अर्थमन्त्री खतिवडाले सम्मेलनका क्रममा उनको प्रस्तुती पनि अन्य वक्ताको भन्दा फितलो देखिएको थियो । उनले कुनै पनि विषयलाई प्रष्टसँग राख्न सकेका थिएनन् । यद्यपि अर्थमन्त्री खतिवडाले भने सम्मेलनको प्रभाव केही समयपछि देखिने बताएका छन् ।

विश्व बैंकका अध्यक्ष जिम योङ किम सम्मेलनका क्रममा आउने बताइएको थियो । उनलाई निमन्त्रण समेत पुगेको थियो । तर उनले अप्रत्यासित रुपमा राजीनामा दिएका कारण सम्मेलनमा सहभागी भएनन् । विश्व बैंकका प्रतिनिधि मात्रै सहभागी भएका थिए । अध्यक्ष नै आउँदा र अरु प्रतिनिधि सहभागी हुँदा त्यसले पार्ने प्रभाव फरक रहन सक्थ्यो ।

यस्तै सम्मेलनका क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवलाई भूमिकाविहिन बनाइयो । उद्घाट सत्रको दिन उनी बस्ने कुर्सी नपाएर दर्शक दीर्घामा आएर बसेका थिए ।

उनी मात्रै नभई उद्योग सचिव यामकुमारी खतिवडा र सहसचिव योगेन्द्र गौचन पनि दर्शक दीर्घामा बसेर राजनीतिक गफ गरेर बसेका थिए । छलफल सत्रको अध्यक्षता गरेका मन्त्री यादवले छलफल सकिएपछि मायाँको चिनो लिन मानेनन् ।

अघिल्लो लगानी सम्मेलनमा उद्योग मन्त्रीको हैसियतले नविन्द्रराज जोशी हिरो बनेका थिए । तर यस पटक अर्थमन्त्री डा. युवराज खतिवडालाई सुपरम्यान र उद्योग मन्त्री यादवलाई जिरो बनाइएको भन्दै सम्मेलनमा चर्चा भएको थियो ।

यस्तै समाचार संकलनमा लागि पुगेका सञ्चारकर्मीले सहज रुपमा पास नपाउँदा केही समय उल्झन देखा परेको थियो । सम्मेलनका छलफल सत्रमा एकोहोरो भाषण गर्ने तर दोहोरो अन्तरक्रिया गर्ने अवस्था भने थिएन । जसका कारण लगानीकर्ताले कुन आयोजनाको अवस्था के कस्तो हो भन्ने बारेमा थाहा नै पाउन सकेनन् ।

केही नेपाली लगानीकर्ता भने विदेशमा आफूहरुले पनि ठूल्ठूला गफ गरेको जस्तै यहाँ सहभागी भएका अधिकाशं व्यक्ति आफूहरु जस्तै गफाडी रहेको भन्दै व्यंग्य गरेर बसेका थिए ।

सम्मेलनका क्रममा भएका छलफलमा सहभागी हुनु भन्दा धेरै जसो नेपाली व्यवसायी भने विदेशी लगानीकर्तालाई आफ्नो प्रभावमा पार्न लागिपरेका थिए । उनीहरु सेल्फी खिच्न र कफी पिएर रमाइलो गर्न लागेका थिए ।

सरकारले सम्मेलनका लागि ५० र निजी क्षेत्रका २५ गरी कूल ७७ परियोजनालाई शो केशमा राखेको थियो । सम्मेलनकै क्रममा विभिन्न १५ आयोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस्तै १७ वटा परियोजनामा आवेदन परेको छ । त्यसमा यातायात पूर्वाधारतर्फ ७, ऊर्जातर्फ ४, कृषिका ३, शिक्षा तथा स्वास्थ्यका २ र ढुवानी पूर्वाधारका १ परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा व्यक्त गरेका छन् ।

सम्मेलनमा ४० देशका ७३५ प्रतिनिधि सहभागी भएका थिए । यस्तै ३०० विदेशी कम्पनी, ६०० नेपाली सहभागी भएका थिए भने १०० वटा स्वदेशी कम्पनीले सहभागिता जनाए ।

गैर आवासीय नेपाली संघले भने विगत ३ वर्ष पहिल्यै घोषणा गरेको १० अर्ब बराबरको परियोजनाको पुनः घोषणा गरेको थियो ।

सरकारले सम्मेलन अपेक्षित रुपमा सफल भएको दावी गरेपनि लगानीकर्ताले नेपालको अवस्था र लगानीमैत्री वातावरणका बारेमा जानकारी पाए कि पाएनन् भन्नेृ नै थाहा हुन सकेको छैन ।

यद्यपि अर्थमन्त्री खतिवडाले भने सम्मेलनको प्रभाव केही समयपछि देखिने बताएका छन् । सम्मेलनका क्रममा उनको प्रस्तुती पनि अन्य वक्ताको भन्दा फितलो देखिएको थियो । उनले कुनै पनि विषयलाई प्रष्टसँग राख्न सकेका थिएनन् ।

तैपनि लामो समयको राजनीतिक संक्रमणबाट गुज्रिएको मुलुकमा स्थिर सरकार बनेर लगानी सम्मेलन गरी विश्वभरका लगानीकर्तालाई नेपालमा लगानीको वातावरण बनेको छ भनेर सन्देश भने दिएको छ । यसले पक्कैपनि आगामी दिनमा केही सकरात्मक प्रभाव देखिने नै छ ।


पुष्प दुलाल