कुर्सी नपाएपछि रिसले चुर भएका उद्योगमन्त्री यादबले मायाको चिनो पनि लिएनन् !



काठमाडौ । उद्योगमन्त्री मातृका प्रसाद यादब लगानी सम्मेलनमा भाग लिन शुक्रबार विहान सोल्टी होटलमा पुगेका थिए । तर, उनलाई बस्नका लागि छुट्टै कुसीको व्यवस्था थिएन ।

उद्योग मन्त्रीजस्तो मान्छेलाई लगानी सम्मेलनमा बस्ने कुर्सीको व्यवस्था नगरिनु दुखःद नै हो ।

बस्ने कुर्सी नपाएपछि मन्त्री यादब रिसाएर फर्किएका थिए । उनलाई फकाउने प्रयास समेत विफल भएको थियो ।

पछि उनलाई उद्योग सचिव यमकुमारी खतिवडा लगायतले फकाएर सम्मेलन हलभित्र ल्याए । त्यसपछि भने उनले एउटा कुनाको कुर्सीमा बसेर कार्यक्रम हेरेका थिए ।

त्यसपछि उद्योगमन्त्री औद्योगिक आधार निर्माण र रोजगारी सिर्जना विषयक सेसनमा भाग लिए । मन्त्री यादब उक्त सेसनका मूख्य बक्ता थिए ।

सेसनमा मन्त्री यादबले आफ्नो कुरा राखे । निकै अक्मकिएर आफ्ना कुरा राख्दै गर्दा सम्मेलनमा सहभागी भएका लगानीकर्ताहरु मुसुमुसु हाँसिरहेका थिए ।

सेसन सकिएपछि सहभागी सबैलाई टोकन अफ लभ अर्थात मायाको चिनो दिने व्यवस्था गरिएको छ । तर मायाको चिनो लिन उनलाई बोलाइएपनि उनले त्यो चिनो लिन मानेनन् ।

अरु सबैले मायाको चिनो लिने तर उनले मात्र मायाको चिनो नलिएपछि सहभागीहरुले आश्चर्य माने ।

उक्त सेसनको प्रमुख बक्ता भएर पनि किन मायाको चिनो नलिएको होला भन्ने चासो चलिरहेको बेला उनले प्रष्ट पार्दै भने– ‘सरी आइ एम अर्गनाइजर । सो अर्गनाइजर नट गुट टु टोकेन ।’

साथै उनले यो गतिविधिलाई नेगेटिभ न्युज नबनाइदिन मिडियालाई आग्रह समेत गरे ।

कुनै पनि सानो वा ठूलो लगानीको पहिलो काम कम्पनी रजिष्ट्रारको कार्यालयबाट शुरु हुन्छ । उद्योग विभाग अन्तर्गत रहेको कम्पनी रजिष्ट्रार उद्योग मन्त्रालय अन्तगर्त पर्छ ।

त्यसैले लगानी सम्मेलनको मूख्य भूमिकामा उद्योगमन्त्री हुनुपर्ने हो । एक वर्षअघि भएको लगानी सम्मेलनमा तत्कालीन उद्योगमन्त्री मूख्य भूमिकामा थिए ।

तर, प्रधानमन्त्रीले लगानी सम्मेलनको मूख्य भूमिका अर्थमन्त्री डा. युवराज खतिवडालाई दिएका छन् ।

लगानी सम्मेलनबारे जानकारी दिन गरिएको २ वटा पत्रकार सम्मेलनमा पनि उद्योगमन्त्री यादब उपस्थित भएका थिएनन् । अर्थमन्त्रीले नै निजी क्षेत्रलाई दायाँबायाँ राखेर लगानी सम्मेलनबारे प्रेसलाई जानकारी गराएका थिए ।

लगानी सम्मेलनमा भूमिकाबिहीन बनेपछि उद्योगमन्त्री यादब रिसले चुर भएका छन् ।

त्यसैले उद्योगमन्त्रीले सानो बहाना पाउनेवित्तिकै आफ्नो आक्रोशलाई प्रदर्शन गरिहाल्ने गरेको उनका निकटस्थहरु बताउँछन् ।


पुष्प दुलाल