मोट्रेक्सले गाडी उत्पादनको अनुमति पाएपछि नाडाको बैठक, शर्त मान्दा मोनोपोली हुने निष्कर्श



काठमाडौं । सरकारले कोरियन कम्पनी मोट्रेक्सलाई नेपालमा गाडी उत्पादन गर्नका लागि सैद्दान्तिक सहमति दिएपछि नेपालका गाडी व्यवसायीहरु डराएका छन् । मोट्रेक्सले राखेका केही शर्तदेखि व्यवसायीहरु डराएका हुन् ।

मोट्रेक्सले आफूले गाडी उत्पादन गरेको ७ वर्षसम्म अरु कम्पनीलाई गाडी उत्पादन गर्ने अनुमति दिन नपाइने शर्तसँग व्यवसायीहरु डराएका हुन् ।

‘विदेशी लगानी आउनुपर्छ, यो हाम्रा लागि खुसीको कुरा हो, हामी विदेशी लगानीलाई सँधै स्वागत गर्छौं,’ नेपाल अटोमोवाइल्स डिलर्स एशोसिएशनको भेइकल कमिटिका संयोजक करन चौधरीले क्लिकमाण्डूसँग भने, ‘मोट्रेक्सले जुन एक्लुसिभिटीको शर्त राखेको छ, त्यसमा हाम्रो चासो हो ।’

गाडी उत्पादनको अनुमति लिएर ‘लाइसेन्स होल्ड’ गर्ने कोरियन कम्पनीको दाउ, यस्तो छ नालीबेली

बिहीबार राजधानीको अन्नपूर्ण होटेलमा नाडाको भेइकल कमिटिको बैठक बसेको थियो । बैठकले मोट्रेक्सका शर्त मान्ने हो भने उसको एकाधिकार हुने निष्कर्श निकालेको छ ।

‘नाडा लगानी बोर्ड र अर्थ मन्त्रालयलाई भेटेर एक्लुसिभिटीको शर्तका बारेमा प्रष्ट हुन चाहन्छ,’ चौधरीले भने, ‘आइतबार नाडाको पूर्ण बैठक बसेर यसलाई संस्थागत ढंगले अघि बढाइने छ ।’

आजको छलफलमा नाडाको भेइकल कमिटि सदस्य रहेका व्यवसायीहरु आकाश गोल्छा, रिाकर श्रेष्ठ, केशबराज भण्डारी, बरदान बस्नेत, अनुपममणि ढकाल लगायत उपस्थित थिए ।

सरकारले केही दिनअघि कोरियन मोट्रेक्सलाई साढे १० अर्ब पुँजीमा नेपालमै गाडी उत्पादन गर्ने एसेम्ब्लिङ प्लान्ट राख्न सैद्दान्तिक सहमति दिएको थियो । उक्त कम्पनीले अहिलेसम्म गाडी उत्पादन गरेको छैन ।

आजको छलफलमा सहभागी एक व्यवसायीका अनुसार खुल्ला अर्थतन्त्रको मर्मविपरित सरकाले मोट्रेक्सलाई उत्पादन शुरु गरेर नाफामा नगएसम्म्का लागि अरु कम्पनीलाई अनुमति नदिने सम्झौता स्वीकार्य नहुने बताए ।

‘मोट्रेक्सको एकाधिकार हुनेगरीको शर्त हामीलाई स्वीकार्य छैन,’ ती व्यवसायीले क्लिकमाण्डूसँग भने, ‘मोट्रेक्सका सबै शर्त मान्ने हो भने न देशलाई हित हुन्छ न त जनतालाई ।’

नाडाले आगामी हप्ता संस्थागतरुपमा सरोकारवाला निकायमा यसबारे आफ्नो आधिकारिक धारणा दिने उनले जानकारी दिए ।

नाडाका पदाधिकारीहरुले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई यसअघि नै भेटेर आफ्नो धारणा राख्न खोजेका थिए । तर, लगानी बोर्डका सीइओ अधिकारी शुक्रबार र शनिबार राजधानीमा हुने लगानी सम्मेलनका अस्तव्यस्त भएका कारण समय दिन सकेनन् । त्यसैले, आगामी हप्त भेटेर नाडाले आफ्नो आधिकारिक धारणा दिन लागेको हो ।

व्यवसायीहरुले मोट्रेक्सको नेपालमा गाडी उत्पादन गर्न भन्दा पनि लाइसेन्स होल्ड गरेर बस्ने नियत देखिएको आरोप लगाएका छन् । नेपाल व्यवसायी सञ्जय प्रधानले मोट्रेक्स्लाई नेपाल भित्र्याएका हुन् । प्रधान असफल सावित भइसकेका व्यवसायी हुन् ।


पुष्प दुलाल