गाडी उत्पादनको अनुमति लिएर ‘लाइसेन्स होल्ड’ गर्ने कोरियन कम्पनीको दाउ, यस्तो छ नालीबेली



काठमाडौं । नेपालमै गाडी उत्पादनको संभावना देख्दै ७/८ वर्षअघि नेपालको प्रतिष्ठित व्यावसायिक घराना गोल्छा अर्गनाइजेशन अन्तर्गतको हुलास मोटर्सले नेपालमै मुस्ताङ म्याक्स ब्रान्डको गाडी उत्पादन गर्यो । त्यसका लागि हुलास मोटर्सले ठूलो लगानी गरेर एसेम्ब्लिङ प्लान्ट राखेको थियो ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमै उत्पादन भएको मुस्ताङ म्याक्स गाडी चढे । प्रधानमन्त्रीले चढेपछि मुस्ताङ म्याक्सको निकै धेरै चर्चा भयो ।

तर दुर्भाग्यबस २०६९ देखि नेपालमै उत्पादन भएको पहिलो गाडी मुस्ताङ म्याक्स बन्द भयो ।

चारपांग्रे सवारीसाधन उत्पादन बन्द गरेको गोल्छा अर्गनाइजेशनले नेपालमै दुई पांग्रे सवारीसाधन (मोटरसाइकल) उत्पादन गरिरहेको छ । तर, यसरी उत्पादन गरेका मोटरसाइकललाई नेपालमै बनेको मोटरसाइकल भनेर अहिलेसम्म गोल्छा अर्गनाइजेशनले ब्राण्डिङ गरेर बेच्ने हिम्मत गरेको छैन ।

भारतीय गाडी निर्माता कम्पनी टाटाले पनि नेपालमा गाडी उत्पादनमा चासो देखाउँदै संभाव्यता अध्ययन गरेको थियो । उक्त अध्ययनमा गाडी उत्पादन गर्ने एसेम्ब्लिङ प्लान्ट राख्न ४ खर्ब रुपैयाँ लाग्ने देखियो ।

अरु कम्पनीलाई लाइसेन्स दिन नपाउने शर्त राख्नु भनेको लाइसेन्स होल्ड गर्ने नियत हो ।

यतिठूलो लगानी गरेर नेपालमा गाडी उत्पादन गर्दा बजार सानो भएकाले नाफा नदेखेर टाटाले थप प्रक्रिया अघि बढाएन ।

नेपालमा बनेका गाडी छिमेकी बजार भारत र चीनमा निर्यात गर्दा प्रतिस्पर्धी क्षमता तथा उत्पादन लागतको हिसाबले असंभव देख्यो । र, पछि हट्यो ।

तर, टाटाका लागि एउटा सबल पक्ष के थियो भने टाटाले उत्पादन गरेका गाडीहरु भारतको बिहार लगायतमा बेच्न सक्थ्यो । तैपनि टाटा ब्याक भयो ।

त्यसैगरी, कोरियन गाडी निर्माता कम्पनी हुण्डाई गाडीले पनि नेपालमा एसेम्बलिङ प्लाण्ट राख्नका लागि संभाव्यता अध्ययन गरेको थियो । हुण्डाईले पनि संभावना देखेन । र, पछि हट्यो ।

नेपालमै गाडी उत्पादनका लागि प्रयासदेखि प्रायोगसम्म गरेका गोल्छा, सिप्रदी र लक्ष्मी हुण्डाई नेपालका प्रतिस्ठित व्यावसायिक घराना हुन् । ब्यापार व्यवसायमा राम्रो प्रगति गर्न सफल यी ब्यावसायिक घरानालाई नेपाली समुदायले पनि विश्वास गर्छ ।

त्यतिमात्रै होइन, टाटा र हुण्डाई जस्ता दशकौं गाडी उत्पादनको अनुभव भएका र नेपालमा सर्वाधिक रुचाइएका ब्राण्ड हुँदा पनि उनीहरुले गाडी उत्पादनमा हात हाल्न सकेनन् ।

कोरियन कम्पनी मोट्रेक्सलाई अनुमति

केहीदिन अघि मात्रै सरकारले कोरियन कम्पनी मोट्रेक्सलाई नेपालमै गाडी उत्पादन गर्ने सैद्दान्तिक सहमति दियो । मोट्रेक्ससँग अहिलेसम्म गाडी उत्पादन गरेको अनुभव छैन । सन् २००१ मा स्थापना भएको यो कम्पनीले गाडीमा राखिने इन्फोटेनमेन्ट सिस्टम उत्पादन गर्दै आएको छ ।

को हुन् मोट्रेक्सलाई नेपाल भित्र्याउने प्रधान ?

मोट्रेक्स आफैं नेपालमा गाडी उत्पादन गर्छु भन्दै आएको होइन । व्यवसायी सञ्जय प्रधानले मोट्रेक्सलाई नेपाल ल्याएका हुन् । मोट्रेक्सलाई नेपाल भित्र्याउने प्रधानको व्यावसायिक इतिहास गतिलो छैन । सञ्जय संचालक रहेको एभ्को इन्टरनेसनल केही दशकअघि नेपालमा हुण्डाइ गाडीको विक्री/वितरण गर्थ्यो ।

सञ्जयले एभ्को चलाउन सकेनन् । चरम वित्तीय संकटमा परेपछि एभ्को बन्द भयो ।

त्यतिमात्रै होइन, सञ्जय कस्मिक एयरका लगानीकर्ता आरपी प्रधानका छोरा हुन् । वित्तीय संकटमा परेर कस्मिक एयर पनि बन्द भइसकेको छ ।

साढे १० अर्ब पुँजीले गाडी उत्पादन हुन्छ ?

टाटाले गरेको अध्ययनमा नेपालमा गाडी उत्पादन गर्ने प्लान्ट राख्न ४ खर्ब खर्च हुने देखिएको थियो । तर, मोट्रेक्सले भने साढे १० अर्ब रुपैयाँमा एसेम्ब्लिङ प्लान्ट राख्ने अनुमति पाएको छ ।

आजको दुनियाँमा १० अर्बको पुँजीले गाडी होइन साइकल उत्पादन गर्न मात्रै पुग्ने व्यवसायीहरु बताउँछन् ।

‘साढे १० अर्ब पुँजीले गाडी उत्पादन गर्ने प्लान्ट राख्न संभव नै छैन,’ एक व्यवसायीले भने ।

मोट्रेक्ससँग अनुभव छैन, नेपाली साझेदारसँग हैसियत

अनुभव नै नभएको मोट्रेक्स किन आयो ? व्यवसायमा असफल भएका सञ्जयले किन मोट्रेक्सलाई ल्याए ? यस्ता थुप्रै प्रश्नहरु उब्जिएका छन् । नेपालका उद्योगी व्यवसायीहरुले भने उत्पादनका लागि होइन ब्रोकरिङका लागि मोट्रेक्स नेपाल आएको दाबी गरेका छन् ।

‘कुनै विदेशी कम्पनी आयो भन्नुभन्दा पनि कसले ल्यायो ? नेपाली साझेदार को हो ? भनेर हेर्नु महत्वपूर्ण हुन्छ,’ एक व्यवसायीले भने, ‘मोट्रेक्सका नेपाल साझेदार सञ्जय प्रधानको पृष्ठभूमि हेरेपछि त्यो कम्पनी नेपालमा गाडी बनाउन होइन, लाइसेन्स होल्ड गरेर ब्रोकरिङ गर्न आएको भन्ने प्रष्ट छ ।’

नेकपाका महासचिवको कनेक्सनले अनुमति

मोट्रेक्सको नेपाली साझेदार सञ्जय प्रधानलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलको साथ रहेको जानकारहरु बताउँछन् । महासचिव पौडेलले ब्याकिङ गरेपछि बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र प्रधानमन्त्री केपी ओली मोट्रेक्सलाई लाइसेन्स दिन तयार भएको बोर्डकै अधिकारीहरु बताउँछन् ।

‘महासचिव पौडेलको कनेक्सनका कारण मोट्रेक्सले लाइसेन्स पाएको हो,’ एक अधिकारीले भने, ‘नत्र भने मोट्रेक्सका शर्त मानेर अनुमति दिनसक्ने अवस्था देखिँदैन ।’

सरकारले गल्ती सच्याओस्

व्यवसायीहरुले मोट्रेक्सलाई अनुमति दिएर गल्ती गरेको दाबी गरेका छन् । नेपाल अटोमोवाइल्स डिलर एशोसिएशनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भेटेरै निर्णय सच्याउन आग्रह गर्ने तयारी गरिरहेको छ ।

‘मोट्रेक्स गाडी उत्पादन गर्ने नियत राखेर आएकै होइन, लगानी बोर्डले मोट्रेक्सको र नेपाली साझेदार सञ्जय प्रधानको पृष्ठभूमि नहेरी हचुवाको भरमा अनुमति दिएको छ,’ नाडाका एक पदाधिकारीले भने, ‘तत्काल निर्णय नसच्याए भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।’

मान्नै नसकिने शर्त

मोट्रेक्सले नेपालले मान्नै नसक्ने शर्तहरु तेर्स्याएको छ । खुल्लाबजार अर्थतन्त्र अंगालेको देशमा आफूले नाफा नकमाएसम्म अर्को कम्पनीलाई अनुमति दिन नहुने शर्त राखेको छ । जुन स्वीकार्नै नसकिने शर्त हो ।

मोट्रेक्सले नेपालमा प्लान्ट राखेर गाडी उत्पादन गर्नुअघि आयात गरेर गाडी बिक्री वितरण गर्न पाउने शर्त पनि राखेको छ । यो डरलाग्दो शर्त हो ।

त्यस्तै, मोट्रेक्सले निश्चित अवधिका आयकरमा छुट मागेको छ । जुन स्वभाविक हो । त्यस्तै, मोट्रेक्सले मेसिन तथा पार्टपुर्जा आयातमा भन्सार छुट मागेको छ । यो पनि ठीकै हो ।

तर, मोट्रेक्सले आफूले पूर्ण उत्पादन थालेको ७ वर्षसम्म अरु कम्पनीलाई लाइसेन्स दिन नहुने शर्त राखेको छ । यो अस्वभाविक शर्त हो । यो शर्त राख्नुको पछाडि लाइसेन्स होल्ड गरेर ब्रोकरको काम गर्ने नियत रहेको लगानी बोर्डकै एक अधिकारीले बताए ।

‘अरु कम्पनीलाई लाइसेन्स दिन नपाउने शर्त राख्नु भनेको लाइसेन्स होल्ड गर्ने नियत हो,’ बोर्डका एक अधिकरीले भने ।

कोरियामै अलोकप्रिय

कुनैपनि कम्पनी कति लोकप्रिय र मजबुत छ भन्ने कुरा थाहा पाउन त्यो कम्पनीको सेयरको अवस्था हेर्नुपर्छ । कम्पनीले गज्जप प्रगति गरिरहेको छ भने त्यसको सीधा असर उक्त कम्पनीको सेयर मूल्यमा पर्छ । तर, नेपालमा कार उत्पादन गर्नका लागि लगानी बोर्डले स्वीकृति दिएको कोरियन कम्पनी एमएस मोटेक्सको सेयर मूल्य लगातार ओरालो लागेको छ ।

पछिल्ला ५ वर्षदेखि लगातार गिरावट आएको मेटेक्सको सेयर मूल्य पछिल्लो एक महिना तीब्र गतिमा ओरालो लागेको छ ।

आज मात्रै सो कम्पनीको सेयर मूल्य ३ हजार ९९५ कोरियाली वनमा कारोवार भएको छ । केही महिना पहिले ५ हजार कोरिायाली वनमा कारोवार भएको सो कम्पनीको सेयर मूल्य लागातार ओरालो लागेको छ ।

एक वर्ष पहिले ६ हजार ७६० कोरिायाली वनमा कारोबार भएको सो कम्पनीको लगातार सेयर मूल्य ओरालो लागेको हो ।

ब्लूमवर्गका अनुसार ५ वर्ष पहिले पनि सो कम्पनीको सेयर मूल्य अधिकतम रुपमा ७ हजार ५६० कोरियाली वनमा मात्रै रहेको थियो ।

कम्पनीको १ वर्षको रिर्टन ३९.२४ प्रतिशतले घटेको छ । यस्तै इपिएस मात्रै ९०९ रहेको छ । पछिल्लो डिसभडेन्ट रिपोर्ट अनुसार शेयर लगानीकर्ताले १४२.६ प्रतिशत पाएका छन् ।

यस्तो छ मोट्रेक्सलाई अनुमति दिने निर्णय भएको लगानी बोर्डको माइन्यूट


पुष्प दुलाल