‘मास्टर प्लान बनाएर वाईडबडीमा घोटलाः मन्त्री, जीएम र सचिवलाई बर्खास्त गरेर जेल हाल्नुपर्छ’



काठमाडौं । नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिका सदस्य प्रदीप यादवले विमान खरिदमा ठूलो घोटाला भएको भन्दै बहालवाला मन्त्री, सचिव र महाप्रबन्धकलाई तत्काल बर्खास्त गरी जेल हाल्नुपर्ने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद यादवले आफूहरुले १५ दिन लगाएर वाईडबडी खरिद प्रकरणको सत्यतथ्य बाहिर ल्याएको दाबी गरे ।

उनले भने, ‘ठूलो मास्टर प्लान बनाएर वाईडबडी खरिदमा घोटाला भएको छ । खरिद गर्दा सार्वजनिक खरिद ऐनपनि मानेको छैन् ।’

‘ग्लोबल टेण्डर’ नगरीकन किनिएकोपनि आरोप उनले लगाए । ‘फ्रान्ससँग किन डाईरेक्ट किनिएन ? भ्रष्टाचार गर्नकै लागि विचौलिया राखिएको छ,’ उनले भने ।

उनले जहाज खरिदको नाममा युनियनका नेतासमेत गरि ३८ जना भोजभतेर खानको लागि भ्रमणमा गएको दाबी गरे ।

उनले थपे, ‘भ्रमणको नाममा पनि करोडौं रुपैयाँ भ्रष्टाचार गरिएको छ ।’

उनले जहाज खरिदको ओरिजिनल बिल महाप्रबन्धक सुगतरत्न कंशकार र मन्त्री रवीन्द्र अधिकारीले सार्वजनिक गर्नुपर्ने बताए ।

छानबिन गर्दा आफूहरुलाई कुनै दबाब नआएको उनले स्पष्ट पारे । उनले भने,‘समितिलाई कुनै पनि दबाब आएको थिएन । तर, निगमका महाप्रबन्धक कंशकारबाट हामीलाई आवश्यक सहयोग भएन । उहाँले हामीले मागेको प्रतिवेदन दिनुभएन ।’

यादवले तत्काल महाप्रबन्धक कंशकारलाई निलम्बन गर्नुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई हतकडी लगाउनुपर्ने उनको भनाई छ ।

उनले भने, ‘यो प्रकरणका भ्रष्टाचारीहरुलाई हतकडी लगाउनुपर्छ । पर्दा पछाडि नायकहरुपनि होलान् । ती सबैलाई पर्दाफास गर्नुपर्छ ।’

उनले आफूहरुले बाहिर ल्याएको प्रतिवेदनमा उल्लेखित ४ अर्ब ३५ करोड ५६ लाख रकम घोटाला रकम बढ्नेपनि स्पष्ट पारे ।

उनले भने, ‘यो आंशिक हो । ओरिजिनल बिल कहाँ गयो ? यो प्रकरणमा जो/जो संलग्न छन्, ती सबैलाई कारबाही गर्नुपर्छ ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले वाईडबडी खरिद प्रकरणमा भ्रष्टाचार गर्ने सबैलाई कारबाही गर्नुपर्ने बताए ।

उनले भने, ‘यो प्रकरणमा मात्रै होइन, भ्रष्टाचार गर्नेजति सबैलाई कारबाही गर्नुपर्छ । जेल हाल्नुपर्छ । बदमास गर्नेहरुलाई कसैलेपनि छुट दिनुहुँदैन् ।’

नेता भण्डारीले सानालाई कारबाही र ठूलालाई छोड्ने काम भएको भन्दै अब त्यस्तो गर्न नहुने बताए ।

‘नेपालको ईतिहाँसमा पहिलो चोटी वीरशमशेरले ४० करोड भारु विदेशमा लगेर राखेका थिए । अहिले नेपाल कमाउने र बाहिर विदेशमा लगेर राख्ने थलो भएको छ । जुन कुरा यहाँको जनताको जीवनस्तर हेरेर थाहा हुन्छ ।’ नेपालमा भ्रष्टाचार गरेर कमाउने र विदेशमा लगेर राख्ने गरेको सुनाउँदै उनले भने ।

नेपालमा पछिल्लो समय भ्रष्टाचार र कमिशनतन्त्र बढेको सुनाउँदै जसले गलत गर्छ उसलाई कारबाही गर्नुपर्छ भनेर आफूहरुले भनिरहेको पनि जिकिर गरे ।

उनले भने, ‘हामीले पञ्चायती व्यवस्थाको बेलामा पनि गधा काण्ड, चरेश काण्ड, उन काण्डदेखि प्लेन काण्ड सबै उठाएका हौं नि ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले हत्यारापनि बालुवाटारमै छन् । र, यी भ्रष्टहरुपनि मेरै हुन र यी बालुवाटारमै छन् भनेजसरी बोलिरहेको उनले टिप्पणी गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले मैले यीनलाई बचाउनुपर्छ भन्ने शैलीमा, त्यो अर्थ लाग्नेगरि उहाँ बोलिदिनुहुन्छ । तर, उहाँले त्यो बोल्न हुँदैनथियो । उहाँले त बरु नेपालमा हत्या, हिंसा गर्ने र भ्रष्टाचारी जो सुकै होउन्, म उनीहरुलाई कारबाही गर्छु, म छोड्दिन भनेर बोल्नुपर्दथ्यो ।’

राज्यले केपी ओलीलाई बचाउनको लागि १८/२० करोड खर्च गरेको सुनाउँदै भण्डारीले भने, ‘राज्यले उहाँलाई हत्यारा र भ्रष्टहरुलाई संरक्षण गर्नको लागि त्यत्रो रकम खर्च गरेको होईन ।’

अख्तियार वा अदालतले भ्रष्टाचार गर्नेलाई उन्मुक्ति दिन्छ भने भोलिको सन्ततीले कानुन परिवर्तन गरेर भएपनि राज्यको सम्पत्ति फिर्ता गर्ने र कारबाही गरेरै छोड्ने पनि भण्डारीले उद्धघोष गरे ।

नेकपाका सांसद एवम् संसदको सार्वजनिक लेखा समितिका सदस्य अमनलाल मोदीले वाईडबडी खरिद प्रकरणमा लेखा समितिले भ्रष्टाचार गरेको ठहर गरे जोसुकै भएपनि कारबाहीको भागिदार हुने स्पष्ट पारे ।

उनले भने, ‘वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिको प्रतिवेदनबारे भोलि लेखा समितिमा छलफल हुन्छ । समितिले भोलि छलफल गरेर निश्कर्ष निकाल्छ । यो प्रतिवेदनमा तथ्य पुगेन भने फेरिपनि नयाँ विषयवस्तुहरुको थालनी हुन्छ । भ्रष्टाचार भएको ठहर भए हामी सम्बन्धित निकायलाई कारबाहीको लागि सिफारिश गर्छौं ।’

लेखा समितिले कारबाहीको लागि सिफारिश गर्दापनि कारबाही भएन भने कारबाही नगर्नेहरुलाई जनताले कारबाही गर्ने उनको भनाई छ ।

उनले भने, ‘मन्त्रीमात्रै होईन, सम्पूर्ण दोषीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

उपसमितिले यत्रो घोटाला भयो भनेर प्रतिवेदन ल्याईसक्यो अब मन्त्रीले राजिनामा दिनुपर्ने होईन भनेर पत्रकारको प्रश्नमा सांसद मोदीले भने, ‘तर, नैतिकताको प्रश्न उठेको भन्ने कुरा छ, यसमा राजिनामा दिने कि वा अन्य विकल्प रोज्ने की भन्ने कुरा त्यो मन्त्रीको कुरा हो । तर, भोलि पूर्ण समितिमा छलफल हुँदैछ । त्यसपछि हामी हाम्रो कुरा राख्न सक्छौं ।’


पुष्प दुलाल