बल्ल मिल्यो बैंकहरुको निक्षेप र कर्जाको सन्तुलन, गत साता १० अर्ब निक्षेप, ७ अर्ब ऋण



काठमाडौं । बैंकहरुले संकलन गर्ने निक्षेप र प्रवाह गर्ने कर्जाबीच बल्ल सन्तुलन मिलेको छ । वितेका ५ महिनायता निक्षेप संकलन भन्दा ऋण बढी दिएका बैंकहरुको पुस दोस्रो साता भने निक्षेप र कर्जामा सन्तुलन मिलाएका छन् ।

राष्ट्र बैंकले दिएको जानकारी अनुसार पुस ६ गते २६ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २३ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

तर, पुस १३ गते बैंकहरुले १० अर्ब रुपैयाँले बढाएर कूल निक्षेप २३ खर्ब ३१ अर्ब रुपैयाँ पुर्याएका छन् भने कर्जा ७ अर्ब रुपैयाँले बढाएर २३ खर्ब २६ अर्ब रुपैयाँ पुर्याएका छन् ।

पछिल्लो एक महिनाको अवस्था हेर्ने हो भने बैंकहरुले २४ अर्ब रुपैयाँले निक्षेप बढाएका छन् भने २३ अर्ब रुपैयाँले कर्जा बढाएका छन् । एक महिनाको तथ्यांक हेर्दा बैंकहरु अझै पनि कर्जा विस्तारमा संयमित नभएको देखिन्छ । तर, संयमित हुने बाटोमा अघि बढेको भने देखिन्छ ।

तर, यसअघि भने बैंकहरुले निक्षेप संकलनभन्दा महिनामै ५/७ अर्ब रुपैयाँभन्दा बढीले कर्जा विस्तार गर्दै आएका थिए । पछिल्लो एक महिनामा भने निक्षेप संकलनको तुलनामा १ अर्ब रुपैयाँले कम कर्जा विस्तार गरेका छन् ।

चालू आर्थिक वर्षको शुरुदेखि नै बैंकहरुले निक्षेपभन्दा कर्जा बढी दिँदा बैंकिङ प्रणालीमा थप ऋणयोग्य पुँजीको अभाव भएको थियो । थप ऋण दिन मिल्ने पुँजी नभएपछि बैंकहरुले ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी नै गरेका थिए । यसरी ब्याजदर बढाउने प्रतिस्पर्धा हुँदा बैंकहरुले मुद्दति निक्षेपमा साढे १३ प्रतिशतसम्म ब्याज दिएका थिए ।

बैंकहरुको ब्याजदर बढाउने प्रतिस्पर्धाले बैंकर्स संघको भद्र सहमति पनि तोडिएको थियो । तर, अर्थ मन्त्रालय र राष्ट्र बैंकको दबाबपछि फेरि ब्याजदरमा भद्र सहमति भएको छ ।

सरकारले बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको समस्या टार्न स्थानीय तहको आधा रकम निक्षेपको रुपमा वाणिज्य बैंकहरुमा राख्न पाउने ब्यवस्था पनि गरिसकेको छ । जसकारण पनि पछिल्लो समय बैंकहरुमा निक्षेप बढेको हो ।


पुष्प दुलाल