बैंकर्स संघको पूर्ण बैठक बस्योः तरलता अभाव अझै चर्किने निष्कर्श



काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको पूर्ण बैठक बसेको छ । लगानी योग्य पुँजी (तरलता) को चरम अभाव भएपछि २८ वटै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संयुक्त बैठक बसेको थियो ।

बैठकमा सहभागी अधिकांस सीइओहरुले तरलताको समस्या थप जटिल बन्दै गएको धारणा राखेका थिए । तरलता अभावको समस्या चर्किएकै कारण ७८/७९ प्रतिशत सीसीडी रेसियो लाई नर्मल मान्नुपर्ने अवस्था आएको सीइओहरु संयुक्त धारणा भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए ।

‘बैठकमा बोल्ने अधिकांस बैंकका सीइओहरुले तरलतामा सुधार नभएको धारणा राख्नुभयो,’ सीइओ राणाले क्लिकमाण्डूसँग भने, ‘७८/७९ प्रतिशत सीसीडी नर्मल मान्नुपर्ने अवस्था आएको संयुक्त धारणा आयो ।’

विकास बैंकहरुका कारण पनि वाणिज्य बैंकलाई केही समस्या परेको बैठकमा छलफल भएको थियो । सरकारले तत्काल यो समस्याको समाधान नगरेर बैंकहरु थप ऋण विस्तार गर्न सक्ने अवस्थामा नहुने र त्यसको असर अर्थतन्त्रमा देखिने उनीहरुको भनाई थियो ।

‘यही अवस्था लम्बिने हो भने बैंकहरुले थप ऋण दिन रोक्नुपर्ने अवस्था आएको छ,’ राणाले भने, ‘अहिले पनि बैंकहरुले ठूलो ऋण दिइरहेका छैनन्, स–सानो मात्रै दिएका छन् । यसले अर्थतन्त्रलाई अघि बढाउँदैन ।’

सीइओहरुले यसअघि भएको भद्र सहमतिलाई अक्षरस पालना गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए । दशैंअघि बैंकर्स संघको पूर्ण बैठक बसेर ब्याजरदमा नयाँ समहति गरेका थिए ।

आइतबारको बैठकले निर्णय भने केही पनि गरेन । सदस्यहरुको धारणा बुझ्नका लागि बैठक बोलाइएको बताइएको छ ।

बैंकहरुले ६८ अर्ब निक्षेप उठाएर १०५ अर्बभन्दा बढि लगानी गरिसकेका छन्। जसले तरलता अभावको समस्या ल्याएको हो । सरकारले खर्च गर्न नसकेका कारण बजारमा पैसा नआएकाले तरलतामा चाप परेको बैंकहरुले गुनासो गरेका थिए ।

तिहारपछि बैंकहरुको अवस्था के छ भनेर बुझ्ने उदेश्यले बैठक बोलाइएको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए ।

‘सिस्टममा हेर्दा केही तललता देखिन्छ, बैंकरहरु तरलता छैन भनेर गुनासो गरिरहेका छन्, पछिल्लो अवस्था के छ, र अब कसरी अघि बढ्ने भनेर सुझाब लिनका लागि बैठक बोलाइएको हो,’ अध्यक्ष ढुंगानाले क्लिकमाण्डूसँग भने, ‘छलफल मात्रै भयो निर्णय केही पनि भएको छैन ।’


पुष्प दुलाल