सेयर बजार बढाउन अर्थमन्त्री खतिवडाले भने- संस्थागत लगानीकर्तालाई लगानी गर्नुहोस् भनिरहेको छु



काठमाडौं । प्रायजसो सेयर बजारका विषयमा नकरात्मक टिप्पणी गर्दै आएका खतिवडाले आज भने सकरात्मक टिप्पणी गरेका छन् । नेप्सेले शुरु गरेको सेयर कारोबारको अनलाइन प्रणालीको विधिवत शुरुवात गर्दै मन्त्री खतिवडाले आफूले पनि सेयर बढोस् भनेर काम गरिरहेको सुनाए ।

‘सेयर बजार घट्दा लगनीकर्ताहरुमा बिचलन नआओस् भनेर मैले संस्थागत लगानीकर्ताहरुलाई पनि सेयर बजारमा लगानी गर्नुहोस् भनेर भनिरहेको छु,’ अर्थमन्त्री खतिवडाले भने ।

अहिले वित्तीय प्रणालीमा देखिएको तरलता लगायतका संकटका कारण ब्याजदर महंगो भएकाले संस्थागत लगानीकर्ताहरु सेयर बजारमा जोखिम लिनभन्दा मुद्दति निक्षेप राखेर ब्याज खान आकर्षित भएको सुनाउँदै अब त्यस्तो अवस्था नरहने बताए ।

‘हामीले वित्तीय प्रणालीमा देखिएका समस्या समाधान गर्नका लागि विभिन्न कामहरु गरिरहेका छौं, अहिलेको समस्या सँधै रहँदैन,’ उनले भने, ‘जब ब्याजदर कम हुन्छ, तब संस्थागत लगानीकर्ताहरु सेयर बजारमा आकर्षित हुन्छन्, त्यसले बजारलाई सकरात्मक प्रभाव पार्छ ।’

लगानीकर्ताहरुले अर्थमन्त्रीले नकरात्मक टिप्पणी गरेकाले सेयर बजार लगातार घटिरहेको भन्दै आरोप लगाउँदै आएका थिए । लगानीकर्ताको आरोपलाई बुझेका अर्थमन्त्रीले आफू धेरै निहुरिएर बोल्दा बजार बुलिस हुने होला, त्यसैले ननिहुरिकनै बोल्छु भन्दै ब्यंग्यात्मक बाक्यबाट भाषण शुरु गरे ।

तर, आजको भाषणमा भने उनले सेयर बजारप्रति कुनै नकरात्मक टिप्पणी गरेनन् ।

अर्थमन्त्री खतिवडाले नेप्सेले अनलाइन कारोबार शुरु गरेर असल कामको थालनी गरेको बताए । सेयर बजार ओपन क्राउडेड सिस्टमबाट अनलाइन सिस्टममा आउनु उल्लेख्य प्रगति भएको अर्थमन्त्रीको भनाई थियो ।

‘अब बजार पहिलेको जस्तो ओपन क्राउडेड छैन, अनलाइन कारोबारको शुरुवात भइसकेको छ,’ उनले भने, ‘अर्थ मन्त्री र अर्थ मन्त्रालयका कारण सेयर बजार घटबढ हुँदैन । र, अर्थ मन्त्रालय सेयर बजार घटाउन वा बढाउन पनि लाग्दैन । हामीले त अर्थ व्यवस्थालाई हेरेर नीतिगत निर्णय गर्ने हो ।’

सेयर बजार सूचक र देशको आर्थिक वृद्धिबीच तालमेल हुनुपर्ने उनको भनाइ थियो ।

‘आर्थिक वृद्धिदर एकातिर, नेप्से सूचक अर्कातिर हुनु हुँदैन,’ उनले भने, ‘यी दुईबीच तालमेल भएन भने अर्थ मन्त्रालय चनाखो हुन्छ ।’

सेयर बजार बैंकिङ डोमिनेटेड भएको भन्दै यसको विविधिकरण गर्नु अत्यावश्यक भएको उनको भनाइ छ ।

‘सेयर बजारमा बैंकिङ र बीमा समूहको प्रभुत्व छ, यसलाई क्रमश कम गर्दै बजारलाई विविधिकरण गर्छुपर्छ,’ उनले भने, ‘संरचनात्मक विधिकरण गर्नतर्फ हाम्रा नीतिहरु केन्द्रित हुनुपर्छ ।’

सेयर बजारको पुँजीगत लाभकरको विषय पनि अब छिट्टै समाधान हुने उनले जानकारी दिए ।

‘पुँजीगत लाभकरको विषयमा पनि हामी छिट्टै निर्णय गर्छौ,’ उनले भने, ‘तपाईहरुले लक्ष्मी पुजा गरेपछि राम्रो वित्तीय अवस्था भएको कम्पनी छनोट गरेर सेयर किन्नुहोस्, अनि नाफा कमाउनुहोस्, त्यसपछि सरकारले लाभरक त लिइहाल्छ ।’


पुष्प दुलाल