साउन १ गतेदेखि घरबाटै एक क्लिक गरेको भरमा सेयर किनबेच गर्न पाउनुहुन्छ




आगामी साउन १ गतेदेखि पूर्णरुपमा अनलाइन ट्रेडिङ गराउने गरी हामीले गृहकार्य गरिरहेका छौं । यो प्रविधिसँग सम्बन्धित कुरा हो । हामी यसमा भने लागिरहेका छौं । आगामी बैशाखमा परीक्षण गर्ने र साउन १ गतदेखि पूर्ण रुपमा अनलाइन ट्रेडिङ गराउने भनिएको हो ।

यसका लागि हामीले सेवा प्रदायक कम्पनी वाइबोलाई एसआरएस गरेका छौं । उहीहरुले काम गरिरहेका छन् । फाइनल एसआरएस हामी केही दिनभित्रमै पठाउँदै छौं । उनीहरुलाई चाढै काम गर भनेर हामीले भनेका छौं ।

पूर्णरुपमा अनलाइन ट्रेडिङ सुरु भएपछि तपाइले सेयर किन्न वा बेच्नको लागि ब्रोकरकोमा गइरहनु पर्दैन । ब्रोकरले एउटा पासवोर्ड र युजर नेम तपाइलाई दिन्छ । त्यही पासवर्ड र युजर नेम प्रयोग गरेर तपाइ आफैले सेयर खरिद बिक्री गर्न सक्नुहुन्छ ।

पूर्णरुपमा अनलाइन ट्रेडिङ सुरु भएपछि तपाइले घरमै बसेर सेयर किनबेच गर्न सक्नुहुन्छ । यस्तै मार्जिनमा बसेर कसैले चलखेल गरेका भन्ने जुन कुरा सुनिइरहेको छ, अनलाइन ट्रेडिङ सुरु भएपछि त्यस्तो हुदैन । कतिपय अबस्थामा बजारमा पुँजीगत लाभकरमा गडबडी भयो भनेर भन्ने गरिएको समस्या पनि समाधान हुन्छ ।

अनलाइन ट्रेडिङ सुरु भएपछि लगानीकर्ताको संख्या पनि निकै बढ्ला भन्ने अपेक्षा गरिएको छ ।

यसको लागि नेप्सेले हार्डवयर र सफ्टवयरमा लगानी गर्ने हो । सफ्टवयर वाइबो कम्पनीले बनाउँदै छ । हामीले साढे ५ करोड रुपैयाँभन्दा बढीको हार्डवयर किनिसकेका छौं ।

सफ्टवयर बनाउँदै गरेको कम्पनीले निर्धारित समयमै काम सक्छु भनेको छ । यो विषय भनेको प्रविधिसँग सम्बन्धित विषय भयो । टेष्टिङमा कति समय लाग्छ भन्ने यकिनका साथ भन्न सकिदैन । तर, अहिलेसम्मको तयारी अनुसार साउन १ गतेदेखि तपाइले घरमै बसेर क्लिक गरेको भरमा सेयर किनबेच गर्न सक्नुहुन्छ ।

(नेपाल स्टक एक्चसेन्जका प्रमुख कार्यकारी अधिकृत साउदसँग गरिएको कुराकानीमा आधारित)


क्लिकमान्डु