यूटिएलले दुरसञ्चार प्राधिकरणलाई साढे २० करोड तिर्यो, अब कति बाँकी ?




काठमाडौं । यूनाइटेड टेलिकम लिमिटेड (यूटिएल)ले लाइसेन्स नविकरणको किस्ता बापतको २० करोड रुपैयाँ नेपाल दूरसंचार प्राधिकरणलाई तिरेको छ ।

यूटिएलले आइतवार मात्रै प्राधिकरणलाई रोयल्टि बापतको पाँचौं किस्ता रकम भुक्तानी गरेको हो । कम्पनीले दूरसंचार सेवाको एकिकृत लाइसेन्स लिँदाको शर्त अनुसारको बुझाउन बाँकी पाँचौ किस्तामा २० करोड ४१ लाख ८७ हजार ८ सय रुपैयाँ बुझाएको छ ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले यूटिएलले पाँचौं किस्ता रकम बुझाएको बताए ।

‘यूटिएलले पाँचौं किस्ताको रकम बुझाएको हो, आरटिडिएफ र रोयल्टिको रकम पनि छिटै बुझाउने जानकारी दिएको छ,’ प्रवक्ता अर्यालले क्लिकमाण्डूसँग भने ।

कम्पनीले सो रोयल्टी रकम आर्थिक वर्षको मसान्तमा तिर्नुपर्नेमा निकै ढिलो गरि रोयल्टी बापतको रकम बुझाएको हो ।

यसैगरि कम्पनीले ग्रामीण दूरसंचार कोषमा बुझाउनुपर्ने २ प्रतिशत रकम तथा त्यसमा लाग्ने जरिवानासहितको कुल २७ लाख रुपैयाँ तथा रोयल्टी बापतको २७ लाख रुपैयाँ समेत छिटै बुझाउने जानकारी प्राधिकरणलाई दिएको प्राधिकरणले जनाएको छ ।

कम्पनीले लाइसेन्स लिएपछिको रकम वार्षिकरुपमा ८ किस्तामा बुझाउने शर्तअनुसार किस्तामा रकम बुझाउँदै आएको छ ।

यूटिएलले २०७३ साल भदौ महिनामा एकिकृत अनुमति पत्र (यूनिफाइड) लाइसेन्स प्राप्त गरेको थियो ।


पुष्प दुलाल