कसरी गर्ने मार्जिन ट्रेडिङ ? लगानीकर्तालाई फाइदा के ?



धितोपत्र बोर्डले मार्जिन ट्रेड गर्नको लागि मार्जिन कारोबार सम्बन्धि निर्देशिका जारी गरेको छ । विश्वब्यापी प्रचलन हेर्ने हो भने मार्जिनमा पनि सेयर कारोबार गर्न सकिन्छ । यही प्रक्रियालाई हामीले नेपालमा सुरु गराउन मार्जिन ट्रेडिङ सम्बन्धि निर्देशिका जारी गरेका हौं ।

मार्जिन ट्रेडिङ भनेको मार्जिनमा पनि सेयर कारोबार गर्न सकिन्छ भनेर सुरु गर्न लागेका हौं । जस्तो मसँग ५०० रुपैयाँ छ र सेयर कारोबार गर्न मलाई कम्तिमा हजार रुपैयाँ चाहिन्छ भने मैले सेयर कारोबार गर्न नसक्ने भएँ । यसको लागि मलाई थप ५०० रुपैयाँ चाहिने भयो ।

यो ५०० रुपैयाँ मलाई मार्जिन लोन चाहियो । यस्तो अबस्थामा मैले ५०० रुपैयाँ हाल्छु र सेयर ब्रोकरले मलाई ५०० रुपैयाँ हालिदिन्छ । यसरी ब्रोकरले हालेको ५०० रुपैयाँ मार्जिन लोन भयो । अनि मैले हजार रुपैयाँको मार्जिन कारोबार (ट्रेड) गर्न सक्ने भएँ । बोर्डले अहिले जारी गरेको मार्जिन ट्रेड सम्बन्धि निर्देशिकाको मूल मर्म, आशय वा उद्देश्य यही हो ।

मार्जिन कारोबार कसरी गराउने र के कस्तो प्रक्रिया पूर्याएर मार्जिन लोन दिने भन्ने सम्बन्धि बोर्डले गाइडिङ प्रिन्सिपल दिएको छ । त्यही प्रिन्सिपलभित्र रहेर ब्रोकरले आफ्नो कार्यबिधि बनाउँछन् । त्यो कार्यबिधि बोर्डले स्वीकृत गरेपछि मार्जिन कारोबार सुरु हुन्छ ।

मार्जिन कारोबार गर्न चाहने लगानीकर्ता पहिला ब्रोकरकोमा जानु पर्यो । मार्जिन कारोबार सम्बन्धि ब्रोकरले कार्यबिधि बनाउनु पर्छ भनेकै यही हो । ब्रोकरकोमा गएर तपाइले पहिला मार्जिन एकाउन्ट खोल्नु पर्यो । त्यो मार्जिन एकाउन्टमा मैले यति पैसा राख्छु भनेर तपाइले पैसा हाल्नु पर्यो । अहिले हामीले आधा पैसा लगानीकर्ताले र आधा पैसा ब्रोकरले हाल्ने गरी ब्यवस्था गरेका छौं ।

यो ब्यवस्था अनुसार तपाइले ५ लाख रुपैयाँ हाल्नुभयो भने ब्रोकरले तपाइलाई ५ लाख रुपैयाँसम्म मार्जिन ऋण दिन्छ । यस्तो अबस्थामा तपाइले म पाँचै लाख रुपैयाँ लिन्छु पनि भन्न पाउनुभयो । होइन, मलाई ३ लाख रुपैयाँ भए हुन्छ भनेर ८ लाख रुपैयाँसम्मको मार्जिन कारोबार गर्न पनि पाउँनु हुने भयो । अर्थात तपाइको अधिकतम मार्जिन ऋण लिन पाउने सीमा ५ लाख रुपैयाँ भयो ।

हामीले हाम्रो तर्फको काम सकेका छौं । ब्रोकरको कोर्टमा बल छ । उहाँहरुले जति चाँढो काम गर्नुहुन्छ, त्यति नै चाँढो यसको कार्यान्वयन हुन्छ ।

मार्जिन एकाउन्ट खोलिसकेपछि ब्रोकरले मार्जिन कारोबार सम्बन्धि कार्यबिधि अनुसार तपाइसँग सम्झौता गर्छ । त्यो सम्झौतामा ब्रोकरले कतिसम्म मार्जिन सेवा शुल्क लिने, कसरी रिपेमेन्ट गर्ने भन्ने जस्ता शर्त र ब्यवस्थाहरु हुन्छन् ।

मार्जिन कारोबारबाट तपाइले किनेको सेयर तपाइकै हो । तर, यस्तो सेयर मार्जिन एकाउन्टमा जम्मा हुन्छ । माथि उदाहरणको रुपमा प्रयोग गरिएको रकमलाई नै फेरि सम्झौं । त्यहाँ हामीले १० लाख रुपैयाँको मार्जिन कारोबारको कुरा गरेका थियौं भने ५ लाख रुपैयाँ ब्रोकरबाट ऋण लिएका थियौं । त्यस्तो ऋण दिदा ब्रोकरले त्यही १० लाख रुपैयाँको सेयरलाई धितोको रुपमा राखेको हुन्छ ।

धितो विक्री गर्दा जसरी हामी बैंक तथा वित्तीय संस्थामा धितो रहेको सम्पत्तिको हकभोग गर्छौं, त्यही प्रक्रिया यहाँ पनि हुन्छ । अर्थात तपाइले मार्जिन कारोबारबाट किनेको सेयर बेचेर पहिला ब्रोकरको ऋण तिर्नुपर्छ ।

तपाइले कति रकम राखेको, उसले कति रकम ऋण दिएको र आजको बजारमूल्य अनुसार सेयरको मूल्यांकन कति भयो भनेर ब्रोकरले प्रत्येक दिन बेलुका हिसाब गर्छ । यसरी हिसाब गर्दा सेयर मूल्य घटेका कारण तपाइले राखेको रकम खरिद गर्दाको समयमा भुक्तानी गरेको रकमको ४० प्रतिशतभन्दा कम भयो भने ब्रोकरले थप मार्जिन कल गर्छ ।

अर्थात हामीले माथि उदाहरणको रुपमा प्रयोग गरेको १० लाख रुपैयाँको मार्जिनबाट सेयर किनेका थियौं । त्यसमा तपाइले ५ लाख रुपैयाँ हाल्नुभएको थियो । बजार मूल्य घटेका कारण किनेको समयको सेयर मूल्यको तुलनामा तपाइसँग आज भएको सेयरको मूल्य त्यो बेलाको ५ लाखबाट घटेर ४ लाख रुपैयाँ मात्रै भयो भने ब्रोकरले तपाइसँग थप १ लाख रुपैयाँ माग्छ ।

यस्तै सेयर मूल्य बढ्यो भने तपाइले बढेको मूल्य अनुसारको सम्पत्ति उपभोग गर्न पाउनु हुन्छ । अर्थात सेयरको मूल्य बढ्यो भने पैसा फिर्ता लिन सक्नुहुने भयो । मूल्य घट्यो भने पैसा थप्नु पर्यो । तपाइले जति रकम बजारको मार्जिन कारोबार गर्नुभएको छ, तपाइसँग भएको सेयरको मूल्यांकन त्यसको आधा सधै हुनै पर्यो ।

ब्रोकरले मार्जिन कारोबारको सुबिधा पहिलादेखि नै मागिरहेका हुन् । हामीले उनीहरुलाई तयारी गर्दैगर्नुस् भनेका थियौं । अब हामीले बाटो खोलिदिएका छौं । ब्रोकरले जति चाँढो कार्यबिधि ल्याएर स्वीकृत गराउँछन् त्यति नै चाँढो यसको सुरुवात हुन्छ ।

हामीले अनौपचारिक रुपमा उनीहरुलाई ५० वटा ब्रोकरले ५० वटा कार्यबिधि बनाएर ल्याएर हुँदैन, तपाइहरुले संघको तर्फबाट एउटै कार्यविधि ल्याउनुस्, त्यो भयो भने तपाइहरुलाई पनि सजिलो हुन्छ, हामीलाई पनि सहज हुन्छ भनेका छौं । हामीले हाम्रो तर्फको काम सकेका छौं । ब्रोकरको कोर्टमा बल छ । उहाँहरुले जति चाँढो काम गर्नुहुन्छ, त्यति नै चाँढो यसको कार्यान्वयन हुन्छ ।
धितोपत्र बोर्डका कार्यकारी निर्देशक गिरीसँग गरिएको कुराकानीमा आधारित


क्लिकमान्डु