एक वर्षमै विनोद चौधरीको सम्पत्ति २० अर्बले बढ्यो, कूल सम्पत्ति कति भयो त ?



काठमाडौं । नेपालका अर्बपति उद्योगी विनोद चौधरीको कुल सम्पत्तिमा यो वर्ष ०.२ बिलियन अमेरिकी डलर अर्थात् २० अर्ब रुपैयाँले वृद्धि भएको छ ।

हालै फोर्ब्सले सार्वजनिक गरेको विश्वका धनीहरुको सूचीअनुसार नेपाली उद्योगी चौधरी १ हजार ५ सय ६७ औं नम्बरमा परेका छन् ।

चौधरीको कुल सम्पत्ति यो वर्ष बढेर १.३४ बिलियन अमेरिकी डलर अर्थात करिब १ खर्ब ३४ अर्ब नेपाली रुपैयाँ पुगेको छ । यसअघि गत वर्षको सोहि समयमा उनको सम्पत्ति १.१ बिलियन अमेरिकी डलर मात्र रहेको थियो ।

फोर्ब्समा भएको उनको व्यक्तिगत बिवरणअनुसार उनको सम्पत्ति वृद्धि हुनुमा नबिल बैंकको शेयरको मुख्य योगदान रहेको छ ।
उनी अन्तराष्ट्रिय कम्पनी सिनोभेसन तथा सिजी ग्रुपमा नियन्त्रण गर्दछन भने नेपालको एक मात्र बिलेनियर हुन् ।

सिजी ग्रुप अन्तर्गत खाद्यान्न, इलेक्ट्रोनिक्स, बियर र होटलहरुको व्यवसाय रहेको छ । उनको सिजी फुड्सले लोकप्रिय नुडल्स ब्राण्ड वाइवाइको उत्पादन गर्दछ भने वाइवाइको फ्याक्ट्री भारत, सर्विया, साउदि अरेयिबा र बंगलादेशमा पनि रहेको छ ।

सिजी समूहले भारतको लक्जरी चेन होटल ताज होटलको सहकार्यमा विश्वभर २९ वटा होटलहरुमा अधिकार लिएको छ भने ७० वटाको सम्पत्ति व्यवस्थापन गरिरहेको छ ।

उनका बुवा लुनकरण दास चौधरीले नेपालमा पहिलो पटक डिपार्टमेन्टल स्टोर स्थापना गरेका थिए भने उनले १८ वर्षको उमेरमा पारिवारिक व्यवसाय सम्हाल्न कलेज छोडेका थिए ।


पुष्प दुलाल