
काठमाडौं । डल्फिन फिड्सले एकै वर्ष सवा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब २७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीको व्यापार गत आवमा ५.६० प्रतिशतले बढेको जनाएको छ । कम्पनीका अनुसार गत आवमा उच्च परिमाणमा दाना बिक्री हुँदा व्यापार बढेको हो । कम्पनीले गत आवमा ३२ हजार ८ सय ३५ मेट्रिक टन दाना बिक्री गरेको थियो भने सन् २०२४ मा ३० हजार ४ सय २७ मेट्रिक टन दाना बिक्री गरेको थियो ।
कम्पनीको नाफा पनि बढेको छ । कम्पनीले गत आवमा १.९९ प्रतिशत खुद नाफा कमाएको छ भने सन् २०२४ मा ०.३८ प्रतिशत खुद नाफा कमाएको थियो। नाफा बढ्नुमा ब्याज खर्च कम हुनु प्रमुख कारण रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सन् २०२४ मा १३ करोड ४० लाख रुपैयाँ रहेको ब्याज खर्च घटेर गत आवमा १० करोड रुपैयाँ पुगेको छ।
त्यसैगरी, कम्पनीको कुल नगद सञ्चय पनि बढेको छ । सन् २०२४ मा २ करोड ६० लाख रुपैयाँ रहेको नगद सञ्चय गत आवमा बढेर ७ करोड २० लाख रुपैयाँ पुगेको छ।
कम्पनीले सन् २०२४ मा २ अर्ब १५ करोड ४० लाख रुपैयाँ र सन् २०२३ मा २ अर्ब १४ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो।
सन् २०१९ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका दाना उत्पादन गर्दै आएको छ। कम्पनीले सन् २०१३ देखि कारोबार गर्दै आएको डल्फिन आधुनिक दाना उद्योगको स्वामित्व लिई व्यापार सञ्चालन गरिरहेको हो।
कम्पनीले पोल्ट्री तथा अन्य गाईवस्तुको दाना उत्पादन गर्दै आएको छ, जसमा विशेषगरी ब्रोइलर र लेयर्स दाना उत्पादन गर्ने गरिएको छ। कम्पनीको मुख्य आम्दानी पोल्ट्री क्षेत्रबाट हुने गरेको उल्लेख छ भने त्यसपछि गाई, बंगुर र बाख्राको दानाबाट आम्दानी हुने जनाएको छ।
डल्फिन ग्रुपद्वारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १० करोड २० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३५ करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७५ करोड रुपैयाँको रेटिङ गराएको हो। कम्पनीका अध्यक्ष सूर्यबहादुर थापा हुन् ।







प्रतिक्रिया