राजधानीको ट्राफिक जाम कम गर्न ललितपुरका मेयर चिरिबाबुले गरे यस्तो प्रस्ताब



काठमाडौं । ट्राफिक जाम राजधानीबासीहरुको साझा समस्या हो । ट्राफिक जामका कारण राजधानीबासीहरुले समयको व्यवस्थापन गर्न सकिरहेका छैनन् ।
अझ कार्यालय जानेआउने समय (बिहान ९ बजेदेखि ११ बजे र साँझ ५ बजेदेखि ७ बजेसम्म) राजधानीबासीले खपिनसक्नु पीडा भोग्नु परिरहेको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ट्राफिक जामको न्यूनिकरण गर्न नयाँ प्रस्ताब गरेका छन् ।

गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले केही दिनअघि उपत्यकाका मेयर र ट्राफिक प्रहरीका उच्च अधिकारीहरुलाई मन्त्रालयमा बोलाएका थिए । मन्त्री शर्माले सबैसँग कसरी उपत्याकाको ट्राफिक जाम हटाउन सकिन्छ भनेर सोधका थिए ।

छलफलमा आफूले उपत्यकाको ट्राफिक जाम हटाउन नयाँ प्रस्ताब गरेको र सो प्रस्ताब गृहमन्त्री शर्मालाई मन परेको ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले क्लिकमाण्डूलाई सुनाए ।

यसअघिको सरकारमा उर्जामन्त्री हुँदा लोडसेडिङ हटाएर वाहवाही कमाएका शर्मा अहिले कसरी ट्राफिक जाम हटाउन सकिन्छ भनेर सरोकारवालाहरुसँग आइडिया लिइरहेका छन् ।

उर्जामन्त्री हुँदा शर्माले यसरी नै सरोकारवालाहरुलाई बोलाएर कसरी लोडसेडिङ अन्त्य गर्न सकिन्छ भनेर सोधेका थिए । र, कुलमान घिसिङको आइडियामा काठमाडौं उपत्यका लोडसेडिङमुक्त भयो पनि ।

यस्तो छ, ट्राफिक जाम हटाउने चिरिबाबुको आइडिया (उनकै शब्दमा)

नेपाल मात्रै यस्तो देश हो, यहाँ सबै कार्यालयहरु १० बजे लाग्छन् र ५ बजे बिदा हुन्छन् । हाम्रो सडक सानो छ, जसकारण कार्यालयसमय उपत्यकाबासीले ट्राफिक जामको ठूलो समस्या भोग्नु परेको हो ।

त्यसैले गृहमन्त्रीले बोलाएको छलफलमा मैले ट्राफिक जाम हुने पिक आवरको म्यानेजमेन्ट गरेर अल्पकालका लागि समस्याको समाधान निकाल्न सकिने प्रस्ताब गरेँ ।

सरकारले निजी, सरकारी र सरकारी संस्थानहरुको कार्यालय समय फरक फरक तोक्ने हो भने तत्कालका लागि पिक आवरको ट्राफिक जामको समस्याका न्यूनिकरण हुन्छ । जस्तो कि अहिले सबै कार्यालयहरु १० बजे लाग्ने भएकाले कर्मचारीहरु सो समयमा कार्यालय पुग्न घरबाट निष्कन्छन् । एकै समय लाखौं मान्छेहरु सवारी लिएर सडकमा निष्कँदा ठूलो ट्राफिक जाम भएको हो ।

निजी क्षेत्रमा काम गर्ने कर्मचारीको कार्यालय समय ९ बजे, निजामति कर्मचारीलाई १० बजे र संस्थानका कर्मचारीलाई ११ बजे कार्यालय समय तोक्ने र सोही अनुसार साँझ कार्यालय बिदा हुने समय तोक्ने हो भने अहिलेको ट्राफिक जाम धेरै हदसम्म नियन्त्रणमा आउँछ । मैले यो प्रस्ताब गर्दा गृहमन्त्रीजीले ‘हो त हैं साँच्चि’ भन्ने प्रतिक्रिया दिनुभएको छ । अब कार्यान्वयन गर्नु हुन्छ वा हुन्न त्यो त उहाँको कुरा हो ।

त्यसैगरी, पिक आवरमा ट्याक्सीलाई जोरबिजोर गरी चलाउने हो भने पनि ट्राफिक जामको समस्यालाई केही नियन्त्रण गर्न सकिन्छ । उपत्यकामा १० हजारको हाराहारीमा ट्याक्सी छन्, जोरबिजोर सिस्टम लगाउने बित्तिकै पिक आवरमा ५ हजार मात्रै ट्याक्सी चल्छन् । यी दुई उपाय त अल्पकालका लागि मात्रै हो । दीर्घकालका लागि पूर्वाधारको विकास गर्नु जरुरी छ ।

उपत्यकाको ट्राफिक जाम कम गर्न आफूले पुल्चोकदेखि थापाथलीसम्म डेढ किलोमिटर लामो फ्लाइओभर बनाउन लागेको छु । यो परियोजना बनाउन ३ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने प्रारम्भिक अनुमान छ । केहीदिन भित्रै परामर्शदाता छनोट गर्ने तयारी भइरहेको छ ।

ठाउँठाउँमा सडक विस्तार र केही ठाउँमा फ्लाइओभर अनि धेरै ठाउँमा स्काइ ब्रिज बनाउने हो भने ट्राफिक जाम हुँदैन । मेयरमा निर्वाचिन भएपछि मैले महानगरबासीलाई कसरी जाममुक्त बनाउने भनेर कहाँ कहाँ के निर्माण गर्न सकिन्छ भनेर अध्ययन गरिरहेको छु ।


पुष्प दुलाल