बैदेशिक रोजगारीबाट फर्केका युवाले डेढ करोड लगानीमा खोले स्वीमिङ पुलसहितको रिसोर्ट



पर्वत । डेढ करोडको लागतमा धौलागिरि अञ्चलमा नै पहिलोपटक पर्वतमा स्वीमिङ पुलसहितको रिसोर्ट निर्माणको अन्तिम चरणमा पुगेको छ ।

पर्वत सदरमुकाम कुश्मा बजारमा विभिन्न पेसा व्यवसाय गरी बस्दै आएका ३ जना युवाको सक्रियतामा कुश्मा नगरपालिका-४ छमर्केमा उक्त रिसोर्ट निर्माण सम्पन्न हुन लागेको हो ।

पछिल्लो समयमा युवा स्वरोजगार हुन नसकेपछि वैदेशिक रोजगारीलाई प्राथमिकता दिइरहेका बेला पर्वतका ३ युवाले डेढ करोड रुपैयाँको लगानी गरेर रिसोर्ट निर्माण गरेका हुन् ।

ब्लु एञ्जल नाम दिएर निर्माण गरिएको उक्त रिसोर्टमा केही भौतिक संरचना र टायल बिछ्याउने काम मात्रै बाँकी रहेको छ ।

असारको दोस्रो साता सम्पूर्ण काम सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको सञ्चालक आलोक श्रेष्ठले जानकारी दिए ।
धौलागिरिका पर्वत, मुस्ताङ, बागलुङ र म्याग्दी जिल्लामध्ये पर्वतमा निर्माण भएको स्वीमिङ पुलसहितको रिसोर्ट यो नै पहिलो हो ।

रिसोर्ट सञ्चालनका लागि श्रेष्ठसँगै राजु शर्मा र विष्णुराज पुरीले लगानी गरेका छन् । यी तीनै जना युवा विगत केही वर्षअघि वैदेशिक रोजगारीमा साउदी, बेलायत, कोरियालगायतका स्थानमा बसेर फर्किसकेका हुन् ।

रिसोर्ट सञ्चालनका लागि करिब १५ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ७ फिट गहिराइ, ७३ फिट लम्बाइ र ३२ फिट चौडाइ रहेको स्वीमिङ पुलसँगै बाल उद्यान, चाइल्ड स्वीमिङ पुलसमेत निर्माण गरिएको छ ।

पोखरा बागलुङ राजमार्ग नजिकै पर्ने उक्त रिसोर्ट विशेष गरी मुस्ताङको मुक्तिनाथमा जाने तीर्थयात्रीसँगै अन्य बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको सञ्चालक राजु शर्माले जानकारी दिए ।

मुक्तिनाथ पुग्ने भारतीय तथा स्वदेशी धर्मावलम्बीका लागि पर्वत ट्रान्जिट बनोस् भन्ने मुख्य ध्येयले रिसोर्ट निर्माण गरिएको शर्माले बताए ।

गर्मीयामका लागि रिसोर्टबाट करिब ४०० मिटर टाढा रहेको दुलेपानी मुहानबाट पानीको प्रबन्ध गरिएको छ भने जाडो मौसममा तातो पानीको समेत छुट्टै पोखरी निर्माण गरिने शर्माले बताए ।

पछिल्लो समयमा पर्वतमा समेत विभिन्न पर्यटकीय गन्तव्यहरु यान्त्रिक पुल, नेपालकै अग्ला ३ वटा झोलुङगे पुल, बञ्जिजम्पलगायतका स्थल रहेको र थप आकर्षण र त्यहाँ आउने पर्यटकलाई अत्याधुनिक सेवा दिन रिसोर्टले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको सञ्चालक विष्णुराज पुरीले बताए । रासस


पुष्प दुलाल