काँग्रेसको पक्षमा जनलहर बढेको छः नेता लेखक



काठमाडौँ। नेपाली काँग्रेसका नेता तथा पार्टीको प्रचारप्रसार उपसमितिका संयोजक रमेश लेखकले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका पक्षमा जनलहर बढेको बताएका छन् ।

प्रचारप्रसार उपसमितिद्वारा आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित पत्रकार भेटघाटमा उनले अन्य दलसँग चुनावी तालमेल गरिएका र एक्लै प्रतिस्पर्धा गरिएका सबै महानगरपालिकामा काँग्रेसले चुनाव जित्ने दाबी गरे ।

नेता लेखकले उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा गरिएको सूक्ष्म अध्ययनबाट काँग्रेस ६० देखि ७० प्रतिशत स्थानीय तहमा विजयी हुने वातावरण देखिएको बताए । उनले भने, “काँग्रेसको नेतृत्वमा नै संविधान जारी भयो, संविधान कार्यान्वयन गर्न पनि काँग्रेसको नेतृत्व आवश्यक छ । काँग्रेस सरकारमा सहभागी भएपछि मात्र स्थानीय तहको निर्वाचन पनि सम्भव भएको हो ।”

दोस्रो चरणको निर्वाचनमा मधेस केन्द्रित दलसँग पनि चुनावी तालमेल हुन्छ भन्ने जिज्ञासामा नेता लेखकले संविधानको कार्यान्वयन र संविधानका आधारभूत पक्षसँग सहमत भएका दलसँग स्थानीय आवश्यकताअनुसार चुनावी तालमेल हुन सक्ने विचार व्यक्त गरे । नेता लेखकले अहिलेको सत्ता गठबन्धनबाटै सहमतिका साथ छिट्टै काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने जानकारी गराए ।


क्लिकमान्डु