उम्मेदवारको मृत्यु भएको वडामा जेठ २ गते मतदान



चितवन । चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका–११ मा जेठ २ गते मतदान हुने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार सो क्षेत्रको उक्त वडामा मात्रै  जेठ २ गते निर्वाचन हुने गरी निर्वाचनको कार्यक्रम सूची सार्वजनिक गरिएको छ । सो वडामा वैशाख २६ गते वर्षासँगै परेको चट्याङ लागेर नेकपा (माओवादी केन्द्र)बाट कालिका नगरपालिका–११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले आज उम्मेदवारको मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली प्रकाशन गरी आज नै चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका रहेको जानकारी दिए।

अन्य क्षेत्रमा निर्वाचनका लागि खटिने सबै कर्मचारी तथा स्वयम्सेवक आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेको ढकालले जानकारी दिए। उनका अनुसार जिल्लाका ३७६ मतदान केन्द्रमा तीन हजार ३५० जना कर्मचारी र स्वयम्सेवक खटिएका छन् ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले मतदान केन्द्रको सुरक्षा चुस्त पारिएको भन्दै सम्भावित क्षेत्रमा निगरानी बढाइएको जानकारी दिए। चितवनमा सात स्थानीय निकाय रहेका छन् जसमा एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका रहेका छन् । जिल्लामा कुल तीनलाख १३ हजार दुई मतदाता रहेका छन् ।


क्लिकमान्डु