मतदान केन्द्रमा सामग्रीसहित निर्वाचन टोली पुग्दै



हेटौँडा। स्थानीय तह निर्वाचनमा मकवानपुरको आठ गाउँपालिका र थाहा नगरपालिकाको विभिन्न मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित निर्वाचन टोली आज बिहान पुगेको छ ।

मुख्य निर्वाचनको कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहापालिकाको १९ वडामा भोलि बिहानसम्म निर्वाचन टोली पुगिसक्ने छ । मकवानपुरका कुल २९५ वटा मतदान केन्द्रमा भोलि बिहीबार बिहान १० बजेदेखि मतदाता परिचयपत्र वितरण सुरु गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिए।

त्यसैगरी, ५०० सम्म मतदाता रहेको मतदान केन्द्रमा पाँच जना र सोभन्दा माथि मतदाता रहेको केन्द्रमा मतदान अधिकृतसहित छ जना कर्मचारी खटिने भएको छ ।

मकवानपुरको कुल २९५ वटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरी कुल एक हजार ८५० जना कर्मचारी खटिएका छन् ।

मकवानपुरमा बाग्मती, कैलाश, इन्द्रसरोवर, बकैया, भीमफेदी, राक्सीराङ, मनहरी र मकवानपुरगढी गरी आठ गाउँपालिका छन् । जिल्लामा दुई लाख २७ हजार ७५९ जना मतदाता रहेको बताइएको छ ।


क्लिकमान्डु