नेपालको संविधानमा रहेको समावेशिताको व्यवस्थाबाट अमेरिकाले सिक्न सक्ने



काठमाडौँ। परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभमा डेमोक्रेटिक पार्टीकी नेत्री एवम् पूर्व सभामुख न्यान्सी पेलोसीसँग आज भएको भेटमा नेपालको समसामयिक राजनीति, स्थानीय तहको निर्वाचन, शान्ति प्रक्रिया र यसको सफलता एवम् नयाँ संविधानको घोषणा र कार्यान्वयनका बारेमा जानकारी गराए ।

परराष्ट्र मन्त्रालयमा भएको सो भेटका क्रममा मन्त्री डा महतले नेपालको संविधानमा गरिएको समावेशिता, मानवाधिकार र प्रजातन्त्रप्रतिको प्रतिबद्धतासम्बन्धी प्रावधानको बारेमा प्रकाश पार्दै राज्यका हरेक अङ्गमा महिला एवम् जातीय समावेशिताबारे संविधानमा गरिएको व्यवस्थाका बारेमा जानकारी गराएका थिए ।

अमेरिकामा रहेका नेपालीका लागि अमेरिकी सरकारले प्रदान गर्दै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्दै मन्त्री डा महतले नेपालको आर्थिक, सामाजिक एवम् बृहत्तर क्षेत्रमा अमेरिकाले पु¥याउँदै आएको सहयोगप्रति अमेरिकी जनता र अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा अमेरिकी नेत्री  पेलोसीले नेपालको संविधानमा गरिएको महिला सहभागिता एवम् समावेशिताको व्यवस्थाको प्रशंसा गर्दै यसबाट अमेरिकाले पनि सिक्न सक्ने धारणा राखिन् ।

उनले नेपालमा जुनसुकै सरकार आए पनि अमेरिकाले पु¥याउँदै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने विश्वास दिलाइन्।

उनले नेपालले शान्ति प्रक्रियाको व्यवस्थापन, संविधान सभाबाट संविधानको निर्माण र सङ्क्रमणकालीन राजनीतिक व्यवस्थापनमा नेपालले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै नेपालमा हुन लागेको निर्वाचनको सफलताको कामना गरिन् ।

भेटका क्रममा परराष्ट्र सचिव शङ्करदास वैरागी, नेत्री पेलोसीसँग नेपाल भ्रमणमा रहनुभएका अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभका दुवै पार्टीका सदस्यलगायत अन्य उच्चपदस्थ अधिकारी, अमेरिकाका लागि नेपाली राजदूत, नेपालका लागि अमेरिकी राजदूतलगायतको सहभागिता रहेको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।


क्लिकमान्डु