चितवनमा कांग्रेस र ‘माओवादी केन्द्र’को संयुक्त उम्मेदवार घोषणा



चितवन । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र चितवनले आज यहाँ संयुक्तरुपमा पत्रकार सम्मेलन गरी केन्द्रिय नेतृत्वबीच भएको सहमति र निर्देशनलाई कार्यान्वयन गर्ने बताएको छ ।

भरतपुर महानगरपालिकामा दुबै दलले संयुक्तरुपमा उठाइएका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धतासमेत गरेका छन् ।

पत्रकार सम्मेलनमा जारी गरिएको संयुक्त वक्तव्यमा भरतपुर महानगरको प्रमुख पदकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहाललाई नेपाली कांग्रेसले समर्थन गर्ने र उपप्रमुख पदमा नेपाली कांग्रेसकी पार्वती शाहलाई नेकपा माओवादी केन्द्रले सहयोग गर्ने जनाइएको छ ।

प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई निर्वाचित गर्न दुबै पार्टीका महानगरस्तरीय पार्टी र भातृ सङ्गठनलाई व्यापक रुपमा परिचालन गर्ने वक्तव्यमा जनाइएको छ । दुबै उम्मेदवारको संयुक्त प्रचारप्रसार गर्ने, संयुक्त रुपमा कार्यक्रम गर्ने, वडा र अन्य नगरपालिका एव्म गाउँपालिकामा समन्वय गरी काम अघि बढाउने पनि सो वक्तव्यमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठले संयुक्त उम्मेदवारलाई निर्वाचित गराउने बताउँदै वडा तहमा पनि कांग्रेस र माओवादीबीच समन्वय गरेर अघि बढ्ने बताए ।

वडामा मिलेर निर्वाचनमा जाने वा नजाने विषयमा टुङ्गो लागि नसकेको भन्दै उनले पूर्व राजा ज्ञानेन्द्र, एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष कमल थापाबीचको साठगाठ तोड्न कांग्रेस र माओवादीबीच सहकार्य भएको बताए ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले जिल्लामा काँग्रेस र माओवादी केन्द्रबाहेक अन्य कुनै पनि दलसँग निर्वाचनको तालमेल नगर्ने बताउँदै वडा नं– २६ मा नेकपा एमालेसँग गरिएको तालमेल भङ्ग भएको बताए ।

सो वडामा सबै पदमा कांग्रेसलाई सघाउने पनि उनले बताए । माओवादी केन्द्रसँग तालमेल गरेर जित्ने ठाउँ काँग्रेसले छाडेको भन्दै रुष्ट कार्यकर्ता क्रमश सम्मालिँदै आएको नेपाली कांग्रेसले चितवनले जनाएको छ ।

भरतपुर महानगरमा नेपाली कांग्रेस पहिलो शक्तिका रुपमा स्थापित छ । महानगर बनेको चितवन क्षेत्र–४ बाट नेपाली कांग्रेसका पूर्व सभापति स्व सुशील कोइराला दोब्बर मत ल्याएर निर्वाचित भएका थिए । शुसील कोइरालाले निर्वाचन क्षेत्र छाडेपछि सो स्थानमा भएको उपनिर्वाचनमा कांग्रेसले जितेको थियो । रासस


क्लिकमान्डु