स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कूल पचास हजार उम्मेदवार



काठमाडौँ। स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेहरु  करिब आधा लाख  छन् ।

पहिलो चरणमा  निर्वाचन हुने तीन प्रदेशअन्तर्गत ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहका विभिन्न पदमा ४९ हजार सात सय ५४ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले आज जनाएको छ ।

उक्त निर्वाचनका लागि वैशाख १९ गते उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अध्यक्ष तथा प्रमुखमा हजार नौ सय ४३, उपप्रमुख तथा उपाध्यक्षमा एक हजार चार सय ४५, वडाध्यक्ष १० हजार नौ सय ६०, दुई वडा सदस्यमा १८ हजार छ सय ८४, महिला वडा सदस्य नौ हजार एक सय ३९, दलित महिला वडा सदस्यमा सात हजार पाँच सय ८३ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । स्थानीय तहको १३ हजार पाँच सय ५६ पदका लागि उक्त उम्मेदवारी परेको हो ।

सबैभन्दा बढी काठमाडौँ महानगरपालिकाका आठ सय ८७ र सबैभन्दा कम मनाङ जिल्लाको नारफु गाउँपालिकामा २३ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

यस्तै पोखरा–लेखनाथ महानगरपालिकामा आठ सय ६५, भरतपुर महानगरपालिकामा सात सय  र ललितपुर महानगरपालिकामा छ सय ३८ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता गराएकामध्ये एक हजार चार सय ९८ जनाले उम्मेदवारी फिर्ता लिएको विवरण हालसम्म आयोगमा प्राप्त भएको जनाइएको छ ।


क्लिकमान्डु