जनताको भलो चाहने दललाई भोट दिन एमाले नेता नेपालको आग्रह



पोखरा । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा जनताको भलो चाहने दललाई भोट दिन आग्रह गरेका छन् ।

एमाले पोखरा–लेखनाथ–५ निर्वाचन परिचालन कमिटीले पोखराको मालेपाटनमा आज आयोजना गरेको उम्मेदवार परिचय एवम् निर्वाचन सभालाई सम्बोधन गर्दै विगतका कामको मूल्याङ्कन गरी गलत र असल छुट्टाएर कुनै एक दल रोज्नुपर्नेमा जोड दिए ।

एमाले एक देशभक्त र नयाँ नेपाल बनाउने सपनाको परिकल्पनाकार भएकोे चर्चा गर्दै उनले पोखरालाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय केन्द्र बनाउन एमालेले विशेष महत्व दिने बताए ।

एक महिनाको अन्तरालमा हुन गइरहेको दोस्रो चरणको निर्वाचन भने राजनीतिक अन्यौल र अनिश्चिता बढेको बताउँदै उनले एक महिनाको समयावधि छोट्टाएर वार्षिक नीति तथा कार्यक्रम र बजेटअघि नै दोस्रो चरणको निर्वाचन गरिनुपर्ने धारणा राखे ।

व्यवस्थापिका–संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले पाँच वर्षभित्र पोखरालाई अव्यवस्थित वसोवास स्थितिको अन्त्य गरी सबैलाई आवासको सुविधा दिने गरी एमालेले कार्यक्रम ल्याउने जानकारी दिए ।

उनले स्थानीय तहको निर्वाचन हुनै नदिने गरी अनेकौँ षडयन्त्र भइरहेकाले त्यसतर्पm सचेत हुन सबैसँग आग्रह गरे ।

निर्वाचन परिचालन कमिटिका संयोजक विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष कृष्ण थापा, वडा नं ५ का वडाध्यक्ष पदका उमेदवार धनबहादुर नेपाली र गायत्री भुर्तेललगायतका वक्ताहरुले मन्तव्य राखेका थिए । रासस


क्लिकमान्डु