एक वर्षभित्र सिम टिभीका ४ लाख ग्राहक पुग्छन् (अन्तर्वार्ता)



एरिक हङ, चिफ अपरेटिंग अफिसर, सिम टिभी । तस्वीरः हरि गजुरेल ।

 

सरकारले यही वैशाख दोस्रो सातापछि देशका मुख्य शहरी क्षेत्रमा केबल टेलिभिजनलाई डिजिटलाईज गर्ने लक्ष्य राखेको छ । सो लक्ष्य पुरा गर्न पछिल्लो समयमा समयानुकुल नीतिमा परिमार्जन गर्दै केबल टेलिभिजन सेवा संचालन गर्न मल्टिप सिस्टम अपरेटरको अनुमति दिँदै आएको छ । यही अनुमतिअनुसार सन् २०१५ मा सिम्पल मिडिया प्रालिले सिम टिभीको ब्राण्डमा डिजिटल केबल सेवा संचालन गरिरहेको छ । प्रत्यक्ष बैदेशिक लगानीसहित स्थापना भएको सो कम्पनीमा हाल प्रभु समूह पनि आबद्ध भएको छ । प्रभु समूहको तर्फबाट दक्ष पौडेलले सिम टिभीको व्यवस्थापन सम्हालेका छन् । कम्पनीले उच्चस्तरको सेवा दिनका लागि जर्मनी कम्पनीसँग प्राविधिक सहकार्य गर्दै नेपालमा सेवा दिईरहेको छ । अहिलेको सरकारको लक्ष्य र डिजिटल केबल टेलिभिजनको वरिपरि रहेर सिम टिभीका , चिफ अपरेटिंग अफिसर, एरिक हङ्ग तथा चिफ टेक्निकल अफिसर, स्रेन विलिंगसँग क्लिकमाण्डूका लागि अनुज राज ढुङ्गेलले गरेको कुराकानीः

सिम टिभी अहिले कस्तो अवस्थामा छ ?

एरिक– हामीले पहिलो दिनदेखि नै यहाँ काम गरिरहेका छौं । हामीले नेपालमा सन् २०१५ फ्रेबुअरीदेखि सिम टिभीको नाममा नै कम्पनी स्थापना गरेर काम शुरु गरेका हौं । हामीले व्यवसाय शुरु गरेको केही समयपछि अप्रिलमा भूकम्प गयो । र, हामी पनि अन्य कम्पनी र व्यवसायजस्तै प्रभावित भयौं । तर हामी छोटो समयमा नै यसबाट माथि आउन सफल भएका छौं ।

भूकम्प गएको एक वर्षभित्रै पुन आफ्नो गतिमा फर्किएका छौं । र, अहिले यो क्षेत्रमा सबैभन्दा उत्कृष्ट कम्पनीको रुपमा स्थापना भएका छौं । सिम टिभीले अहिलेसम्म निकै राम्रो सेवा दिएको छ । हामी अहिलेको सबैभन्दा ठूलो केबल टिभी सेवा प्रदायक भएका छौं ।

हामी हाम्रा प्रतिस्पर्धीहरुलाई पनि सम्मान गर्दछौं । बजारमा अहिले डिस टिभी र क्लियर टिभीजस्ता प्रतिस्पर्धी कम्पनीहरु पनि छन । तर पनि हामी डिजिटल टिभीको क्षेत्रमा सबैभन्दा धेरै बजार हिस्साका साथ पहिलो स्थानमा छौं । हामी ग्राहक सेवा, बजारीकरण, प्रविधिको कारण, सब्सक्रिप्सन प्याकेज, मूल्यलगायतका विषयहरुमा अझै राम्रो सेवा प्रदान गरिरहेका छौं ।

हामीसँग नयाँ सहकार्यको लागि प्रभु समूह आएको छ । जसले हामीलाई निकै उत्साहित बनाएको छ । हामीले अहिले दैनिक नयाँ योजनाहरुको बारेमा छलफल गरिरहेका छौं । अल्पकालीन र दिर्घकालीन योजनाहरु बनाउँदै छौं ।

तपाईँहरुले केबल टिभीका साथै इन्टरनेट सेवा प्रदायकको अनुमति पनि लिनुभएको छ । के इन्टरनेट सेवा पनि दिईरहनुभएको छ ?

एरिक– हामीले २ वर्षअघि नै केबल टिभीका साथै इन्टरनेट सेवा प्रदायकको अनुमति लिएका हौं । हामीले इन्टरनेटको लागि भनेर सबै किसिमका उपकरणहरु सरकारी मापदण्डअनुसार आयात गरेका छौं । तर गत वर्ष गएको भूकम्पले हाम्रो उद्देश्यलाई प्रभावित पार्यो, त्यसपछिको भारतीय नाकाबन्दीले बजारलाई नराम्ररी प्रभावित बनायो । र, हामीले इन्टरनेट सेवा दिने सोचलाई हालसम्म स्थगित गर्यौं  । अहिले हामी डिजिटल केबल टिभी सेवामा मात्र ध्यान केन्द्रित गरिरहेका छौं । तर हामी इन्टरनेट सेवा छिटै संचालन गर्ने योजनामा छौं । यसका लागि अहिलेको जस्तै ग्राहक, सरकार, हाम्रा व्यवसायीक सहयोगीहरुको साथ र सहयोग आवश्यक पर्नेछ ।

तपाईँहरुले केबल टेलिभिजन व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनुभएको छ । के तपाईँलाई लाग्दछ नेपालको परम्परागत केबल टेलिभिजनलाई परिवर्तन गरेर सेवा दिन सक्नुहुन्छ ?

एरिक– यसको दुईवटा भागहरु छन् । पहिलो भागमा हामी सरकारको उदेश्यलाई पुरा गर्न चाहन्छौं । सरकारले केही स्थानमा डिजिटल केबलमा एक महिनाभित्रै जानुपर्ने लक्ष्य लिएको छ । यसअघि नै धेरै मानिसहरुले हामीसँग डिजिटलाईज केबल टेलिभिजनमा जानको लागि सहयोग मागिरहेका छन् । र हामी ती सबैलाई सहयोग गर्न तयार रहेका छौं । हामीसँग यसको लागि पर्याप्त र आवश्यक सबै उपकरणहरु छन् । यसका साथै निकै सस्तो मूल्यको प्याकेजहरु सिम टिभीले दिएको छ । अझ भन्नुपर्दा सिम टिभीको सेटअप बक्स निःशुल्क छ । र, यसको सहयोगमा तपाईंले उच्चतहको केबलको मज्जा लिन सक्नुहुनेछ । हामीले दिएको जस्तो सेवा र मूल्य अन्य कम्पनीहरुले दिन सक्दैनन् ।

स्रेन विलिंग- पहिलो कुरा भनेको हामीले सेटअप बक्स पुरै निशुल्क दिएको होइन् । यो भाडामा दिएको जस्तै हो जसको निकै कम शुल्य मात्र लाग्दछ । र सेटअप बक्स निशुल्क पाइन्छ भन्ने धारणा पनि परिवर्तन गर्नुपर्दछ ।

स्रेन विलिंग, चिफ टेक्निकल अफिसर, सिम टिभी । तस्वीरः हरि गजुरेल ।

तपाईँले हाम्रो सेवा दिनका लागि शुरुमा ५०० रुपैंया मात्र इन्टलेशन चार्जको लागि तिर्नुपर्दछ । त्यसपछि तपाईँले विभिन्न किसिमको प्याकेजको लागि शुल्कहरु तिर्नुपर्दछ । र हाई डेफिनिशन बक्सको लागि भने छुट्टै रकम तिर्नुपर्ने हुन्छ । यसअघि सिम टिभीले हरेक सेवा निशुल्क दिन्छ भन्ने विचार पनि गलत हो । अब प्राविधिक कुरा गर्दा हामीले उच्चस्तरको प्रविधि भित्र्याएका छौं । हामीले हरेक किसिमका सेवाहरु सकेसम्म सस्तो मूल्यमा ल्याउने प्रयास गरिरहेका छौं ।
आगामी दिनमा एचबीओ, डिस्कभरी, सोनीलगायतका कम्पनीहरुबाट आवश्यक सबै कन्टेन्टहरु किन्ने गरेका छौं र त्यसको लागि शुल्क तिर्नै पर्ने हुन्छ । नत्र भने हामीले कुनैपनि आम्दानी गर्न सक्दैनौं र गुणस्तर पनि घट्दै जान्छ । जब तपाईँले ग्राहकहरुको निश्चित लक्ष्य हासिल गर्नुहुन्छ त्यसपछि मात्र तपाईँको लागत घट्दै जान्छ । त्यसैले त्यो विषयमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

एरिक- हामी ग्राहकहरुलाई सहयोग गर्न चाहन्छौं । हामी कुनैपनि पाइरेसी कन्टेन्टहरु दिँदैनौं र किन्दैनौं त्यसैले यसकोलागि केही शुल्क तिर्नुपर्ने हुन्छ । सिम टिभी कुनै गलत काम गर्दैन् र हामी एमएसओको रुपमा हरेक कन्टेन्टका लागि रकम तिर्छौं भनेर हाम्रा व्यवसायीक कम्पनीलाई पनि सुनिश्चित गराउन चाहन्छौं किनकी हामी व्यवसायीक कम्पनी हौं ।

अहिले धेरैजसो केबल टेलिभिजन कम्पनीहरु मूख्यगरि शहरी क्षेत्रमा केन्द्रित छन र तपाईँहरु पनि शहरमा मात्र केन्द्रित हुनुहुन्छ । के यो नेपालका दूर्गममा क्षेत्रमा पनि बिस्तार हुँदैछ ?

एरिक- सिम टिभीको हेडक्वाटर काठमाडौंमा छौं । र, यो हाम्रो सबैभन्दा ठूलो बजार हो । त्यसैगरी हामीले अर्को कार्यालय पोखरामा खोलेका छौं । त्यहाँबाट हामीले पोखरा आसपासका क्षेत्रहरुलाई केन्द्रित गरिरहेका छौं । त्यस्तै हामी काठमाडौं, पोखरा, चितवन, इटहरी, लुम्बिनी, दाङ र बिराटनगरलगायतका ७ क्षेत्रमा आफ्नो सेवा दिईरहेका छौं । त्यहाँबाट विभिन्न क्षेत्रमा सेवा दिँदैछौं र संभावित क्षेत्रमा जाँदैछौं । अवश्य नै हाम्रो ध्यान काठमाडौंमा प्राथमिकतासाथ केन्द्रित हुन्छ । तर हामी अन्य क्षेत्रलाई पनि ध्यान दिनेछौं । हामी हरेक क्षेत्रमा जान चाहन्छौं र केबल टिभीको माध्यमबाट सेवा दिनेछौं । सिम टिभी कुनै अवसर भएको स्थानमा जान चाहन्छ र सेवा बिस्तार गर्नेछ । साँच्चिकै भन्दा हरेक स्थानमा जाने योजना हो ।

तपाईँको सिम टिभी जस्तै बजारमा अन्य प्रतिस्पर्धी कम्पनीहरु पनि छन् । अहिलेको बजारमा प्रतिस्पर्धामा कसरी जानुहुन्छ र अवसर कसरी सिर्जना गर्नुहुन्छ ?

एरिक– यो सहि हो बजारमा धेरै प्रतिस्पर्धा छ । हामीले शुरु गर्दा नेपालमा दुईवटा मल्टि सर्भिस अपरेटर कम्पनीहरु थिए एउटा सिम टिभी र अर्को क्लियर टिभी, त्यस्तै अर्को ठूलो कम्पनी भनेको डिस होम हो । यस्ता सबै कम्पनीहरुले करिब ३० प्रतिशत ग्राहकहरु ओभरल्याप गर्ने गर्दछन् । भूकम्पपछि हामीले निकै काम गरिसकेका छौं र बजारमा पनि धेरै खेलाडि कम्पनीहरु आएका छन् । सिम टिभीले त्यसलाई ध्यान दिएको छ र हामीले सबै काम तयारी अवस्थामा राखेका छौं । हामीसँग सेटअप बक्स तयारछ, हामीसँग हरेक सेवा दिनको लागि टिम तयार छ । हामीले कुनैपनि सेवा तत्काल दिन सक्दछौं । बजारमा केही कम्पनीहरुको सेवा अझैपनि समस्यामा छन् । कतिपयसँग सेटअप बक्स नै छैन् । ग्राहकहरुले ती कम्पनीहरुको सेवा लिन रकम तिरेपछि सेटअप बक्सको लागि २ महिना कुर्नुपर्ने अवस्था रहेको छ ।

सिम टिभीका चिफ अपरेटिंग अफिसर एरिक हङ (बिचमा), चिफ टेक्निकल अफिसर स्रेन विलिंग (बायाँ) र महाप्रबन्धक दक्ष पौडेल (दायाँ)। तस्वीरः हरि गजुरेल ।

तर हामीसँग त्यस्ता कुनै समस्या छैनन्, हामीसँग ३० हजार भन्दा बढी संख्यामा सेटअप बक्स स्टकमा छ भने भारतमा पनि स्टक राखेका छौं । जसले गर्दा ग्राहकहरुले चाहेको बेलामा नै सेवा प्राप्त गर्न सक्दछ । सरकारलाई डिजिटलाइज गर्न हामी सबैसँग आग्रह गर्दछौं ।

अब कुरा गरौं नेपाली ग्राहकहरुको, व्यवसायीको तर्फबाट हेर्दा तपाईँलाई नेपाली केबल टिभी ग्राहकहरु के चाहन्छन् भन्ने लाग्छ ?

एरिक– मेरो विचारमा नेपाली ग्राहकहरु निकै सहज छन् । तपाईँको सेवा कस्तो छ, त्यसको गुणस्तर कस्तो छ भन्ने बारेमा अझै थाहा छैन् । हाम्रो लागि सबै किसिमका ग्राहकहरु समान हुन् । व्यवसायीक हिसाबले भन्दा ग्राहक हाम्रो लागि निकै महत्वपूर्ण हो । त्यसैले हामीले ग्राहकहरुले सेवा दिने मामलामा कुनै सम्झौता गर्दैनौं । अहिलेको समयमा सिम टिभीले सस्तो सेटअप बक्स दिएर हामी गुणस्तरको मामलामा सम्झौता गरेर दुःख दिन चाहँदैनौं । त्यसैले हामीले ग्राहकहरुका लागि उच्चस्तरको सेवा प्रदान गरेर सन्तुष्टि प्रदान गरिरहेका छौं ।

तपाईँलाई लाग्छ नेपालमा केबल टेलिभिजनले उच्चस्तर र उच्च गुणस्तरसहितको सेवा दिईरहेको छ  ?

स्रेन विलिंग- हामीले नयाँ कार्यालयबाट सेवा दिन लागेको केहि समय मात्र भएको छ । अहिलेको स्थान हाम्रो कम्पनी र सेवाको लागि निकै उपयुक्त रहेको छ । जहाँ हामीले मनिटरिंग सिस्टम स्थापना गरेका छौं भने समस्या समाधान गर्न २४ घण्टे कल सेन्टर संचालन गरिरहेका छौं । त्यसैगरी समस्या आएमा टेक्निकल टिम पनि राखेका छौं । हामीले मोबाइलबाटै सिम टिभी चार्ज गर्ने सुविधा पनि दिएका छौं । यसको लागि हाम्रो एप डाउनलोड गरेर सेवा लिन सकिन्छ । त्यसका साथै कुनै स्थानमा फाइबर केबल गेटवेमा समस्या देखिएमा तत्काल हाम्रो स्थानिय केबल कम्पनीलाई भनेर मर्मत गर्ने गरेका छौं । हामीसँग अहिले १०० भन्दा बढी च्यानलहरु छन् । हामीले नयाँ स्थानीय लगानीकर्ता प्रभु कम्पनी आएपनि निकै सहज भएको छ । हामीसँग विभिन्न टिभी डाउनलिंकको लागि विभिन्न स्थानमा हेडन पनि राखेका छौं । अहिले नै २१ भन्दा बढी एचडि च्यानल दिईरहेका छौं । र, आगामी दिनमा थप गर्दैछौं । बजारमा धेरै प्रतिस्पिर्धी कम्पनीहरु छन्, जसले सँधै व्यवसायलाई बिस्तार गर्न सहयोग गर्दछ ।

एरिक- मैले विभिन्न देशहरुबाट अनुभव गरेको विषय भनेको डिजिटलाईजेसनबाट सरकारलाई मात्र होईन की ग्राहकलाई पनि फाईदा हुन्छ । ग्राहकहरुले गुणस्तरीय सेवा प्राप्त गर्दछन भने सरकारले पनि राजस्व आम्दानी गर्दछ । ग्राहकहरुले यसअघि गुणस्तरहीन र पुरानो प्रविधिका स्क््रयाचसहितका टिभी हेर्नुपर्दथ्यो भने अब स्तरीय टिभी हेर्न पाउँछन् । जसले व्यवसायलाई पनि सहयोग गर्दछ, डिजिटल टिभीको हरेक मानिस ग्राहक हो र त्यसै आधारले सेवा प्रदान गर्नुपर्दछ ।

तपाईँले दिईरहेको सेवाको ग्राहक शूल्क महंगो भयो भन्ने उपभोक्ताको गुनासो छ नि ?

एरिक- डिजिटलाईज टिभी अब सबैको लागि नयाँ विषय होईन् । तर अहिले तपाईँले पाईरहेको एनालग सेवा गुणस्तरहिन छन जून सस्तो मूल्यमा आउने गर्दछ । तर हामीले दिईरहेको सेवा भनेको डिजिटल केलब टेलिभिजन सेवा हो जसले ग्राहकहरुले सफा र प्रस्ट टेलिभिजन कन्टेन्ट हेर्न पाउँछन् । एनालगको तुलनामा तपाईँले महंगो भयो भनेर तुलना गर्न सक्नुहुन्छ ।

किनकी यो डिजिटल सेवा हो । अन्य कम्पनीको डिजिटल केबलको आधारमा हामी सबैभन्दा सस्तो ग्राहक मूल्य भएको कम्पनी हौं । हामी जहिलै पनि लागतमा आधारित भएर शुल्क निर्धारण गर्दछौं । जसले अहिलेसम्म हामीलाई सूपथ मूल्यमा सेवा दिन सहयोग पुगेको छ । हामी वैदेशिक लगानी गरेर आएका कम्पनी हौं तर हामी यहाँ राम्रो गर्न आएका हौं । हामी अवश्य नै व्यवसाय गर्न आएका हौं । साथै ग्राहकहरुलाई पनि सहयोग गर्न चाहन्छौं ।

आगामी दिनमा कम्पनीलाई कसरी अघि बढाउनुहुन्छ ?

एरिक- हामीसँग नयाँ सहकार्यको लागि प्रभु समूह आएको छ । जसले हामीलाई निकै उत्साहित बनाएको छ । हामीले अहिले दैनिक नयाँ योजनाहरुको बारेमा छलफल गरिरहेका छौं । हामीले अल्पकालीन र दिर्घकालीन योजनाहरु बनाउँदै छौं । यसका साथै विभिन्न पत्रपत्रिका र मिडियाहरुमा प्रबद्र्धनको लागि पनि जाने योजनामा छौं । र, हामी हरेक समयमा सरकारको उदेश्यलाई पुरा गर्न सहयोग गर्नुहोस भनेर आग्रह गर्नेछौं । हामी ५ वर्षभित्र १० लाख ग्राहक बनाउने योजनामा छौं । अहिले नै हामीसँग १ लाख भन्दा बढी ग्राहकहरु छन् । यो लक्ष्य निकै कठिन छ । तर हामीले यसअघि नै सेवा बिस्तार गर्न काम गरिसकेका छौं । हाम्रो बजार योजनाअनुसार एक वर्षभित्रै ४ लाख ग्राहक बनाउने योजनामा छौं ।


पुष्प दुलाल