महासंघलाई कसरी अघि बढाउने भन्ने प्रष्ट रोडम्याप मसँग छ: किशोर प्रधान



निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी रौनक छाएको छ । महासंघको आगामी कार्यकालका लागि चैत अन्तिम साता नेतृत्व छनोट गर्ने गरी साधारणसभा हुँदैछ । किशोर प्रधानले गफ फागुन २२ गते बिराटनगरबाट बरिष्ठ उपाध्यक्षको औपचारिक उम्मेद्वारी घोषणा गरेका थिए । प्रधानको चुनाबी अंकगणित कस्तो छ ? उनी बरिष्ठ उपाध्यक्ष बनेपछि के कस्ता काम गर्ने योजना बनाएका छन् ? यस्तै समसामयिक विषयमा प्रधानसँग क्लिकमाण्डूले गरेको कुराकानी:

किशोर प्रधान

बरिष्ठ उपाध्यक्षमा तपाईंको उम्मेद्वारी किन ?

उद्योग वाणिज्य महासंघमा रहेका उद्योगी व्यवसायीमध्ये १३ प्रतिशतले अहिलेसम्म नेतृत्व गरिरहेको अवस्था छ । ८७ प्रतिशतलाई महासंघमा धेरैजसो समय १३ प्रतिशतबाट मात्र नेतृत्व हुँदै आएको छ । मेरो उम्मेद्वारी ८७ प्रतिशतबाट हो । उद्योग वाणिज्य महासंघमा साना तथा मझौला व्यवसायीहरु धेरै छन् । साना तथा मझौला व्यवसायीको हितको लागि मैले बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएको हो । मेरो मुल ध्येय भनेको साना तथा मझौला व्यवसायीलाई ठूला व्यवसायी बनाउनु हो । मैले साना तथा मझौला व्यवसायीका समस्या राम्रोसँग बुझेको छु । उनीहरुले भोग्नुपरेका समस्यालाई सम्बोधन गर्न नेतृत्वमा पुग्नका लागि चुनाव उठेको हुँ ।

भनेपछि महासंघमा अहिलेसम्म बहुमतलाई अल्पमतले शासन गरेको हुँदा बहुमतले नै शासन गर्नुपर्छ भन्ने तपाईको भनाइ हो ?

महासंघमा अहिलेसम्म भएका अधिकांश अध्यक्षहरु १३ प्रतिशतको मात्र प्रतिनिधित्व गर्ने गरेका थिए । केही अध्यक्ष ८७ प्रतिशतबाट नभएको होइन । तर यो कुरा इतिहास भइसकेको छ । महासंघ भनेको ठूलो व्यवसायीको संस्था होइन । साना तथा मझौला व्यवसायीको अधिकारको लागि म अगाडि सरेको हो ।

एशोसियटतर्फको उपाध्यक्ष अहिलेसम्म फाइनल भएको छैन । हामी यसमा सल्लाह गरिरहेका छौं । अहिले एशोसियटमा उम्मेद्वारी दिनु भएका व्यक्ति राम्रो पनि हुनुहुन्छ । सबैमा जहाँ पनि चुनाव हुनपर्छ भन्ने हाम्रो मान्यता होइन ।

महासंघको विधान संसोधन गरेर अध्यक्षमा निर्वाचन नगर्ने बनाइयो । तर, बरिष्ठ उपाध्यक्षमा चुनावको त्यही समस्या सर्यो होइन ?

महासंघको नेतृत्वको लागि अति चुनावी वातावरण भएपछि विधान संसोधन भएको हो । विधानले बरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बन्ने व्यवस्था गरेको छ । विधान संसोधन महासंघमा सहमतीको आधारमा नेतृत्व छान्नको लागि गरिएको थियो । तर, महासंघको विधान संसोधनको प्रस्ताव जसले गर्नुभयो उहाँले संसोधनपछि फोहरी राजनीति गर्नुभयो । राम्रा र परिपक्क व्यक्तिलाई नेतृत्वमा ल्याउने र महासंघमा ल्याउनको लागि विधान संसोधन भएको हो । कसैलाई रोक्नको लागि विधान संसोधन भएको होइन ।

अहिले जिल्ला तथा नगरका साथीहरुले जुन उद्देश्यले महासंघको विधान संसोधन भएको थियो, त्यो उद्देश्य पुरा भएन भन्नु भएको छ । यसमा म आफु जिल्ला तथा नगरको उपाध्यक्षको हिसाबले पनि माफी माग्छु । यसले पुनः विधान संसोधन गर्नुपर्ने देखिएको छ ।

भनेको पुनः अध्यक्षकै निर्वाचन हुनेगरी विधान संसोधन गर्नुपर्छ भन्न खोज्नु भएको हो ?

महासंघको विधान संसोधनको इच्छा पुरा भएन । धेरै व्यवसायी साथीहरुले अहिले त्यही गुनासो गर्नुभएको छ । व्यवसायी साथीहरुको इच्छा महासंघको विधान संसोधन गर्नेमा भयो भने त्यो हुनसक्छ । अहिले विधान संसोधनको उद्देश्य पुरा भएको छैन । त्यसमा शंका छैन ।

महासंघको निर्वाचनमा राजनीतिक धुव्रिकरण धेरै देखिएको छ । यसले महासंघलाई समस्यामा पार्दैन ?

पछिल्लो २० वर्षमा देशमा स्थानीय निकायको निर्वाचन भएन । जिल्लामा निर्वाचन हरेक ३ वर्षमा उद्योग वाणिज्य महासंघको मात्र भयो । स्थानीय निकायको निर्वाचन नहुँने भएपछि दलहरुलाई पनि महासंघको निर्वाचन लागेको हो । तर, निर्वाचन स्वच्छ र स्वतन्त्र ढंगले हुनुपर्छ ।

महासंघमा गुटगत राजनीतिले गर्दा महासंघले व्यवसायीको हकहितको लागि उठाउनुपर्ने मुद्दा ओझेलमा पर्दैन ?

परिपक्क नेतृत्व नभएपछि महासंघको भूमिका ओझेलमा पर्छ । अहिले भएको पनि त्यही हो । परिपक्क र भिजन नभएकाहरु नेतृत्वमा पुगेपछि व्यवसायीलाई दुःख पाउनुपर्छ । मसँग प्रष्ट रुपमा महासंघलाई कसरी अगाडि लैजाने भिजन छ ।

तपाई बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि के गर्नुहुन्छ ?

देश अब पूर्णरुपमा संघीय संरचनामा गएको छ । स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारबीच समन्वयन गरेर महासंघ अगाडि बढ्नुपर्छ । तल्लो तहदेखि राज्यसँग काम गर्नुपर्ने अवस्था हुन्छ । यसलाई मिलाउने मेरो मुख्य काम हुन्छ । महासंघलाई पनि त्यही अनुसार पुनसंरचना गरेर अगाडि बढाएपछि काम अगाडि बढ्छ । मसँग कसरी जाने भन्ने प्रष्ट रोडम्याप तयार छ ।

निर्वाचनमा सहमती हुने कत्तिको सम्भावना छ ?

निर्वाचनमा सहमती हुने सम्भावना नरहेको होइन । सहमती र सहकार्यको पक्षमा हामी छौं । हामी कसैको दुष्मन होइन । सहमती गर्दा पूर्वअध्यक्षलाई सम्मान तथा उहाँहरुको अनुभवलाई पनि लिएर जानुपर्छ । महासंघमा कसैलाई पूर्वाग्रह राखेर अगाडि बढ्न हुँदैन । यसरी गयो भने सहमती हुने सम्भावना छ ।

तपाईको टिम कहिले फाइनल हुन्छ ?

टिम फाइनल भइसकेको छ । एशोसियटतर्फको उपाध्यक्ष अहिलेसम्म फाइनल भएको छैन । तर, यसको लागि अझैपनि समय छ । हामी यसमा सल्लाह गरिरहेका छौं । अहिले एशोसियटमा उम्मेद्वारी दिनु भएका व्यक्ति राम्रो पनि हुनुहुन्छ । सबैमा जहाँ पनि चुनाव हुनपर्छ भन्ने हाम्रो मान्यता होइन ।

यो पनि पढ्नुहोस्
महासंघको नेतृत्वमा जाने गोल्छा परिवारको सपना नै होः शेखर गोल्छा


पुष्प दुलाल