हिमालय एयरलाइन्सको नयाँ एयरबस आउँदै, दुई नयाँ गन्तब्यको घोषणा



काठमाडौं। हिमालय एअरलाइन्सले यहि जनवरी महिना भित्र आफ्नो दोश्रो नयाँ एयरबस ३२०–२१४ को आगमनसँगै थप दुई नयाँ गन्तब्यहरुमा उडान सेवा सञ्चालन गर्ने भएको छ । एयरबससँग लामो समय सम्मको लागि ड्राइ लीजमा लिन लागेको थप नयाँ विमानको आगमनसँगै एयरलाइन्सले क्वाललाम्पुर, मलेशियासम्म माघ २८ गतेदेखि तथा याङगुन, म्यानमारसम्म फागुन १३ गतेदेखि उडान सेवा सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।

नाइन एन–एएलभी नेपाली रजिष्ट्रेसन नम्बर रहेको उक्त नयाँ एयरबस ३२०–२१४ विमानमा १५८ इकोनोमी क्लास सिट क्षमताको रहेको छ । एयरलाइन्स्ले आफ्नो कार्यकालको दोश्रो वर्षमा नै दोश्रो विमान थप्न लागेको हो भने २०१७ साल भित्र थप दुई विमान थप्ने योजना बनाएको छ । आफ्ना यात्रुहरुलाई आन्नददायी यात्राको अनुभव दिलाउनको लागि एयरलाइन्स्ले नयाँ विमानमा आरामदायी सीटहरु, नविनतम भिडियोका साथै संगीतद्धारा इन फ्लाइट इन्टरटेनमेन्ट दिने दाबी गरेको छ ।

योजनाका अनुसार एयरलाइन्स्ले हप्ताको पाँच दिन क्वालालम्पुर, मलेशिया र हप्ताको दुई  दिन  याङगुन, म्यानमार उडान सञ्चालन गर्ने छ ।  एयरलाइन्स्ले कार्निभल ट्राभल एसडीएन बिएचडी र माइ गोल्डेन लायन एभिएसन प्रा लिलाई क्रमशः मलेशिया र म्यानमारको लागि जेनरल सेल्स एजेन्ट छनौट गरेको छ ।

एयरलाइन्सले काठमाडौ ( क्वालालम्पूर ( काठमाडौको लागि शुरुवाती टिकटदर रु. २५,३७५/– (राउण्ड ट्रिप) र क्वालालम्पूर ( काठमाडौ( क्वालालम्पूरको लागि मलेशियन रिंगिट ९२८/– (राउण्ड ट्रिप) कायम गरेको छ । त्यसैगरी काठमाण्डौ ( याङगुन ( काठमाण्डौको लागी रु.२९,६००/– (राउण्ड ट्रिप) र याङगुन-काठमाण्डौ (याङगुनको लागी अमेरिकी डलर ३२० (राउण्ड ट्रिप) तोकेको छ । सो टिकटदरमा सरकारी कर लागु हुने जानकारी गराएको छ ।

कम्पनीका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले भने,’हामीे एयरलाइन्सको  दोश्रो नयाँ एयरबस ३२०–२१४ लाई स्वागत गर्न एकदमै उत्साहित छौँ । यसले नेपालको हवाई क्षेत्रको अन्तर्राष्ट्रिय सञ्जाललाई अझ सुध्रिड बनाउने छ । थप गन्तब्यहरुले हिमालय एयरलाइन्सको  एशियाका अन्य गन्तब्यहरुसँग नेपाललाई  जोड्दै पर्यटन र व्यापार प्रवर्धन गर्ने प्रतिबद्धता पनि प्रतिविम्बित गरेको छ ।’

एयरलाइन्सले केही समयपछि लामो दुरी उडान भर्ने ए३३० जहाज ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिकाको लागि उडान भर्ने योजना बनाएको जनाएको छ ।


क्लिकमान्डु