१५ करोड लगानीमा झापामा खुल्यो नयाँ ग्याँस उद्योग



झापा । १५ करोड रुपैयाँको लागतमा झापामा नयाँ ग्यास उद्योग सञ्चालनमा आएको छ । ऊर्जा सङ्कट भइरहेका बेला झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा अत्याधुनिक र सुविधासम्पन्न पाथीभरा ग्यास उद्योग सञ्चालनमा आएको हो ।

सरकारले ग्यासबाट चल्ने गाडी आयात गरे पनि ‘हाइ–वे’मा ग्यासको स्टेन्ड राखेर ग्यास उपलब्ध गराउन सक्ने गरी ग्यास उद्योग सञ्चालनमा ल्याइएको उद्योगका प्रबन्ध निर्देशक लय भण्डारीले बताए ।

५०० टन क्षमताको लक्ष्य राखेर उद्योग सञ्चालनमा ल्याइएको र शनिबारमात्रै ३५०० सिलिन्डर बजारमा पठाइसकेको अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

झापाका ऊर्जाशील व्यवसायीसँग सहकार्य गर्दै दुई बिगाहा क्षेत्रफलमा उद्योग सञ्चालनमा रहेको र उद्योगमा २५ जनाले प्रत्यक्ष रोजगार पाएको उनले जानकारी दिए ।

अत्याधुनिक प्लान्ट निर्माण गरेर ग्यास उत्पादन सुरु गरिएको बताइएको छ । ५० हजार सिलिन्डर एकसाथ बजारमा पठाइने र ग्यासको अभाव हुँदा पनि मेची अञ्चलवासीलाई सहजरुपमा ग्यास उपलब्ध गराउने प्रतिबद्धतासहित हामीले ग्यास उद्योग सञ्चालनमा ल्याएको उनको भनाई थियो ।

पाथीभरा ग्यास उद्योगसँगै झापामा ग्यास उद्योगको सङ्ख्या चार पुगेको छ । मेची, पराजुली, कनकाई यसअघि सञ्चालनमा आएका ग्यास उद्योग हुन् ।


पुष्प दुलाल