स्मार्टफोन प्रभावः चार वर्षमा ३० प्रतिशतले बढे इन्टरनेटका प्रयोगकर्ता



smartphone-1
काठमाडौं । स्मार्टफोनको लोकप्रियतासँगै इन्टरनेट चलाउनेहरुको संख्या पनि ह्वात्तै बढेको छ । पछिल्ला चार वर्षमा मात्रै ३० प्रतिशतले इन्टरनेटका प्रयोगकर्ता बढेको एक अध्ययनले देखाएको छ ।

मार्केटिङ कम्पनी जेनिथ मिडियाले विभिन्न ६० देशमा अध्ययन गरी हालै सार्वजनिक गरेको मोबाइल एडभरटाइजिङ फोरकास्ट रिपोर्ट अनुसार हाल विश्वका ७० प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुगेको छ । जबकी ४ वर्षअघि विश्वका ३० प्रतिशत जनताले मात्रै इन्टरनेट चलाउँथे ।

अध्ययन अनुसार इन्टरनेट प्रयोगकर्ताहरु मध्ये हाल ७१ प्रतिशतले स्मार्टफोनबाटै इन्टरनेट चलाउँछन् । सन् २०१७ को अन्त्यसम्ममा स्मार्टफोनबाट इन्टरनेट चलाउनेहरुको संख्या ७५ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

रिपोर्टअनुसार स्पेन स्मार्टफोनमा सबैभन्दा धेरै इन्टरनेट चलाउने देशमा परेको छ । स्पेनका कुल इन्टरनेट प्रयोगकर्ताहरुमध्ये ८५ प्रतिशतले स्मार्टफोनबाटै इन्टरनेट चलाउँछन् ।

स्मार्टफोनबाटै सबैभन्दा बढी इन्टरनेट चलाउने देशहरुको सूचीमा हङकङ दोस्रो स्थानमा परेको छ । तेस्रोमा चीन र चौथोमा अमेरिका परेको छ भने इटाली र भारत पाचौँ स्थानमा छन् ।

अध्ययनन अनुसार सन् २०१८ सम्ममा अध्ययन गरिएका ६० वटा देशमा ६३ प्रतिशत जनताको हातमा मोबाइल फोन पुग्ने बताइएको छ ।


पुष्प दुलाल