फेसबुक म्यासेन्जरको फोटो म्याजिक



Facebook-Photo-Magic
फेसबुकले आफ्नो म्यासेन्जर एपमा नयाँ फिचर ‘फोटो म्याजिक’ ल्याएको छ । यसबाट फोटो सेयरिङ धेरै सजिलो हुने बताइएको छ । फोटो म्याजिक अनुहार पहिचान गर्ने खालको फिचर हो । यसले प्रयोगकर्ताको डिभाइसमा क्यामरा रोलसम्म पुगेर साथीहरुको फोटो पहिचान गर्छ । यसपछि ती फोटाहरु साथीहरुसँग सेयर गर्ने कि नगर्ने भनेर प्रयोगकर्तालाई सोध्छ ।

यो फिचरले सबै फोटाहरुलाई स्क्यान गरेर पहिचान गरेपछि प्रयोगकर्तालाई एक नोटिफिकेसन दिन्छ जसमा ‘सेन्ड’ बटन हुन्छ । यदि प्रयोगकर्ताले फोटो पठाउन चाहेमा सेन्ड बटनमा थिचेर फोटो पठाउन सक्छन् । यसका लागि म्यासेजिङ एप खोल्न पनि जरुरी छैन । यदि कुनै फोटोमा एकभन्दा बढी साथीहरु छन् भने फोटो म्याजिकले फेसबुक म्यासेन्जरमा फोटो सेयर गर्नुका साथै एक नयाँ म्यासेज थ्रेड बनाइदिन्छ ।

यदि प्रयोगकर्ताले सिधै नोटिफिकेसनबाट फोटाहरु पठाउन नचाहेमा उनीहरुले एप खोलेर म्यासेजको प्रिभ्यू हेर्न सक्छन् । प्रयोगकर्ताले यसमा फोटोको साथै कस्टम म्यासेज पनि पठाउन सक्छन् । फोटो म्याजिकलाई फेसबुक म्यासेन्जर र मोमेन्ट्स टोलीले मिलेर बनाएको बताइएको हो । यो नयाँ फिचरलाई फेसबुक म्यासेन्जरको सेटिङमा गएर बन्द गर्न पनि सकिन्छ ।


क्लिकमान्डु