दैनिक ९ करोड ४० लाख सेल्फी क्लिक, सेल्फीले बढायो मोबाइल क्यामेराको क्षमता !



सेल्फीको बढ्दो क्रेजसँगै विभिन्न कम्पनीका स्मार्ट फोनले अन्य फिचरको तुलनामा सेल्फीलाई बढी महत्व दिन थालेका छन् । सुरुका दिनमा फन्ट क्यामेरालाई त्यति बढी ध्यान नदिएका स्मार्ट फोन कम्पनीले आफ्नो पछिल्लो उत्पादनहरुमा फन्ट क्यामेरालाई निकै महत्व दिन थालेका छन् । त्यसैले पनि बजारमा शक्तिशाली फन्ट क्यामेराको स्मार्ट फोनको प्रतिस्पर्धा चलेको छ ।

पाँच मेगापिक्सेलको फन्ट क्यामेरा स्मार्ट फोनका लागि औसत दर्जाको विषय बनिसकेको छ । बजारमा १३ देखि १६ मेगापिक्सेलका फन्ट क्यामेरा भएका स्मार्ट फोन आइरहेका छन् ।

चीनको मोबाइल फोन निर्माता कम्पनी ओप्पोले नयाँ स्मार्टफोन हालै बजारमा ल्याएको छ, जसको फन्ट क्यामेर १६ मेगापिक्सेल क्षमताको छ । सेल्फीका सौखिनमाझ यसले लोकप्रियता हासिल गर्ने कम्पनीको दाबी छ ।

ताइवानको स्मार्ट फोन कम्पनी आसुसले पनि नयाँ स्मार्ट फोन ल्याएको छ । ‘जेनफोन सेल्फी’ नामबाट बजारमा ल्याएको उक्त स्मार्ट फोनमा १३ मेगापिक्सेल क्यामेरा छ ।

चीन कै स्मार्ट फोन निर्माता कम्पनी शाओमीले बहुप्रतिक्षित स्मार्ट फोन ‘रेडमी नोट प्रो’ मा तीनवटा क्यामेरा राखेको छ । यसले सेल्फीका लागि ‘वाइड एंगल’ क्यामेरा समेत राखेको छ ।

एक तथ्यांकअनुसार विश्वमा ९ करोड ४० लाख सेल्फी प्रतिदिन क्लिक हुन्छन् । त्यसैले पनि मोबाइल फोन उत्पादकहरु अन्य फिचरको तुलनामा क्यामेरालाई नै बढी ध्यान दिन थालेका छन् ।

सोसल मिडियामा सहज पहुँच भएकाले सेल्फी पोष्ट गर्नेहरुको संख्या उल्लेख्य छ ।
सुरुमा फन्ट क्यामेरालाई खासै प्राथमिकता नदिएका मोबाइल फोन कम्पनीले पनि अहिले आफूलाई परिमार्जन गर्दै फन्ट क्यामेराको गुणस्तरलाई बढाउन ठूलो लगानी गरिरहेका छन् ।


क्लिकमान्डु