नक्कली बिल बढेपछि सरकारले अपरेशन थालेको होः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नक्कली बिल बनाउने क्रम बढेपछि सरकारले वित्तीय कारोबारमा अपरेशन गर्ने तयारी गरेको बताएका छन् ।

लेखा परिक्षकहरुको नियमनकारी निकाय नेपाल चाटर्ड एकाउन्टेन्स संस्था (आइक्यान)को नवनिर्वाचित कार्यसमितिको सपथ तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडा लेखापरिक्षणको प्रक्रियामाथि प्रश्न उठाएका छन् ।

‘तपाईहरुले खर्चको बिल आएको आधारमा लेखापरिक्षण गर्नुहुन्छ, अहिले त्यस्ता बिलहरु नक्कली भेटिएका छन्, यसलाई रोक्न सरकारले अपरेशन गरेको छ,’ खतिवडाले भने ।

आइक्यानले उत्कृष्ट लेखापरिक्षण प्रतिवेदन भनेर पुरस्कृत गरेका संस्थाले कम्तीमा ५ वर्ष प्रश्न गर्न नपर्ने गरेर काम गर्नुपर्ने अर्थमन्त्री खतिवडाले बताए ।

पछिल्लो समय नक्कली भ्याट बिल प्रयोग गरेका व्यवसायीलाई राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ भने थप अनुसन्धान समेत गरिरहेको छ ।

‘वित्तीय कारोबारमा धेरै खाले समस्या भएपछि अहिले सुधारको प्रक्रिया सुरु गरिएको हो, भिसिटिए, प्यान र भ्याट नलागेका क्षेत्रमा लगाउने काम सुरु गरेका छौ,’ खतिवडाले थपे ।

उनले लेखापरिक्षकलाई सम्पूर्ण जाँच गरेर मात्र वित्तीय प्रतिवेदन दिनको लागि सुझाव दिए ।

‘बिरामीलाई चेकजाँच नगरीकन औषधी दिएर हुँदैन, कतिपयलाई एमआरई समेत गर्नुपर्छ,यस्तै तरिकाले लेखापरिक्षणको काम गर्नुपर्यो,’ खतिवडाले भने ।

उनले आइक्यानलाई नियमनकारी निकायको रुपमा बढी काम गर्न सुझाव दिए । उदारिकरण भनेको नियन्त्रणबाट नियमन गर्ने व्यवस्था भएको भन्दै नियमन जति हुनसक्यो त्यी स्वच्छ व्यवसाय विस्तार हुने धारणा राखे ।

‘म आफु तपार्इंहरुको कार्यक्रममा आएको १० वर्ष भइसक्यो भन्ने कुराहरु उस्तै हुन्, सूचना प्रविधिको क्षेत्रमा नयाँ कुरा आएको छ, त्यसमा अपडेट हुनुपर्यो,’ खतिवडाले भने ।

उनले अडिडरले अडिडरले इमान्दारितासँग काम गनुपर्ने र पेशागत मर्यादा कायम राख्नुपर्ने बताए ।

आइक्यानले अन्य नियनकारी निकायजस्तै मागेको कर छुटको विषयमा भने बसेर छलफल गर्न सकिने बताए ।

‘राष्ट्र बैंकले कर छुट पाउछ, यसको लागि कानूनी व्यवस्था छ, सदस्यतामा आधारित रहेको आइक्यान नियमनकारी निकाय नभएमा अर्को संस्था हुन्छ,’ उनले भने ।

आइक्यानले उत्कृष्ट लेखापरिक्षण प्रतिवेदन भनेर पुरस्कृत गरेका संस्थाले कम्तीमा ५ वर्ष प्रश्न गर्न नपर्ने गरेर काम गर्नुपर्ने अर्थमन्त्री खतिवडाले बताए ।


पुष्प दुलाल