काठमाडौं । बीमा समितिले एनआइसी एशिया बैंकलाई नेपाल लाइफ इन्स्योरेनस कम्पनीको सेयर किन्न रोकेको छ ।
दुबै संस्थामा एकै समूहको लगानी भएको भन्दै सेयर किनबेच गर्दा ‘कन्फ्लिट अफ इन्ट्रेस्ट’ देखिने भन्दै बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले एनआइसी एशियालाई नेपाल लाइफको सेयर किन्न रोक लगाएको हो ।
एनआइसी एशिया बैंकको सञ्चालक समितिले नेपाल लाइफ इन्स्योरेन्सको ७७ हजाार ३ सय कित्ता प्रोमोटर सेयर किन्ने निर्णय गरेको थियो । करिब महिनादिन अघि एनआइसी एशियाको सञ्चालक समितिले यस्तो निर्णय गरेको थियो ।
एनआइसी एशियाको सञ्चालक समितिले यस्तो निर्णय गरेर नेपाल लाइफको सेयर किन्न प्रस्ताब गरेपछि नेपाल लाइफले एनआइसी एशिया बैंकलाई सेयर किन्न दिन मिल्छ कि मिल्दैन ? भनेर बीमा समितिलाई पत्र पठाएको थियो ।
बीमा समितिले चैत ११ गते सोमबार नेपाल लाइफ इन्स्योरेन्सलाई पत्र पठाउँदै एकाघरको लगानी भएकाले एनआइसी एशियालाई सेयर किन्न नदिनू भन्ने निर्देशन दिएको हो ।
‘दुबै संस्थामा एकै समूहको लगानी देखिएकाले एकले अर्काको सेयर किन्दा ‘कन्फ्लिट अफ इन्ट्रेस्ट’ हुने भएकाले हामीले नेपाल लाईफलाई एनआइसी एशियालाई सेयर किन्न नदिनू भन्ने पत्र पठाएका छौं,’ बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले क्लिकमाण्डूसँग भने ।
एनआइसी एशिया र नेपाल लाइफ इयन्स्योरेन्का प्रोमोटरधनी एउटै घरका सदस्य छन् । नेपाल लाइफ र एनआईसी एशियामा बिशाल ग्रुप,त्रिवेणी ग्रुप(सांघाई) र लक्की ग्रुपको लगानी छ ।
‘हाम्रा प्रोमोटरहरुको एनआइसी एशिया बैंकमा १ प्रतिशतभन्दा बढी लगानी छ भने एनआइसी एशिया बैंकका प्रोमोटरहरुको पनि नेपाल लाइफलमा १ प्रतिशत भन्दा बढी लगानी छ,’ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका एक अधिकारीले क्लिकमाण्डूसँग भने ।
बैंकले बीमा कम्पनीको सेयर किन्न मिल्ने बाफियामा भएको व्यवस्था अनुसार नै एनआइसी एशिया बैंकले नेपाल लाइफ इन्स्योरेन्सको सेयर किन्ने निर्णय गरेको एनआइसी एशिया बैंकका सूचना अधिकारी अर्जुनराज खनियाँले क्लिकमाण्डूलाई बताए ।







प्रतिक्रिया