ललितपुर महानगरको सडकमा अब स्मार्ट बत्ती
ललितपुर । ललितपुर महानगरपालिकाले महानगरका सडक क्षेत्रमा स्मार्ट बत्ती जडान गर्ने भएको छ । त्यसका लागि बोलपत्र आह्वान गर्ने अन्तिम तयारी भएको महानगरले जनाएको छ ।
सकेसम्म यसै साता भित्रमा नै स्मार्ट बत्ती जडानका लागि विद्युत प्राधिकरण मार्फत बोलपत्र आह्वान गर्ने तयारी गरेको महानगरका प्रवक्ता राजु महर्जनले बताए । उनका अनुसार पहिलो चरण अन्र्तगत पाँचवटा सडकमा स्मार्ट बत्ती जडान गर्ने तयारी रहेको छ ।
पहिलो चरणमा कुपन्डोल-लगनखेल, पूल्चोक-ग्वार्को, कुपन्डोल-पाँचढुङ्गा-मंगलबजार, सातदोबाटो-धापाखेल, एकान्तकुना-खोकना तथा बुङमतीसहितका सडकमा स्मार्ट बत्ती राख्न लागेको महर्जनको भनाई छ । महानगरले नेपाल विधुत प्राधिकरणसँगको सहकार्यमा स्मार्ट बत्ती राख्न लागेको प्रवक्ता महर्जनले क्लिकमाण्डुलाई बताए ।
‘महानगरले प्राधिकरणका साथै निजी क्षेत्रसँगको सहकार्यमा सडक किनारामा स्मार्ट बत्ती राख्न लागेको हो, यसको प्राविधिक पक्षको सम्पूर्ण जिम्मेवारी प्राधिकरण मातहत रहेने छ,’ उनले भने ।
महानगरले यसका लागि ५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको जनाएको छ । महानगरले स्मार्ट बत्ती जडान भने चालु आर्थिक वर्ष भित्रमा सम्पन्न गर्ने योजना रहेको जनाएको छ । चाँडो भन्दा चाँडो सबै सडक उज्यालो होस भन्ने जनचाहना अनुसार महानगरले स्मार्ट बत्ती राख्ने कामलाई तिब्रता दिएको महर्जनले बताए ।
महानगरले स्मार्ट बत्ती राख्नका लागि थप बिजुलीको खम्बा समेत राख्ने जनाएको छ । यसका लागि पहिला भएको बिजुलीको खम्बा पर्याप्त नहुदाँ थप गर्नु परेको प्रवक्ता महर्जनले बताए । एकवर्ष भित्र महानगरले सम्पूर्ण क्षेत्रमा स्मार्ट बत्ती राख्ने योजना रहेको महर्जनको भनाई छ ।