विद्युत प्राधिकरणको ज्यादति विरुद्ध उद्योग वाणिज्य महासंघ, सेवा नै नदिइ विल काट्ने ?



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ज्यादति विरुद्ध नेपाल उद्योग वाणिज्य महासंघले मुख खोलेको छ । डेडिकेटेड लाइन नै नलिएका उद्योगलाई डेडिकेटेडको भुक्तानी गर्न नेपाल विद्युत् प्राधिकरणले पत्र काटेको थियो ।

प्रधिकरणबाट विद्युत सङ्कलन विनियमावली २०७३ अनुसार विभिन्न उद्योगी व्यवसायीलाई गरिएको पत्राचार र जारी गरिएको विलबाट उद्योग व्यवसाय सञ्चालनमा ठूलो समस्या पर्न गएको भन्दै महासंघले तत्काल यस्तो कार्य रोक्न सरकारलाई आग्रह गरेको छ ।

उक्त विनियमावली अनुसार २० घण्टा वा सो भन्दा बढी समय ट्रङ्क प्रसारणबाट डेडिकेटेड सरहको प्रसारण सुविधा लिनका लागि छुट्टै सम्झौता गर्नुपर्ने व्यवस्था छ । तर, सम्झौताविना विद्युत सेवा प्रवाह नै नगरी प्राधिकरणले एकै प्रकृतिको विद्युत सेवा लिनेहरूलाई फरकफरक दरमा महशुल असुल गर्न विल काटेको थियो ।

‘उद्योगी व्यवसायीको संविधानप्रदत्त हक समेत हनन हुन जाने भएकाले अविलम्व थप विलिङ नगर्न÷नगराउन र बिल जारी भइसकेको भए कार्यान्वयन नगराउन’ महासंघले माग गरेको छ ।

माग कार्यान्वयन नगरे उद्योगहरु बन्द गर्न बाध्य हुने र परिणामस्वरूप मुलुकलाई ठूलो आर्थिक क्षति व्यहोर्नु पर्ने अवस्था उत्पन्न हुने महासंघको भनाई छ ।


पुष्प दुलाल