सेयर बजारमा चलखेल गर्न अर्थमन्त्री हटाइँदैछ भन्ने हल्ला



काठमाडौं । फागुन ७ गते मंगलबार दिउँसो साढे १२ बजे ब्रोकर कार्यालयमा सेयर कारोबारको लाइभ हेरेर बसिरहेका एक लगानीकर्ताको मोवाइलमा घन्टी बज्यो ।

फोन उठाउनासाथ उताबाट प्रश्न सोधियो- ‘अर्थमन्त्रीले राजिनामा दिँदैछन् रे नि ?’

ती लगानीकर्ताले जवाफ दिए- हिँजोदेखि मैले पनि त्यस्तै हल्ला सुन्दैछु ।

‘बालुवाटारको विश्वस्त स्रोतले भनेको प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाउँदैछन् रे,’ उताबाट ब्रिफिङ भयो, ‘पुँजी बजार विरोधी अर्थमन्त्री हट्ने वित्तिकै बजार २०० अंकले बढ्छ ।’

‘हो त, बजार बिगार्ने यी नै अर्थमन्त्री हुन्, यस्तालाई हटाउनै पर्छ,’ ती लगानीकर्ताले भने ।

अर्थमन्त्री हट्दैछन् भनेर अर्को मान्छेले सुनाएपछि ती लगानीकर्ताको आत्मविश्वास झन बढ्यो । र, तत्कालै ब्रोकरलाई सेयर किन्न आदेश दिए ।

सोही दिन साढे १ बजे एक ब्रोकरलाई लगानीकर्ताको फोन आयो, ‘अहिले सेयर किनूँ कि नाकिनूँ हजुर, अब बजार कता जाला हजुरले सुझाब दिनुपर्यो ।’

ती ब्रोकरले जवाफ दिए- ‘अर्थमन्त्रीले राजिनामा दिँदैछन् भन्ने कुरा आएको छ, राजिनामा दिएभने त सूचक १/२ सय अंकले बढिहाल्छ, सर्ट टर्ममा खेलेर कमाउन सक्ने उपयुक्त समय हो, किन्दा हुन्छ ।’

त्यसपछि ती लगानीकर्ताले ब्रोकरलाई सेयर किन्न आदेश दिए ।

फागुन ७ गते मंगलबार नेप्से सूचक २२ अंकले बढ्यो । कारण अरु केही होइन, अर्थमन्त्रीको राजिनामाको हल्लाले । तैपनि त्यसपछि भने बजार बढ्न सकेको छैन ।

माथिको उदाहारण त प्रतिनिधि घटना मात्रै हुन् ।

ठ्याक्कै एक हप्ता भयो- बजारभरी अर्थमन्त्री डा. युवराख खतिवडालाई हटाइँदैछ भन्ने हल्ला ब्यापक छ । विदेशी लगानी खोज्न अर्थमन्त्री बेलायततिर गएका बेला नेपालमा भने उनलाई हटाइँदैछ भन्ने हल्लाले बजार पिटेको हो ।

अर्थमन्त्री डा. खतिवडाले ‘राजिनामा दिन्छु’ भनेपछि रोकियो पुरक बजेटको चर्चा

तर, अहिलेको हल्ला भने बालुवाटारबाटै चलेको छ । प्रधानमन्त्री केपी ओलीको किचन क्याविनेटबाटै यस्तो हल्ला चलेपछि धेरैले अर्थमन्त्री हट्दैछन् भन्ने अनुमान गरेका छन् ।

त्यसो त नेकपाभित्रै राजनीतिक व्यक्तिलाई अर्थमन्त्री नबनाएर गल्ती गरियो भन्नेहरु प्रसस्तै छन् । प्रधानमन्त्री ओलीलाई ठूलै नेताहरुको दबाब पनि छ ।

तत्कालीन एमाले महासचिब इश्वर पोखरेल र सचिव विष्णु पौडेलले अर्थमन्त्री हुने इच्छा राख्दाराख्दै प्रधानमन्त्री ओलीले योजना आयोगका पूर्वउपाध्यक्ष र राष्ट्र बैंकका पूर्वगभर्नर समेत रहेका खतिवडालाई २०७४ फागुन १४ गते अर्थमन्त्री बनाएका थिए ।

खतिवडाले अर्थतन्त्र राम्रोसँग बुझेकाले उनलाई अर्थमन्त्री बनाउँदा आफ्नो सम्मृद्धिको सपना सजिलै साकार पार्न सकिने प्रधानमन्त्री ओलीको बुझाइ थियो ।

सेयर बजारप्रति अर्थमन्त्रीको नकरात्मक अभिव्यक्तिले बजारमा ठूलो असर गर्यो । एक वर्षको अवधिमा लगानीकर्ताहरुले १० खर्ब गुमाए ।

खतिवडाले अर्थमन्त्रीका रुपमा २०७५ जेठ १५ गते चालू आर्थिक वर्ष अर्थात् २०७५/७६ को बजेट ल्याएका थिए । बजेट नेकपाले चुनाबमा घोषणा गरेजस्तो वृद्धभत्ता ५ हजार पुर्याउने थिएन । त्यस्तै, बजेटले कर्मचारीको तलब पनि बढाएन । कर्मचारी पनि अर्थमन्त्रीप्रति रिसले चुर भए ।

सांसद विकास कोषका नाममा जाने बजेट पनि अर्थमन्त्रीले घटाइदिएका थिए । जसकारण समंसदहरु पनि अर्थमन्त्रीप्रति रिसले चुर भए ।

निजी क्षेत्रका उद्योगी व्यवसायीहरु पनि अर्थमन्त्रीप्रति सन्तुष्ट छैनन् । किनभने अर्थमन्त्री खतिवडासँग अरुका कुरा सुन्ने बानी र धैयर्ता छैन । यसअघि अर्थमन्त्रीसँग आफ्ना व्यक्तिगत र संस्थागत दुबै गुनासा र माग राख्दै आएका उद्योगी व्यवसायीहरु खतिवडाप्रति रुष्ट बने ।

अर्थमन्त्रीलाई क्रश गर्दै उद्योगी व्यवसायीहरु सीधै प्रधानमन्त्रीकहाँ पुग्न थाले ।

गत भदौ तेस्रो साता चिनी उद्योगीले प्रधानमन्त्री ओलीलाई भेटेर चिनीको भन्सार महसुल बृद्धि गर्न र चिनी आयातमा परिमाणात्मक बन्देज लगाइदिन आग्रह माग गरे । उद्योगीको माग अनुसार सरकारले असोजदेखि नै चिनीमा बार्षिक १ लाख टन मात्रै आयात गर्न पाउने र भन्सार दर साविकको १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत बनाउने निर्णय गर्यो ।

यो सत्य हो कि-केही राजनीतिक व्यक्ति र केही गैरराजनीकि व्यक्तिहरुले नेकपा र प्रधानमन्त्रीलाई अर्थमन्त्री हटाउन लबिङ चाहीँ गरिरहेका छन् ।

त्यसैगरी, बैंकको ब्याजदर महंगो भएको भन्दै गत माघ १३ गते बिराटनगरका उद्योगी व्यवसायीले सडक आन्दोलन गरे । यसबीचमा उनीहरुले अर्थमन्त्रीलाई पनि भेटे । तर, अर्थमन्त्रीले आफूहरुको कुरा नसुनेको भन्दै फागुन ४ गते प्रधानमन्त्रीलाई नै भेटे ।

उद्योगीकै अगाडि अर्थमन्त्री र गभर्नरलाई प्रधानमन्त्री ओलीले बैंकको ब्याजदर घटाउन निर्देशन दिए । त्यसको ३ दिनपछि अर्थमन्त्रीले अर्थ मन्त्रालयमा सरोकारवालाहरु बोलाएर छलफल गरे ।

छलफलमा अर्थमन्त्री खतिवडाले उद्योगी व्यवसायीहरुको सातो लिए ।

‘बैंकको ब्याजदर तोक्ने हो भने तपाईहरुले बेच्ने सामानको भाउ पनि तोक्नुपर्छ,’ अर्थमन्त्रीले छलफलमा भनेका थिए, ‘तपाईंहरु आफ्ना माग लिएर राष्ट्र बैंक, अर्थ मन्त्रालय हुँदै त्यहाँबाट समाधान नभएपछि मात्रै प्रधानमन्त्रीसम्म पुग्नुपर्थ्यो । तर, तपाईंहरु उल्टोबाट हिँड्नुभयो । पहिला प्रधानमन्त्रीकहाँ जानु भयो ।’

अर्थ मन्त्रीको यो अभिव्यक्तिले उद्योगी/व्यवसायीहरुलाई झन रुष्ट बनायो ।

वास्तवमै भन्ने हो भने अर्थमन्त्री भएर खतिवडाले त्यस्तो बिगार त केही पनि गरेका छैनन् । तर, उनलाई मन नपराउनेहरुको संख्या भने दिनानूदिन बढिरहेको छ । त्यसको एकमात्र कारण हो उनको रुखो स्वभाव ।

आफ्ना निकटहरुसँग अर्थमन्त्रीले भन्ने गरेका छन्- ‘धेरै गर्न सकिन्छ जस्तो लागेको थियो । तर सोचेजस्तो हुँदो रहेनछ । म त आर्थिक सुधारका लागि प्रधानमन्त्रीलाई सहयोग गर्न आएको हूँ । अरु स्वार्थ्य छैन । उहाँले भनुन्जेल सहयोग गर्छु । यहाँबाट बाहिरिएपछि राजनीति गर्ने होइन, वर्ल्ड बैंक, आइएमएफ जस्ता संस्थामा राम्र पोजिन पाउँछु ।’

अर्को एउटा उदाहारण हेरौं ।

अर्थमन्त्री हुनेवित्तिकै खतिवडाले सेयर बजारबारे नकरात्मक टिप्पणी गर्दै हिँडे । लगानीकर्ताहरु आफ्ना माग लिएर अर्थ मन्त्रालय पुग्दै खतिवडाले उल्टै झपारेर पठाए ।

सेयर बजारप्रति अर्थमन्त्रीको नकरात्मक अभिव्यक्तिले बजारमा ठूलो असर गर्यो । एक वर्षको अवधिमा लगानीकर्ताहरुले १० खर्ब गुमाए । पोहोर यसबेला बजार पुँजीकरण २३ खर्ब थियो । अहिले घटेर १३ खर्बमा झरेको छ ।

बजार झर्नु स्वभाविक भएपनि अर्थमन्त्रीले नै नकरात्मक अभिव्यक्ति दिएपछि लगानीकर्ताहरुलाई उनकै कारणले बजार घटेको भन्ने लागेको छ ।

त्यसैले केही लगानीकर्ताहरुले त अर्थमन्त्रीको राजिनामा माग गर्दै अनसन समेत बसे ।

अर्थमन्त्रीको राजिनामाको हल्ला अहिले मात्रै चलेको होइन । यसअघि पनि चलेको हो । पार्टीभित्र पुरक बजेटको चर्चा चलेपछि गत भदौमा अर्थमन्त्रीले प्रधानमन्त्रीलाई पुरक बजेट ल्याउने हो भने म पदमा बसिरहनुको कुनै औचित्य छैन भनेका थिए ।

तर, प्रधानमन्त्रीले ओलीको विश्वास जित्न सफल अर्थमन्त्रीलाई ओलीले चुपचाप सुधारका काम गरेर देखाउन निर्देशन दिएका थिए ।

त्यसो त यो एक वर्षको अवधिमा अर्थमन्त्री आफैंपनि फ्रस्टेसनमा परेका छन् ।

आफ्ना निकटहरुसँग अर्थमन्त्रीले भन्ने गरेका छन्- ‘धेरै गर्न सकिन्छ जस्तो लागेको थियो । तर सोचेजस्तो हुँदो रहेनछ । म त आर्थिक सुधारका लागि प्रधानमन्त्रीलाई सहयोग गर्न आएको हूँ । अरु स्वार्थ्य छैन । उहाँले भनुन्जेल सहयोग गर्छु । यहाँबाट बाहिरिएपछि राजनीति गर्ने होइन, वर्ल्ड बैंक, आइएमएफ जस्ता संस्थामा राम्र पोजिन पाउँछु ।’

अर्थमन्त्री हुनेवित्तिकै श्वेतपत्र निकालेर अर्थतन्त्र बर्बाद भएको तथ्यांक सार्वजानिक गरेपछि खतिवडालाई समस्या परेको हो ।

बर्बाद भएको अर्थतन्त्रलाई जिरोबाट आफूले उठाएको जस लिनका लागि अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका खराब पिक्चरलाई समाबेस गरेर श्वेतपत्र निकाले । तर, परिणाम उनले सोचेभन्दा उल्टो भइदियो ।

सरकारले नै देशको अर्थतन्त्र टाट पल्टिन लागेको भनेर श्वेतपत्र निकालेपछि स्वदेशी तथा विदेशी लगानीकर्ताहरु हच्किए । उनीहरुले लगानी बढाएनन् । आम नागरिकहरु पनि हच्किए । जसको नकरात्मक प्रभाव दिनानूदिन अर्थतन्त्रमा पर्दै गयो ।

स्थिर सरकार र बुझेको अर्थमन्त्री हुँदा पनि बैदेशिक थता स्वदेशी लगानी बढ्न नसक्नु, ब्यापारघाटा चुलिनु, देशको भुक्तानी सन्तुलन झनभन्दा झन बढी ऋणात्मक हुनु, अर्थतन्त्रको ऐमा मानिने सेयर बजार लगातार घट्नु त्यसका उदाहारण हुन् ।

त्यो बेला अर्थमन्त्रीले नकरात्मक नभइ सकरात्मक भावना जागृत गराएका भए । सायद आज यस्तो स्थिति आउँदैनथियो होला । उनलाई पनि अरुले नकरात्मकरुपमा हेर्ने थिएनन् होला ।

अर्थमन्त्रीमा नियुक्ति हुँदा आमसञ्चार माध्यमहरुले पनि आशा जगाउने समाचारहरु लेखेका थिए ।

तर, उनले त्यो आशा पूरा गर्न सकेनन् । मिडियाबाट आलोचना शुरु भयो । तर, अर्थमन्त्रीले मैले कमी कमजोरी पो गरेँ कि भनेर सोच्नुको सटा उल्टो मिडिया र पत्रकारका बारे नकरात्मक टिप्पणी गर्दै गए ।

सही तरिकाले मिडिया म्यानेज गर्न उनी असफल देखिए ।

त्यसैले अहिले अर्थमन्त्री खतिवडाप्रति उद्योगी, व्यवसायी, सेयर लगानीकर्ता, ब्यापारी, मिडिया र नेकपाभित्रकै ठूलो जमात नकरात्मक छ ।

अर्थमन्त्रीको राजिनामा भन्दै नियोजितरुपमा हल्ला चलाइएको उनका स्वकीय सचिव तुलसीराम मैनाली दाबी गर्छन् ।

‘मन्त्री पद स्थायी होइन, कुरो मिलेन भने जुनसुकै मन्त्रीले जुनसुकै दिन राजिनामा दिन सक्छन्,’ मैनालीले क्लिकमाण्डूसँग भने, ‘तर अहिले एउटा स्वार्थी समूहले हुँदै नभएको राजिनामाको हल्ला चलाएको छ । यसप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ ।’

यस्तो निराधार हल्लाका पछि नलाग्न उनले सबैलाई अपिल गरे ।

‘स्वार्थ समूहको हल्लाका पछि नलाग्न म सबैलाई अपिल गर्छु,’ मैनालीले भने ।

यो सत्य हो कि-केही राजनीतिक व्यक्ति र केही गैरराजनीकि व्यक्तिहरुले नेकपा र प्रधानमन्त्रीलाई अर्थमन्त्री हटाउन लबिङ चाहीँ गरिरहेका छन् ।

अर्थमन्त्री हटाउने वा नहटाउने भन्ने प्रधानमन्त्रीको हातमा छ । ओलीले जे चाहन्छन्, त्यही हुन्छ ।


पुष्प दुलाल