अर्थमन्त्री डा. खतिवडाले ‘राजिनामा दिन्छु’ भनेपछि रोकियो पुरक बजेटको चर्चा



काठमाडौं । साउन दोस्रो साता नेकपाका अध्यक्षसमेत रहेका प्रधानममन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पूरक बजेट ल्याएर जनताका आकांक्षा पूरा गर्नेबारे छलफल गरे ।

अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षका लागि बजेट ल्याएको दुई महिना मात्रै भएको थियो । अर्थमन्त्रीले ल्याएको बजेट कार्यान्वयनमा गएको २ हप्तामात्रै भएको थियो ।

एकातिर बजेटमार्फत् सरकारले कर बढाएको भन्दै सरकारको आलोचना भइरहेको थियो । अर्कातिर वाम गठबन्धनको चुनाबी घोषणापत्रमा वृद्धभत्ता ५ हजार रुपैयाँ पुर्याउने उल्लेख गरेकाे तर बजेटले त्यसलाई सम्बोधन नगरेको भन्दै संसद र नेकपाभित्रै पनि कुरा उठिरहेको थियो ।

अर्थमन्त्रीले ल्याएको बजेटले राजनीतिकरुपमा जनताका माग सम्बोधन नगरेको भन्दै तत्कालीन एमालेका ठूलै नेताहरुले पनि प्रधानमन्त्रीको कान फुकिरहेका थिए ।

त्यसो त प्रधानमन्त्री ओलीले नै चुनाबी सभाहरुमा बाम गठबन्धनले सरकार बनाउने गरी जनमत पाए वृद्धभत्ता ५ हजार पुर्याउने भन्दै भोट मागेका थिए ।

प्रचण्डले भने-प्रधानमन्त्रीजीले नै मलाई वृद्धभत्ता लगायतका सामाजिक सुरक्षाका विषयमा जनताका आकांक्ष पूरा गर्न पूरक बजेट ल्याउनुपर्ला कि भन्नुभएको थियो, मैले हुन्छ भनेँ र, सार्वजानिक अभिव्यक्ति पनि दिएँ, अहिले प्रधानमन्त्रीजीले नै पूरक बजेट ल्याउनु हुँदैन भन्नु भएको छ ।

चारैतिर वृद्धभत्ता लगायतका सामाजिक सुरक्षामा सरकारले प्रतिवद्धता अनुसार काम नगरेको भनेर आलोचना भएपछि प्रधानमन्त्री ओलीले पूरक बजेट ल्याएर भएपनि जनताको आकांक्षा सम्बोधन गर्नुपर्ने विषयमा छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीको पूरक बजेट ल्याउनुपर्ने सोचमा पार्टी अध्यक्ष प्रचण्ड पनि सहमत भए ।

भारत भ्रमणका क्रममा गत भदौ २४ गते प्रचण्डले वृद्धभत्ता लगायतका विषयमा जनताका आकांक्षा सम्बोधन गर्न पूरक बजेट ल्याउने गृहकार्य भइरहेको जानकारी गराए । प्रचण्डको उक्त अभिव्यक्तिले आमसञ्चार माध्यममा राम्रो स्थान पायो ।

‘सामाजिक सुरक्षा भत्तालगायतका विषयमा आम नागरिकको तर्फबाट प्राप्त भएको सुझाव र सल्लाहलाई आत्मसात् गर्दै पूरक बजेट ल्याउने विषयमा सामान्य चर्चा परिचर्चा भएको छ,’ भारत भ्रमणबाट फर्केर त्रिभुन अन्तर्राष्ट्रिय बिनानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भनेका थिए, ‘विशेषगरी वृद्धभत्ताका विषयमा सम्बोधन गर्न सरकारले त्यस्तो व्यवस्था गर्न सक्छ, त्यो सरकारको राजनीतिक र संवैधानिक अधिकार हो ।’

मिडियामार्फत् पार्टी अध्यक्ष प्रचण्डको यस्तो अभिव्यक्ति सुनेर चकित भएका अर्थमन्त्री खतिवडा तत्कालै प्रधानमन्त्रीलाई भेट्न गए ।
खतिवडाले बजेट कार्यान्वयनमा गएको दुई महिना नवित्दै पूरक बजेटको चर्चा आउनु सरकारका लागि घातक भएको भन्दै प्रधानमन्त्रीलाई कन्भिन्स गर्न खोजे ।

‘बजेट कार्यान्वयनमा आएको दुई महिना नबित्दै पूरक बजेट ल्याउने चर्चा भएपछि अर्थमन्त्रीको औचित्य समाप्त हुन्छ, अर्थमन्त्रीको मात्रै होइन, सरकारकै औचित्यमाथि प्रश्न उठ्छ’ भन्दै खतिवडाले प्रधानमन्त्रीलाई कन्भिन्स गरेका थिए ।

प्रधानमन्त्री ओलीले जनताको तीब्र आकांक्षा रहेको र चुनाबमा प्रतिवद्धता गरेको वृद्धभत्ताको विषय सम्बोधन गर्न पूरक बजेट ल्याउनुपर्छ कि भनेर आफूले प्रचण्डसँग सामान्य छलफल गरेको कुरा अर्थमन्त्रीलाई सुनाए ।

त्यसपछि अर्थमन्त्रीले बजेट कार्यान्वयनमा गएको २ महिना नबित्दै पूरक बजेट ल्याउने चर्चा हुनु भनेको बजेट, बजेट ल्याउने अर्थमन्त्री र सरकार सबै असफल भएको सन्देश जाने बताए ।

पूरक बजेट नै ल्याउने भए आफू अर्थमन्त्रीका रुपमा बसिरहनुको कुनै औचित्य नभएको र यसले सरकारको औचित्यमाथि पनि ठूलो प्रश्न खडा गर्ने भन्दै अर्थमन्त्रीले ब्रिफिङ गरे ।

‘बजेट कार्यान्वयनमा आएको दुई महिना नबित्दै पूरक बजेट ल्याउने चर्चा भएपछि अर्थमन्त्रीको औचित्य समाप्त हुन्छ, अर्थमन्त्रीको मात्रै होइन, सरकारकै औचित्यमाथि प्रश्न उठ्छ,’ अर्थमन्त्रीको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘बजेटले वृद्धवृद्धाको बीमा गर्ने व्यवस्था मिलाएकै छ, त्यसैले यो पूरक बजेट ल्याउनुभन्दा अर्को बर्षको बजेटमार्फत बृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्तालाई विशेष प्राथमिकताका साथ राखेर अघि बढ्दा उपयुक्त हुन्छ जस्तो लाग्छ ।’

स्रोतका अनुसार पूरक बजेट ल्याउने भए आफ्नो औचित्य नभएको भन्दै अर्थमन्त्री खतिवडाले राजिनामा दिने प्रष्ट संकेत गरेका थिए ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार अर्थमन्त्री खतिवडाले यो स्थायी सरकार भएको र अर्थतन्त्रलाई ट्र्याकमा ल्याउँदै जनताका आकांक्षा सम्बोधन गर्दै अघि बढ्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई सुझाए ।

अर्थमन्त्रीले पूरक बजेट ल्याएको खण्डमा सरकारको औचित्यमाथि नै प्रश्न उठ्ने उल्लेख गर्दै प्रधानमन्त्रीलाई अहिले पूरक बजेटको बारेमा छलफल नगर्न दिएको सुझाबलाई प्रधानमन्त्रीले गंभीर रुपमा लिए ।

त्यसपछि प्रधानमन्त्रीले पूरक बजेटको विषयमा कसैसँग पनि कुरा गरेका छैनन् । प्रधानमन्त्री चुप लागेपछि अहिले पूरक बजेटको चर्चा बन्द भएको छ ।

प्रचण्डले पूरक बजेट ल्याउने छलफल भइरहेको सार्वजानिक अभिव्यक्ति दिएपछि नेकपाभित्रै पनि खैलाबैला मच्चिएको थियो ।

यसैहप्ता नेकपाका अध्यक्ष प्रचण्डले ठूला मिडियाका सम्पादकहरुलाई अनौपचारिक छलफलका लागि बोलाए । उक्त छलफलमा सम्पादकहरुले पूरक बजेटको तयारीका विषयमा पनि चासो राखेका थिए ।

सो क्रममा प्रचण्डले भने– प्रधानमन्त्रीजीले नै मलाई वृद्धभत्ता लगायतका सामाजिक सुरक्षाका विषयमा जनताका आकांक्ष पूरा गर्न पूरक बजेट ल्याउनुपर्ला कि भन्नुभएको थियो, मैले हुन्छ भनेँ र, सार्वजानिक अभिव्यक्ति पनि दिएँ, अहिले प्रधानमन्त्रीजीले नै पूरक बजेट ल्याउनु हुँदैन भन्नु भएको छ ।

प्रचण्डको यस्तो जवाफपछि सम्पादकहरूले किन प्रधानमन्त्री ‘यु टर्न’ हुन भएको भन्ने चासो राखेका थिए । त्यस विषयमा आफूलाई कुनैपनि जानकारी नभएको भन्दै पूरक बजेटका बारेमा अब आफू पनि मौन रहने प्रचण्डले बताए ।


पुष्प दुलाल