नेपाल बैंकका लागि धितोपत्र बोर्डले गरेको निर्णयले रोकियो शिवम् सिमेन्टको आइपिओ



 काठमाडौं । शिवम् सिमेन्ट कम्पनीले स्थानीयलाई सेयर जारी गरेको ५ महिनासम्म पनि सर्वसाधारणलाई सेयर जारी गर्न सकेको छैन ।

विगत ५ महिनादेखि सेयर नखुल्दा कम्पनीको पुँजी निर्माण हुन सकिरहेको छैन ।

स्रोतका अनुसार शिवम् सिमेन्टको अवस्था पनि नेपाल बैंकको एफपीओ जस्तै हुने भएको छ । रियल सेक्टर (वास्तविक क्षेत्र)लाई पनि नेपालको पुँजी बजारमा भित्र्याउने भन्दै सरकारले पनि विशेष प्राथमिकतामा राख्ने भनेको थियो ।

सरकारको प्रोत्साहनसँगै पुँजी बजारमा आएको पहिलो रियल सेक्टरको आईपीओको मूल्य प्रिमियम सहित प्रतिकित्ता ४ सय रुपैयाँ रहेको छ ।

अहिलेको अवस्थामा आइपिओ बिक्री नहुँने पक्का जस्तै भएको हुँदा अण्डर राइटरलाई घाँडो भएको छ ।

किन यो अवधिसम्म कम्पनीको सेयर सर्वसाधारण्मा आउन नसकेको ? भन्ने प्रश्नमा शिवम् सिमेन्टका ठूला लगानीकर्ता शतिष मोरले यो विषयमा आफुलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

एनआईबिएल एस क्यापिटलले धितोपत्र बोर्डलाई पत्र पठाएर कम्पनीले आफ्नो मुख्य कम्पनी नेपाल इन्भेष्टमेन्ट बैंकले मात्र खरिद गर्ने आधारमा अण्डरराइटको सम्झौता गरेको उल्लेख छ ।

‘आउनु पर्ने हो, अहिलेसम्म किन नआएको हो हामीलाई पनि जानकारी छैन, सायद आगामी सातासम्म कहिले आउँछ भन्ने थाहा हुनेछ,’ मोरले क्लिकमाण्डूसँग भने ।

यता धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले पनि कम्पनीको सेयर कहिले आउने सन्दर्भमा कुनै जानकारी नभएको बताए । त्यस विषयमा मर्चेन्ट बैंकर्सलाई नै सोध्नु पर्ने उनको भनाई छ । बोर्डले सबैकाम सकेकाले कहिले ल्याउने भन्ने उनीहरुमा नै भर पर्ने गिरीको भनाई छ ।

पहिलो चरणमा स्थानीय उद्योग प्रभावितलाई प्रति कित्ता १०० रुपैयाँ फेस भ्यालुमा २०० रुपैयाँ पिमियम थपेर ३०० रुपैयाँको दरले ८ लाख ८० हजार कित्ता सेयर खुला गरेकोमा २ लाख २४० कित्तामा मात्रै सेयर बिक्यो अझै ६ लाख ७९ हजार ७६० कित्ता बाँकी नै छ ।

४०० रुपैयाँका दरले ४४ लाख कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्ने भनिएको छ । स्थानीयले नकिनेकोसहित ५्र० लाख ७९ हजार ७६० कित्ता सेयर खुल्न बाँकी नै छ । जसको मूल्य २ अर्ब ३ करोड १९ लाख ४ हजार रुपैयाँ हुन्छ ।

उक्त रकमको सेयरको अन्डराइट एक्लै एनआईबीएल एस क्यापिटलले गरेको थियो । एनआईबिएल एस क्यापिटलले नेपाल इन्भेष्टमेन्ट बैंकले सेयर लिने निर्णयको आधारमा प्रतिकित्ता ४०० को दरले अन्डरराइट गर्ने सम्झौता गरेको थियो ।

यसरी भयो विवाद

तर, नेपाल बैंकको एफपिओमा अन्डरराइटको विवादले गर्दा शिवमको आइपिओमा अन्यौल भएको हो ।

नेपाल बैंकले जारी गरेको एफपीओ बिकेन । त्यो समयमा अण्डरराइटरले मात्रै किन्न नसकेपछि सब अण्डरराइटर खडा गरेर २८० मा ल्याएको सेयर २६८ सम्म बिक्री गरेको थियो । उनीहरुले सव अण्डरराइटर खडा गरेको भन्दै नबिकेको सेयर सम्बन्धीत प्रत्याभुतकर्ताले किनेर बेच्नु पर्ने भन्दै निर्देशन जारी गर्यो ।

एनआइबिएल क्यापिटलले धितोपत्र बोर्डलाई पठाएको पत्र

तर अण्डरराइटरहरुले पैसाको अभाव देखाउँदै उक्त सेयर उनीहरुले लिन नसक्ने भन्दा भन्दै पनि नेप्सेमा सुचिकरण नभएपछि अन्त्यमा अण्डरराइटरहरुले नै प्रत्याभुत गरेका थिए । जुन नियमअनुसार नभएको भन्दै लामो समय सुचिकरण हुन सकेन ।

एनआईबिएल एस क्यापिटलले धितोपत्र बोर्डलाई पत्र पठाएर कम्पनीले आफ्नो मुख्य कम्पनी नेपाल इन्भेष्टमेन्ट बैंकले मात्र खरिद गर्ने आधारमा अण्डरराइटको सम्झौता गरेको उल्लेख छ ।

नेपाल बैंकको एफपिओपछि धितोपत्र बोर्डले अण्डराइट गर्ने कम्पनीले आफ्नो खातामा सेयर ल्याएपछि मात्र बिक्री गर्न सक्ने व्यवस्था गरेको थियो ।

‘बोर्डले नेपाल बैंकमा गरेजस्तो व्यवस्था अनुसार एनआइबिएल एस क्यापिटलले शिवमसँग अण्डरराइट गर्न सक्दैन,’ एनआईबिएल एस क्यापिटलले बोर्डमा पठाएको पत्रमा उल्लेख छ ।

एनआईबिएल एस क्यापिटलले अरु मर्चेन्ट बैंकरलाई अहिले अण्डरराइटर बस्नको लागि प्रस्ताव गरेको छ । उक्त सेयर सकार्नका लागि अन्य मर्चेन्ट बैंकहरुलाई भन्दा उनीहरुले पनि मूल्य बढी भएको भन्दै इन्कार गरिरहेको स्रोतको भनाई छ ।

पहिला प्रतिकित्ता ४०० दरको अण्डरराइट गरेको एनआइबिएल एसले अहिले सो मूल्यमा अण्डरराइट समेत गर्न नसकिने अनौपचारिक रुपमा बताएको छ ।

यद्यपी एनआईबिएल एसले बोर्डमा पठाएको पत्रमा भने बैंकले किन्न पाउने भएमा आफुहरुले अण्डरराइट गर्न सक्ने कुरा उल्लेख छ ।

तर, अहिलेसम्म बैंकलाई किन्न दिने की नदिने भन्ने विषय टुंगो लाग्न सकेको छैन ।

शिवमले पहिलो चरणमा स्थानीय उद्योग प्रभावितलाई प्रति कित्ता १०० रुपैयाँ फेस भ्यालुमा २०० रुपैयाँ पिमियम थपेर ३०० रुपैयाँको दरले ८ लाख ८० हजार कित्ता सेयर खुला गरेको थियो ।

अब सर्वसाधारणलाई ४०० रुपैयाँका दरले ४४ लाख कित्ता सेयर जारी गर्ने भनेको ५ महिना हुँदा पनि जारी हुन सकेको छैन ।


पुष्प दुलाल