सेयर कारोबारमा अनलाइन भुक्तानी शुरु भएको दिन १००% भुक्तानी चेकबाटै



काठमाडौं । लामो समयको रस्साकस्सीपछि ३ दिनअघि नेपाल स्टक एक्सचेञ्जले सेयर किनबेच गर्दा अनलाइनबाटै भुक्तानी गर्न सकिने ब्यवस्था गर्यो ।

यो प्रणाली शुरु भएसँगै लगानीकर्ताहरुले अनलाइनबाटै भुक्तानी गर्छन् भन्ने धेरैको विश्वास थियो । तर, लगानीकर्ताहरुले पूरानै प्रणालीबाट भुक्तानी गरेका छन् ।

‘अनलाइन भुक्तानी प्रणाली शुरु भएको दिन १०० प्रतिशत भुक्तानी चेकबाटै भएको छ,’ नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुरारी पराजुलीले क्लिकमाण्डूसँग भने, ‘लगानीकर्ताहरु नयाँ सिस्टमप्रति आकर्षित भएको देखिएन ।’

अनलाइन भुक्तानी ऐछिक भएको यसअघि अभ्यान नभएकाले पनि लगानीकर्ताहरुलाई आकर्षित नगरेको हुनसक्ने उनको विश्लेषण थियो ।

‘पहिलो दिन २ जना लगानीकर्ताले अनलाइनमार्फत् ब्रोकरलाई पेश्की भुक्तानी गरेका छन्,’ पराजुलीले भने ।

भिजन सेक्युरिटीज र कालिका सेक्युरिटजमार्फत् सेयर कारोबार गर्दै आएका २ जना लगानीकर्ताले पेश्की भुक्तानी गरेका हुन् ।

लगानीकर्ताका संघ संगठनहरुले वर्षौंदेखि अनलाइन भुक्तानीको माग जोडदाकार साथ उठाउँदै आएका थिए । तर, व्यवस्था भएपछि भने कारोबार गर्नतर्फ लगानीकर्ताहरु उत्सुक देखिएनन् ।

‘शुरुको दिन भएर यस्तो देखिएको पनि हुनसक्छ, अब विस्तारै अनलाइन भुक्तानीमा आकर्षण बढ्ने हाम्रो विश्वास छ,’ पराजुलीले भने ।

नेपाली सेयर बजारमा १५ लाख लगानीकर्ता भएको दाबी छ ।


पुष्प दुलाल